गलत ब्यक्ति संवैधानिक अङ्गमा चुनिनु दलहरुकै कमजोरी : मसाल

Mohan bikram singh

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) दलहरुकै कमजोरीका कारण गलत मानिसहरु न्यायाधीश लगायतका संवैधानिक पदमा पुगेको बताएको छ । अहिलेसम्म संसदीय सुनुवाई कुनै ब्यक्तिको नाम अनुमोदन गर्ने समिति मात्रै बनाएर दलहरुले गल्ति गरेको मसालले ठहर गरेको हो ।

महामन्त्री मोहनविक्रम सिंहद्वारा जारी वक्तव्यमा प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीलाई संसदीय सुनुवाई समितिबाट अस्विकृत गर्ने निर्णयलाई स्वागत गरिएको छ । नेकपा (मसाल)को हालै बसेको बैठकले संसदीय सुनवाई समितिको निर्णयको स्वागत गर्दै समितिको निर्णयले ऐतिहासिक महत्व राख्ने महामन्त्री सिंहद्वारा जारी वक्तव्यमा उल्लेख छ ।

अहिलेसम्म सुनवाई समितिको काम खालि कुनै व्यक्तिको नामको अनुमोदन गर्ने मात्र हुने गरेकोमा अहिले सुनवाई समितिले गरेको निर्णयले न्याय परिषद्ले पठाएको निर्णयलाई आवश्यकतानुसार परिवर्तन गर्न सक्ने उनीहरूको क्षमतालाई पनि प्रकट गरेको बताइएको छ ।

जोशीबारे गरिएको निर्णयप्रति मसालले २०७१ सालमा तत्कालिन सुनुवाई समितिले गरेको निर्णयको स्मरण गरेको छ । त्यतिबेला सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गोपाल पराजुली र दीपकराज जोशीको सुनुवाई गर्ने क्रममा सुनुवाई समितिमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी एक्लैले विरोध गरेका थिए भने कांग्रेस, एमाले र माओवादीका सांसदहरुले समर्थन गरेका थिए ।

यस अघि सुनुवाई समितिबाट कतिपय गलत मानिसहरु पदमा पुग्न सफल हुनुमा राजनीतिक दलहरुको समेत कमजोरी रहेको मसालले ठहर गरेको छ ।

गोपाल पराजुली र दीपकराज जोशीको शैक्षिक योग्यताको प्रमाणपत्र संदिग्ध भेटिएको सन्दर्भमा अन्य न्यायाधीश वा उच्च पदस्थ सरकारी अधिकारीहरुको प्रमाणपत्र पनि त्यहि प्रकारका हुन सक्ने आशंका गर्दै मसालले सबै उच्च पदस्थ सरकारी अधिकारीहरुको प्रमाणपत्र छानविन गर्नुपर्ने आवश्यकतामा जोड दिएको छ ।

प्रतिकृया दिनुहोस