यसरी बन्यो भक्तपुर नमुना नगर, हेर्न आउँछन् देशभरिका जनप्रतिनिधि

Bhaktapur

काठमाडौं । शिक्षा, स्वास्थ्य, फोहोर व्यवस्थापन, पुनर्निर्माण, सांस्कृतिक सम्पदाको संरक्षण, व्यवस्थित सहर निर्माणलगायतका क्षेत्रमा गरेका नमुना कामहरू हेर्न देशभरका जनप्रतिनिधि अहिले भक्तपुर नगरपालिकाको अवलोकनमा आउन थालेका छन्।

सूचना चुहिने भन्दै गैरसरकारी संस्था निषेध
कामभन्दा प्रचार धेरै गर्ने, स्थानीय सूचना विदेशसम्म पु-याउने भन्दै नगरपालिकाले एनजिओको उपस्थिति शून्यमा झार्ने नीति लिएको छ।

मल्लकालीन एक सम्पदाको नक्सा बेलायतको लाइब्रेरीमा भेटिएपछि सूचना चुहिने निष्कर्ष नगरपालिकाले निकालेको हो।

सिसडोल डम्पिङसाइटमा थोरै मात्र समस्या आउँदा काठमाडौं र ललितपुर महानगर मात्रै होइन, बनेपा नगरपालिकासमेत फोहोरले दुर्गन्धित बन्छ । काठमाडौं उपत्यकाका अन्य स्थानीय तहको हालत पनि उस्तै छ, भक्तपुर नगरपालिकाबाहेक। स्वास्थ्य, शिक्षा, उद्योग, फोहोर व्यवस्थापन, सांस्कृतिक सम्पदाको संरक्षणलगायत समग्र विकासमा भक्तपुर नगरपालिका नमुना बनेको छ।

आखिर भक्तपुरले अन्य स्थानीय तहले गर्न नसकेको राम्रो काम के गरेको छ ? अरूले सिक्नैपर्ने के गरेको छ भक्तपुरले ? 

सरसफाइः नगरको फोहोर नगरभित्रै मोहरमा बदल्दै
भक्तपुर नगरपालिकामा फोहोरले कुनै पीडा दिएको छैन । बरु, फोहोरले मोहर दिलाएको छ । दैनिक ३० टन उत्पादन हुने फोहोर नगरभित्रै व्यवस्थापन गरिएको छ । कुहिने र नकुहिने फोहोरलाई घरमै छुट्टाछुट्टै संकलन गर्ने व्यवस्था मिलाइएको छ।

हरेक परिवारलाई दुईवटा बाल्टिन नगरपालिकाले निःशुल्क उपलब्ध गराएको छ । फोहोर फालिदिएबापत नगरपालिकाले प्रत्येक घरबाट केबल २५ रुपैयाँ कर लिन्छ।

नागरिकको घरबाट उठाएको कुहिने फोहोर कम्पोस्ट मल बनाएर किसानलाई सस्तोमा बेच्छ । नगर क्षेत्रकै किसानलाई मल किन्न प्राथमिकता दिन्छ । नकुहिने फोहोर तत्काल बेचिदिन्छ ।

फोहोर बेचेरै नगरपालिकाले वार्षिक ५/६ लाख रुपैयाँ आम्दानी गर्दै आएको मेयर सुनील प्रजापतिले बताए । फोहोर उत्पादन घटाउन नगरपालिकाले नगरवासीलाई अनुदानमा कम्पोस्ट बिन पनि उपलब्ध गराएको छ ।

दुई हजार पाँच सय पर्ने कम्पोस्ट बिन नगरवासीले एक हजारमा खरिद गर्न सक्छन् । त्यस्तै कौसी खेतीलाई पनि प्रवद्र्धन गर्दै आएको छ । फोहोरबाटै बायोग्यासलगायत वैकल्पिक ऊर्जा निर्माण गर्ने सोच पनि भक्तपुर नगरपालिकाले बनाएको छ ।

नगरभित्र १ सय ४९ जना सफाइ कर्मचारी छन् । कसैले फोहोर फाले सफाइ कर्मचारीले तत्काल टिपेर लैजान्छन् । त्यसैले त भक्तपुर नगरक्षेत्र सफाचट छ ।

