प्रधानमन्त्रीले सबै जिल्ला घुमेको बताएपछि डा. केसीले भने ‘सबै जिल्ला तीनचोटी घुमेको छु’

Kp oli dr kc

काठमाडौ‌ । बरिष्ठ चिकित्सक डा. गोविन्द केसीले शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरे । पन्ध्रौं पटकको अनशनका सहमतिहरु कार्यान्वयन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गर्न गएका डा. केसी र प्रधानमन्त्री ओलीबीच सवाल जवाफ भएको थियो ।

प्रधानमन्त्रीः डाक्टरसाब, सञ्चै हुनुहुन्छ ?

डा.गोविन्द केसीः ठीकै छ ।

सरकारी निवास बालुवाटारमा २० मिनेटदेखि प्रधानमन्त्रीलाई कुरिरहेका डा. केसी र प्रधानमन्त्री केपी ओलीबीचको भेटवार्ता सौहाद्र्रपूर्ण ढंगले सुरु भयो ।

चिकित्सा शिक्षा सुधारका लागि आफूसँग भएको सहमतिका लागि डा.केसीले प्रधानमन्त्रीलाई धन्यवाद दिए । तर एक घण्टा लामो वार्ता सकेर निस्कँदा उनी खिन्न देखिन्थे ।

खुशी भएको बेला डा।केसीले दायाँ हातको बुढी औंला ठाडो पार्दै ‘पोज ’ दिने गर्छन्। प्रधानमन्त्रीसँग भेटेपछि बाहिर कुरिरहेका सञ्चारकर्मीसामु देखा परेका केसीको चेहरामा भने चमक थिएन ।

‘यहाँ आउँदा महत्वाकांक्षी भएको थिइनँ, जे अपेक्षा गरेको थिएँ त्यसमा खासै फरक परेन’, उनले भने, ‘ठोस उपलब्धि पाइनँ ।’ तर, प्रधानमन्त्री ओलीले सबै सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको उनले सुनाए ।

तोडमोड नगरी चिकित्सा शिक्षा विधेयक, २०७५ पारित गर्नुपर्ने लगायत नौ बुँदे सहमति तत्काल कार्यान्वयन गर्ने विषयमा छलफल भएको थियो ।

सार्वजनिक बस चढेर प्रधानमन्त्री कार्यालय आएका केसी र प्रधानमन्त्रीबीच आपसी स्वास्थ्यस्थिति र हालखबर सोधपुछपछि प्रधानमन्त्री ओली लामो मन्तव्य दिंदै विषयान्तर भए। डा. केसीले ‘स्पेसिफिक’ हुन संकेत गर्दै भने, ‘मलाई छातीको समस्या छ, विषयमै केन्द्रित होऔं ।’

प्रधानमन्त्री ओलीले वार्ताका क्रममा तीन वटा रणनीतिअनुरूप व्यवहार गरे । वार्तामा सहभागी एक सदस्यका अनुसार प्रधानमन्त्री ओलीले आफू सामान्य पृष्ठभूमिबाट आएको, चौध वर्ष जेल बसेको, हरेक जिल्ला घुमेको व्याख्या गरे ।

त्यसलगत्तै डा। केसीले पनि आफू हरेक जिल्लामा तीन–तीन पटक गएको स्मरण गर्दै मुलुकका सबै जिल्लामा भएको स्वास्थ्य समस्या चर्चा गरे ।

प्रधानमन्त्री ओली भेटमा वस्तुनिष्ठ नभएको डा. केसीले सञ्चारकर्मीसामु स्वीकार गरे । उनले भने, ‘उहाँ (प्रधानमन्त्री) ले अलि ‘भेग’ (अस्पष्ट) कुरा गर्नुभयो । यो गर्छौं, ऊ गर्छौं भन्नुभयो ।’

बीस मिनेटको प्रतीक्षापछि डा.केसीसहितको टोली बसेको बैठक कोठामा प्रधानमन्त्री पुगेका थिए । आफ्नो निजी चिकित्सक एवं वरिष्ठ मिर्गौला रोग विशेषज्ञ प्राडा दिव्या सिंह शाहलाई दायाँ हाततिरको कुर्सीमा बसाए।

प्रधानमन्त्रीले एकोहोरो लामो मन्तव्य दिएपछि डा. केसीले बोल्न थाले । ‘पन्ध्रचोटि अनशन बसें । अहिले भएको सहमति कार्यान्वयन भएन भने सोह्रचोटि पनि अनशन बस्न पछि पर्दिनँ’, प्रधानमन्त्रीसमक्ष राखेको भनाइ उद्धृत गर्दै डा. केसीले भने, ‘तर, मलाई विश्वास छ त्यस्तो स्थिति नआउला ।’

प्रधानमन्त्रीले भने– कमान्ड सम्हाल्नुस्
प्रधानमन्त्री ओलीले डा. केसीलाई चिकित्सा शिक्षा सुधारसम्बन्धी कामको सम्पूर्ण जिम्मेवारी लिन आग्रह गरेका छन् । केसीसँगको सहमति सरकारले नबिर्सेको भन्दै कार्यान्वयनको जिम्मा लिन केसीलाई नै अनुरोध गरेका हुन् ।

‘माथेमा आयोगको प्रतिवेदन, गौरीबहादुर कार्कीको चिकित्सासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन र तपाईंसँग भएको सम्झौतालगायत सबै कुराको मनिटरिङ गर्ने कमान्ड नै तपाईंले लिनुस्’, प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै उनका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले भने ।

जवाफमा डा. केसीले आफूले ‘कमान्ड’ नलिने भनाइ राखेका थिए । ‘कमान्ड मैले लिन्नँ, बाहिरबाट हेर्छु । अरु साथीहरू छँदैछन् नि,’ केसीले भने ।

डा. केसीसँगको भेटमा प्रधानमन्त्रीले आफूलाई किसान पृष्ठभूमिसँग पनि जोडेका थिए । उनले भने, ‘म गरिबको छोरो मात्रै होइन, हलीको छोरो मात्रै पनि होइन, आफै हली हुँ ।’ वार्तामा डा।केसीले आफू गरिबको छोरा भएको बताएपछि जवाफमा प्रधानमन्त्रीले आफू ‘गरिबको छोरा मात्रै नभई हली नै भएको’ बताएका थिए ।

प्रतिकृया दिनुहोस