मकै पोल्नेलाई दैनिक ४५ रुपैयाँ कर, घाटा लागेको व्यवसाय बन्द गर्न १० हजार

Makai polnelai kar

काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले हाटबजारमा मकै पोलेर बेच्नेसँग दिनको ४५ रुपैयाँ कर उठाउन थालेको छ । यसैगरी, हाँस, कुखुरा र परेवामा प्रतिगोटा १६ रुपैयाँसम्म कर तोकेको छ ।

खुद्रा तरकारी व्यापारीलाई वार्षिक १२ सय र ठेलामा फलफूल बिक्री गर्नेलाई १५ सय कर तोकेको छ । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका किसानले भैँसी बेच्दा एक हजार कर तिर्नुपर्ने भएको छ । खसी बेच्नेले डेढ सय कर बुझाउनुपर्छ । नगरपालिकाले पशु करलगायत विभिन्न शीर्षकमा ४५ प्रकारका कर लगाएको छ ।

नागरिक जिवीत प्रमाणित गर्न पनि कर
बेपत्ता भएको कुनै नागरिक जिउँदै छु भनेर फर्किए अब नगरपालिकामा कर बुझाउनुपर्ने भएको छ ।

रुकुम (पूर्व) र (पश्चिम) का स्थानीय तहहरूले कुनै व्यक्ति जीवित रहेको प्रमाणित गर्न कर उठाउन थालेका छन् । रुकुम (पश्चिम) को आठबिसकोट नगरपालिकाले यसबापत पाँच सय रुपैयाँ कर तोकेको छ ।

रुकुम (पूर्व) को सिस्ने गाउँपालिकाले उक्त शीर्षकमा दुई सय रुपैयाँ कर तोकेको छ । दुवै जिल्लाका सबै स्थानीय तहले यो शीर्षकमा धेरथोर कर तोकेका छन् । ‘हो, कुनै नागरिक बेपत्ता भएको छ र जीवित छु भन्दै फर्किएमा प्रमाणित गर्न गाउँपालिकालाई शुल्क बुझाउनुपर्छ,’ सिस्ने गाउँपालिकाकी अध्यक्ष कुमारी बरालले भनिन् ।

मेहदी लगाउनेलाई दैनिक १० रुपैयाँ कर
मोरङको बुढीगंगा गाउँपालिकामा हजामले दैनिक २० रुपैयाँ कर तिर्नुपर्ने व्यवस्था गरिएको छ । चनाचटपटे बेच्नेले ३० रुपैयाँ, मेहदी लगाउनेले १० रुपैयाँ तथा चटक देखाउनेलाई २० रुपैयाँ कर तोकिएको छ । कटहरी गाउँपालिकामा चिया बेच्नेले वार्षिक ११ सय कर तिर्नुपर्ने भएको छ ।

विद्यार्थीलाई मासिक २५ रुपैयाँ फोहोर कर
बुटवल उपमहानगरपालिकाले घरबेटीसँग मात्रै होइन, भाडामा बस्ने विद्यार्थीसँग पनि फोहोर कर असुल्न थालेको छ । विगतमा एक घरबाट मासिक सय रुपैयाँ उठाउँदै आएकोमा यसपटकदेखि प्रतिभान्सा पचास रुपैयाँ लिन थालेको छ । विद्यार्थीका लागि भने २५ रुपैयाँ तोकिएको छ ।

घाटा लागेको व्यवसाय बन्द गर्न १० हजार
मोरङको विराटनगर महानगरपालिकाले व्यवसाय बन्द भएको सिफारिसका लागि १० हजार कर तोकेको छ । व्यवसाय दर्ता गर्न भने ५ सय शुल्क तोकिएको छ । यस्तै, बिजुली तथा टेलिफोन सिफारिसको पनि ५ सय रुपैयाँ दस्तुर तोकिएको छ ।

प्रतिकृया दिनुहोस