प्रत्येक महिनाको १ र १५ गते सबै जनप्रतिनिधि, कर्मचारी, स्थानीय क्लब, डफा-भजन, संघसंस्थाको सहभागितामा कहिले मठ–मन्दिर त कहिले खोलानाला र घाट सफाइ गर्दै आएको छ।

नगरभित्रका ९२ विद्यालयलाई उनीहरूले रोजेको सम्पदा सफा राख्ने जिम्मा दिइएको छ । नगरवासीसँग फोहोर फालेबापत महिनाको २५ रुपैयाँ मात्र कर लिँदै आएको छ।

यसैगरी नगर क्षेत्रका हनुमन्ते र खसाङखुसुङ खोला सफाइका लागि ढलको पानी सीधै खोलामा मिसिनबाट रोक्न केन्द्रीय सरकारको सहयोगमा खोलाको दुवै किनारमा फोहोर बग्ने ढल राख्ने काम भइरहेको छ ।

शिक्षाः नगरकै सात कलेज, इन्जिनियरिङ पढ्नेलाई ५० प्रतिशत छुट
भक्तपुर नगरपालिकाले सरकारी विद्यालयलाई सामुदायिक बनाउने सरकारी नीतिको विरोध ग-यो।

विद्यालय व्यवस्थापन आफैँले जिम्मा लियो । सरकारी विद्यालय समुदायलाई जिम्मा लगाएर दायित्वबाट पन्छिने सरकारी प्रवृत्ति रोक्यो । जसको नतिजा गतिलो निस्कियो।

नगरभित्र रहेका ९२ मध्ये ३५ स्कुल सामुदायिक छन् । केही सरकारी विद्यालयमा शिशुकक्षादेखि स्नातकोत्तरसम्मको पढाइ हुन्छ । कुनै सरकारी विद्यालयमा चार हजारभन्दा बढी विद्यार्थी छन्।

बागेश्वरी मावि, वासु मावि, आदर्श मावि भक्तपुरका चर्चित सरकारी विद्यालय हुन् । यी विद्यालयले एसइई परीक्षामा शतप्रतिशत नतिजा निकाल्दै आएका छन् ।

एसइई परीक्षाको नतिजामा सरकारी विद्यालयतर्फ यिनै तीन विद्यालय नेपालकै पहिलो, दोस्रो र तेस्रो हुँदै आएका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नगरपालिकाका मेयरदेखि अन्य पदाधिकारी छन्।

सामुदायिक विद्यालयको शैक्षिकस्तर उठाउन यस वर्षदेखि मन्टेस्वरी सिकाइ प्रविधिको तालिम सञ्चालन गर्दै आएको छ।

नगरपालिकाले सातवटा कलेज आफैँ सञ्चालन गर्दै आएको छ । दुईवटा इन्जिनियरिङ कलेज छन् । यी कलेजबाट हरेक वर्ष ४३२ इन्जिनियर जन्मिन्छन् । यी दुवै कलेज इन्जिनियरिङमा देशकै उत्कृष्ट मानिन्छन् । देशका ७६ जिल्लाका विद्यार्थी यहाँ पढ्ने गरेको मेयर प्रजापतिले बताए।

भक्तपुर नगरपालिकाले सञ्चालन गरेको इन्जिनियरिङ कलेज विद्यार्थीको पहिलो रोजाइमा पर्छ । किनभने यहाँ पढ्ने हरेक विद्यार्थीले सुरुमै ५० प्रतिशत छात्रवृत्ति पाउँछन् । इन्जिनियरिङका विद्यार्थीलाई स्थानीय सम्पदाको बनोटबारे पनि पढाइन्छ।

नगरपालिकाले नर्सिङ कलेज पनि सञ्चालन गर्दै आएको छ । हरेक वर्ष ४० जना नर्स उत्पादन हुन्छन् । यीबाहेक, ओभरसियर, व्यवस्थापन, शिक्षा, मानविकी र विज्ञान विषयमा स्नातकोत्तरसम्मको पढाइ हुन्छ।

