कारागार सुधार गृह हुनुपर्छ, हिनताबोध र प्रतिशोध गृह होइनः सभामुख महरा

Sabhamukha mahara

काठमाडौं । सभामुख कृष्णबहादुर महराले कारागारहरु सुधार गृह हुनुपर्ने धारणा राखेका छन् । उनले कैदीबन्दीहरुलाई चार पर्खाल भित्र थुनेर राख्दा हिनताबोध र प्रतिशोध उत्पन्न हुनसक्ने बताए ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा ‘अबका कारागारहरु कैदीबन्दीहरुलाई चार पर्खालभित्र थुनेर प्रतिशोध वा हिनताबोधको बाटोमा जान बाध्य पार्ने अपराधी वा मानसिक रोगी उत्पादन गर्ने कारखाना होइन’ उनले भने, ‘उनीहरुलाई आफूले गरेका अपराध-गल्तीप्रति पश्चातापको महसुस गराई सकारात्मक चिन्तनको बाटोतर्फ लैजान प्रेरित गर्ने खालका सुधार गृहको रुपमा विकास गर्न जरुरी छ ।

’ सभामुख महराले अहिले नेपालका कारागारहरुको अवस्था त्यति सन्तोषजनक नरहेको कुरा स्विकार गरे। कारागारको भौतिक पूर्वाधार जीर्ण, साँघुरा र मानवीय हिसाबले दिनुपर्ने अत्यावश्यक सुविधा उपलब्ध नभएको मिडिया र विभिन्न अध्ययनहरुले देखाएको भन्दै उनले नेपालका कारागारहरुको क्षमताभन्दा कैदीबन्दीहरुको संख्या झण्डै दोब्बर रहेका र सोही कारण कैदीबन्दीहरुले संविधानतः पाउनुपर्ने सुविधाबाट पनि वञ्चित हुनुपरेको बताए ।

ऐन नियमअनुसार राज्यले नै बाल तथा वृद्धहरुका लागि कारागारमा बालसुधार गृह, ज्येष्ठ नागरिक हेरचाह केन्द्र बनाउनुपर्ने दायित्व रहेको उनले स्मरण गरे। त्यस्तै, कारागारहरुमा अपराधको प्रकृतिअनुसार कैदीबन्दीहरुलाई छुट्टाछुट्टै राख्ने व्यवस्था गर्नुका साथै लागूऔषध सेवनकर्ता, मानसिक रोगीहरुलाई मानसिक अस्पतालसहितका कारागार, खुल्ला कारागारजस्ता अवधारणाहरुको पनि विकास गर्नुपर्नेमा महराले जोड दिए ।

सभामुख महराले आफुहरुले कैदीबन्दीहरु मुक्त चेतनशील, उन्नत र सुन्दर समाज कल्पना गरेको बताए। राज्यले आफ्ना नागरिकहरुलाई सबै किसिमका सेवा सुविधाहरु सहजै उपलब्ध गराउने, सबै किसिमका असमानता, विभेद र अन्यायबाट मुक्त सबै सम्मान र स्वाभिमानपूर्वक बाँच्न पाउने समतामूलक समाजको कल्पना गरेको उनले बताए।

प्रतिकृया दिनुहोस