दुई अखिलको एकतापछिको समिति ४९९ सदस्यीय

2 akhilako yakata

काठमाडौं । नेकपा निकट दुई विद्यार्थी संगठन अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी)को एकताको निम्ति गठित तीनवटै उपसमितिले बुधबार कार्यदललाई आ–आफ्नो प्रतिवेदन वुझाएका छन् ।

अन्तरिम विधान मस्यौदा उपसमितिले वुझाएको विधान मस्यौदामा ४९९ सदस्यीय केन्द्रीय समितिको संख्या प्रस्ताव गरेको छ । अहिले ४९९ वनाउने भएपनि महाधिवेशनवाट भने १९९ सदस्यीय कमिटी वनाउने प्रस्ताव गरिएको छ ।

विधान मस्यौदामा केन्द्रीय कार्यालय, स्थायी कमिटी, केन्द्रीय सचिवालय र केन्द्रीय समिति सहितको तहगत संरचना प्रस्ताव गरिएको छ । संगठनको नामको विषयमा भने उपसमितिमा एकमत भएको छैन् । अनेरास्ववियु, अनेरास्ववियू(क्रान्तिकारी), अखिल नेपाल विद्यार्थी युनियन, एकीकृत अनेरास्ववियू जस्ता नामहरु छलफलमा आएका छन् ।

यसैगरी कार्यदललाई वुझाइएको राजनीतिक शैक्षिक प्रतिवेदनमा जनवादी शिक्षाको क्षेत्रमा प्राप्त उपलब्धिलाई संस्थागत र कार्यान्वयन गर्दै समाजवादी शिक्षा प्राप्तिको दिशामा अघि वढ्ने साझा कार्यदिशा तय गरिएको छ । त्यसैगरी संगठन समायोजन मापदण्ड उपसमितिले पनि आफ्नो प्रतिवेदन वुझाएको छ ।

तीनवटै उपसमितिले बुधबार पर्यटन मन्त्री समेत रहेका नेकपा नेता रविन्द्र अधिकारी, कार्यदलका अर्का सदस्य रमेश मल्ल, अनेरास्ववियू अध्यक्ष नविना लामा र क्रान्तिकारी अध्यक्ष रञ्जित तामाङ सहितको चार सदस्यीय कार्यदललाई प्रतिवेदन वुझाएका हुन् ।

प्रतिवेदन वुझ्दै नेता अधिकारीले उपसमितिले वुझाएको प्रतिवेदनका आधारमा एकता प्रक्रिया तिब्र गतिमा अघि वढाउने वताए । कार्यदलका अर्का सदस्य रमेश मल्लले भदौको पहिलो साता सम्ममा एकता पूरा गरिने वताए ।

 

 

प्रतिकृया दिनुहोस