भक्तपुर नगरपालिकाले शिक्षक, अभिभावक र विज्ञसँग सल्लाह गरी कक्षा १ देखि ६ सम्मका लागि स्थानीय पाठ्यक्रम लागू गरेको छ । नयाँ पाठ्यक्रममा भक्तपुरको इतिहास, भूगोल, कला-संस्कृति, सम्पदा, खेलकुदलगायत समेटिएको छ । ख्वपः विश्वविद्यालय बनाउने प्रयास भइरहेको छ।

तर, नगरपालिकाले सम्पूर्ण तयारी सकेको विधेयक संसद्मै वर्षौँदेखि अल्झिएको मेयर प्रजापतिले बताए । ‘हाम्रोभन्दा पछि प्रयास गरेका राजश्री जनक विश्वविद्यालय, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, सुदूरपश्चिमाञ्चल विश्वविद्यालय स्थापना भए,’ उनले भने, ‘हाम्रो भने स्वीकार गरिएन।’

स्वास्थ्यः घरघरमा निःशुल्क नर्सिङ सेवा, ५० रुपैयाँमा विशेषज्ञ सेवा
भक्तपुर नगरपालिकाका नागरिकले घरमै निःशुल्क नर्सिङ सेवा पाउँछन् । घर–घरमा नर्सिङ सेवा प्रदान गर्ने भक्तपुर एक मात्र नगरपालिका हो । नगरका १० वटै वडाका लागि एक–एक जना नर्स नियुक्त गरेको र उनीहरू हरेक घरमा दिनहुँ पुगेर नर्सिङसेवा प्रदान गर्ने गरेको प्रजापति बताउँछन्।

नर्ससँगै स्वास्थ्य स्वयंसेविका पनि सेवामा खटिन्छन् । घरघरमा पुगेर रक्तचाप र सुगर परीक्षण, गर्भवती र सुत्केरी जाँचलगायत गर्छन्।

नगरपालिकाले नै एउटै जनस्वास्थ्य क्लिनिकको तीनवटा शाखासमेत सञ्चालन गर्दै आएको छ । नौजना विशेषज्ञ डाक्टर र २३ जना एमबिबिएस डाक्टर नियुक्त गरेको छ । बालरोग, स्त्रीरोग, नाक, कान, घाँटीरोग, छालारोग, नसा तथा हाडजोर्नी विशेषज्ञबाट नगरवासीले स्वास्थ्य सेवा लिँदै आएका छन्।

उनीहरूले केबल ५० रुपैयाँको टिकट काटेर विशेषज्ञ सेवा लिन सक्छन् । दोस्रोपटक ३० रुपैयाँमै उक्त सेवा लिन सकिने नगरपालिकाले जनाएको छ।

आगामी वर्ष २५ शय्याको ख्वपः अस्पताल सञ्चालन गर्ने लक्ष्य भक्तपुर नगरपालिकाको छ । त्यसका लागि भौतिक पूर्वाधार निर्माण तीव्र रुपमा भइरहेको छ । नगरपालिकामा विशेषज्ञ डाक्टर कम भए भनेर यस वर्षबाट नगरपालिकाले आफ्नै खर्र्चमा दुईजना डाक्टरलाई एमडी, एमसिएच गर्न पूर्ण छात्रवृत्ति दिने निर्णय गरेको छ।

बालबालिकाः मासिक पाँच सय रुपैयाँमा शिशु स्याहार
नगरपालिकाले ६ वटा वडामा शिशु स्याहार केन्द्र सञ्चालन गरेको छ । नगरवासीले मासिक पाँच सय रुपैयाँ तिरेपछि दिनभर बालबच्चा यहाँ राख्न सक्छन् । कामकाजी महिलाले आफ्ना बालबच्चा यहाँ राखेर काममा निस्किने गरेका छन् । बच्चाको सम्पूर्ण स्याहारसहित दिनमा दुईपटक खाना खुवाइन्छ।

प्रत्येक वडामा कम्तीमा एउटा शिशु स्याहार केन्द्र सञ्चालन गर्ने उद्देश्यअनुसार काम भइरहेको मेयर सुनील प्रजापतिले बताए ।

