मलेठ घटनाको प्रदेश सरकारद्वारा छानविन सुरु

Maletha

राजविराज । सप्तरी मलेठमा पाँच जनाको ज्यान जाने गरी भएको घटनाको प्रदेश सरकारद्वरा छानविन सुरु भएको छ । सत्यतथ्य बुझ्न प्रदेश नं. २ सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिले मंगलबार आवश्यक जानकारी लिएको हो ।

मलेठ घटनाबारे झण्डै १६ महिनापछि राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदन एक पक्षीय र असत्य भएको भन्दै सप्तरीसहित प्रदेश नं २ का जिल्लाहरुमा विरोध प्रदर्शन हुन थालेपछि प्रदेश सरकारले छुट्टै समिति गठन गरेको थियो ।

प्रदेश नं २ सरकारले आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवको संयोजकत्वमा सामाजिक विकासमन्त्री नवलकिशोर साह र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साह सदस्य रहने गरी छानबिन समिति गठन गरेको थियो ।

सो समितिको सदस्यसचिवमा मुख्य न्यायाधिवक्ता कार्यालयका उपन्यायाधिवक्ता कृष्णप्रसाद बराल छन् । गठित छानबिन समितिको टोलीले मंगलबार सप्तरीको राजविराजस्थित मलेठ पुगेर घटनाबारे जानकारी लिएको छ ।

सो अवसरमा संयोजक यादवले आयोगले एकतर्फी प्रतिवेदन तयार गरेकाले सत्यतथ्य छानबिनका लागि प्रदेश सरकारले छुट्टै समिति गठन गरेको र सोही अनुसार सत्यतथ्य जानकारी गराउनका लागि सहयोग गर्न सबैमा आग्रह गरे ।

मलेठ घटनाको स्थलगत अध्ययन तथा छानबिनका क्रममा पीडित, प्रत्यक्षदर्शी, सञ्चारकर्मी, अधिकारकर्मी तथा सुुरक्षा निकायका पदाधिकारीसँग पनि बयान र आवश्यक जानकारी लिएको टोलीका सदस्य एंव भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्र साहले जानकारी दिए ।

समितिका अर्कासदस्य एंव सामाजिक विकासमन्त्री नवलकिशोर साहले राष्ट्रिय मानव अधिकार आयोगले पीडित र प्रत्यक्षदर्शीले दिएको बयान विपरीत कुनै खास पार्टी र व्यक्तिलाई खुशी पार्न तयार गरेको प्रतिवेदनलाई जनताले स्वीकार गर्न नसकेकाले प्रदेश सरकारले आफँै छानबिन समिति गठन गरेको र सो समितिले चाँडै सत्यतथ्य जनसमक्ष सार्वजनिक गर्ने बताए ।

टोलीले पीडित परिवार, स्थानीयवासी, अधिकारकर्मी लगायतसँग भेट गरेर घटनाका बारेमा जानकारी लिएको छ । समितिले घटनाको स्थलगत छानबिन गरी १५ दिनभित्र प्रदेश नं. २ मन्त्रिपरिषद्को कार्यालयलाई प्रतिवेदन बुझाउने तयारी गरेको संयोजक यादवले जानकारी दिए ।

मलेठ घटना एक पक्षले जसरी पनि सभा गर्ने र अर्को पक्षले गर्न नदिने सम्पूर्ण शक्ति परिचालन गर्ने हटका कारण झडपको वातावरण भएपछि सुरक्षाका लागि खटिएका प्रहरीले अन्धाधुन्द गोली चलाउँदा मलेठमा पाँच जनाको ज्यान गएको थियो ।

२०७३ साल फागुन २३ गते तत्कालीन नेकपा एमालेको मेची महाकाली अभियानअन्तर्गत सप्तरीको मलेठमा मधेशी मोर्चाका कार्यकर्ता र प्रहरीबीच भएको झडपमा प्रहरीको गोली लागेर मोर्चाका पाँच जना कार्यकर्ताको मृत्य भएको थियो ।

प्रतिकृया दिनुहोस