सर्वोच्चले भन्यो : प्रकाण्ड पक्राउबारे ४८ घण्टाभित्र जवाफ दिनु

Prakanda 1

काठमाडौं । सर्वोच्च अदालतले थुनामा रहेका नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विक‘प्रकाण्ड’ लाई पक्राउ गर्नुपर्ने कारण ४८ घण्टाभित्र पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ। मंगलबार कामू प्रधान न्यायाधीश ओमप्रकाश मिश्रको एकल इजलासले सो आदेशमा दिएको हो ।

चन्दा लिएको आरोपमा थुनामा रहेका नेता ‘प्रकाण्ड’लाई गैरकानुनी ढंगले थुनामा राखेको भन्दै रिहा गर्न सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता भएको थियो । बुधबार प्रहरीले व्यापारीहरुसँग अवैध रुपमा चन्दा उठाएको आरोपमा प्रकाण्डसहित हरिचन्द्र आचार्य, मनबहादुर श्रेष्ठ लगायतका नेताहरुलाई पक्राउ गरेको थियो। आइतबार प्रकाण्ड लगायतका नेताहरुको हकमा नरेन्द्रबहादुर सिंह विश्वकर्माले सर्वोच्चमा निवेदन दर्ता गराएका हुन् ।

राजनीतिक रुपमा पूर्वाग्रही भई गृहमन्त्री रामबहादुर थापाको आदेशमा आफूहरुलाई बिना अपराध पक्राउ गरेकाले साधारण तारेखमा रिहा गर्ने अन्तरिम आदेश जारी गर्न रिटमा माग गरिएको छ ।

पक्राउ परेका प्रकाण्डसहितका नेतालाई थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले पहिले ५ दिन र पुनः तीन दिनको म्याद प्रहरीलाई उपलब्ध गराएको थियो ।

व्यापारीसँग ७ करोड रुपैयाँ चन्दा असुलेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । विभिन्न व्यवसायीलाई धम्काएर चन्दा असुलेकाले उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरको जनाएको थियो ।

उनीलाई प्रहरीले ललितपुरको चाल्नाखेलबाट पक्राउ गरेको थियो । सो पार्टीका पोलिब्यूरो सदस्यहरु मोहन कार्की, कृष्ण धमला, ओमप्रकाश पुन र पदम राईसहितका नेताहरुलाई पनि पक्राउ गरी प्रहरीले मुद्दा अघि बढाएको छ । सो पार्टीका नेता विप्लवलाई पनि प्रहरीले वारेन्ट जारी गरेको छ । 

प्रतिकृया दिनुहोस