बजारः दैनिक अनुगमन
भक्तपुर नगर क्षेत्रका बजार अनुगमन नियमित हुन्छ । नगरपालिकाको नेतृत्वमा प्रहरी र उद्योग वाणिज्य तथा उपभोक्ता समितिका प्रतिनिधिले दैनिक अनुगमन गर्छन् ।

कालोबजारी गर्ने, कृत्रिम अभाव सिर्जना गर्ने र म्याद नाघेको वस्तु बेच्ने, दर्ताविना व्यवसाय सञ्चालन गर्ने, ढक-तराजु नवीकरण नगर्नेलाई सचेत गराउने तथा अटेरी गर्नेलाई कानुनी कारबाही गर्दै आएको छ । त्यस्तै नगरपालिकाभित्र सञ्चालित मासुपसल र वधशालाको पनि नियमित अनुगमन र चेकजाँच हुने गरेको छ।

सम्पदा पुनर्निर्माणः ४७
भक्तपुरको अधिकांश पुरातात्विक संरचनाको पुनर्निर्माण सुरु भइसकेका छन् । केही पुनर्निर्माण भइसके, केही सम्पन्न हुने क्रममा छन् । सम्पदा संरक्षणका ४७ योजनामध्ये २७ वटा पूरा भइसकेका र बाँकी पनि पूरा हुने क्रममा रहेको नगरपालिकाले जनाएको छ।

एक वर्षभित्र क्षति पुगेका अधिकांश सम्पदाको पुनर्निर्माण सकिसक्ने लक्ष्य रहेको मेयर प्रजापतिले जानकारी दिए । उपभोक्ता समितिमार्फत पुनर्निर्माण गरिएकाले कुनै विवाद पनि छैन । ‘उपभोक्ता सचेत छन्, सम्पदा संरक्षणमा जागरुक छन्, त्यसैले गलत हुन दिएका छैनन्,’ उनले भने, ‘बरु पुरातत्व विभागले बनाउन सुरु गरेका केही संरचना रोकेका छौँ, भत्काइदिएका छौँ।’

सम्पदा पुनर्निर्माणमा ठेकेदारी प्रथा छैन । ठेकेदारले बाहिरबाट मजदुर ल्याउने, स्थानीय सम्पदाबारे उनीहरूलाई थाहा नहुने, छिटो सक्न गुणस्तरहीन काम गर्न सक्ने र नगरपालिकाको पैसा बाहिर जाने भएकाले ठेकेदार निषेध गरिएको नगरपालिकाको तर्क छ।

उपभोक्ता समितिमार्फत काम गराउँदा स्थानीयले नै रोजगारी पाउने र सम्पदाप्रति अपनत्व महसुस हुने नगरपालिकाको बुझाइ छ।

नगरभित्रका पुरानो बस्तीमा नयाँ घर बनाउँदा पनि पुरानो शैली मास्न नपाउने, बाहिरी भागमा इँटा देखाउनुपर्ने, अगाडिको भागमा झिँगटी लाउनुपर्ने र काठ देखाउनुपर्ने प्रावधान कायम गरेको छ । उल्लंघन गर्नेको नक्सापास नै रोकिदिने र संरचना भत्काइदिने गरेको छ । नियम पालना गर्नेलाई काठ, झिँगटी र इँटाको खर्चमध्ये ३५ प्रतिशत नगरपालिकाले अनुदान दिने गरको पनि मेयर प्रजापतिले बताए।

वडा नम्बर १ मा रहेको भाज्यपोखरीलाई पुरानै शैलीमा निर्माण गर्ने तयारी भइरहेको छ । २७ रोपनी क्षेत्रफलमा निर्मित पोखरीमा पानी चुहिनबाट रोक्न कालो माटो झारिसकिएको र नक्सा डिजाइन अन्तिम चरणमा पुगेको उनले बताए ।

एनजिओ निषेधः नगर क्षेत्र
गैरसरकारी संस्थाहरूले कामभन्दा प्रचार बढी गर्ने, महत्वपूर्ण सूचना लिएर विदेश पु(याउने भएकाले गैरसरकारी संस्थाको उपस्थिति शून्यमा झार्ने नीति भक्तपुर नगरपालिकाको छ।
‘आजै मात्र पनि दुईवटा संस्था आएका थिए नगरभित्र काम गर्न भनेर । हामीले अनुमति दिएनौँ । निकैबेर गल्फती प(यो,’ मेयर प्रजापतिले सुनाए। भूकम्पबाट क्षति पुगेको भक्तपुरको चित्रकला विभाग राणा कालमा नयाँ शैशीमा पुनर्निर्माण गरिएको थियो।

यसलाई मल्लकालीन शैलीमा पुनर्निर्माण गर्ने निर्णय भयो । तर, मल्लकालीन नक्सा कतै भेटिएन । खोज्दै जाँदा अन्ततः बेलायतको एक लाइब्रेरीमा भेटियो । गैरसरकारी संस्थाहरूले देशको सूचना विदेश पु(याउँछन् भन्ने गतिलो उदाहरण यही भएको प्रजापति बताउँछन्।

यसैगरी गैरसरकारी संस्थाले मानिसको मनस्थिति पनि बिगारिदिने उनको तर्क छ । युगोस्लाभिया टुक्राटुक्रा हुनुमा गैरसरकारी संस्थाको भूमिका महत्वपूर्ण रहेको उनको बुझाइ छ । टुक्रिनुअघि युगोस्लाभियामा ५०औँ हजार गैरसरकारी संस्था कार्यरत रहेको उनले बताए।

गृहणीलाई सीपमूलक तालिम दिने, सिलाइकटाइका तालिम दिने, युवाहरूलाई खेलकुदको प्रशिक्षण दिने, विभिन्न सांस्कृतिक कार्यक्रमका लागि आर्थिक सहयोग दिने, संस्कृति परम्परा रक्षा गर्न प्रोत्साहन गर्नेजस्ता गैरसरकारी संस्थाले गर्ने काम नगरपालिका आफैँले गर्दै आएको छ।

आवास योजनाः यसरी बनायो दुई आवास क्षेत्र
नगरपालिकाको लगानी र रेखदेखमा दुईवटा आवास योजना सञ्चालनमा छन् ।

एउटामा सार्वजनिक र निजी जग्गा अधिग्रहण गरेर १,६५३ रोपनी क्षेत्रफलमा बाटो, ढल, निकास, खुला ठाउँ, विद्युतीकरण, ग्रिनबेल्ट र खेलकुद पार्क निर्माण गरी बाँकी जमिन जनतालाई नै फिर्ता गरिदिएको छ । यो आवास क्षेत्रमा करिब ती सय घर बनिसकेका छन् ।

अर्को आवास क्षेत्र ५१४ रोपनी जग्गामा फैलिएको छ । पुरानो नगर क्षेत्रको मौलिकता कायम राख्न र त्यहाँ हुने भिडभाड कम गर्न सरकारी कार्यालय पनि आवास क्षेत्रभित्र सार्ने काम जारी छ ।

व्यवस्थित सहर निर्माणका लागि आवास योजना सञ्चालन गरिएको प्रजापतिले बताए । नगरपालिकाले समयमै आवास योजना सञ्चालन नगरेको भए जग्गा दलाली गर्नेले ५–१० रोपनी जग्गा लिएर स्थानीयलाई केही रकम दिएर प्रशस्त आम्दानी गरिसक्ने उनको भनाइ छ ।

जति लगानी बाटोमा खर्च भयो त्यही लगानी मात्र कटौती गरेर जमिन फिर्ता दिँदा हिजो जनतालाई रोपनीको आउने मूल्य अहिले आनाकै आउने उनले बताए ।

खेलकुदः युवालाई विभिन्न खेलको तालिम
मेयर प्रजापतिका अनुसार युवालाई कुलतमा फस्नबाट जोगाउन, अनुशासित बनाउन र स्वस्थ नागरिक तयार गर्न नगरपालिकाले कराते, किकबक्सिङ, फुटबल, भलिबल, टेबुलटेनिसको तालिम दिँदै आएको छ । ती तालिम विद्यालयस्तरमा विस्तार गर्ने सोच रहेको सुनाए।

नगरपालिकाभित्र दुईवटा ठूला खेलकुद मैदान छन् । स्थानीय क्लब र व्यायाम मन्दिरलाई खेलकुदका सामग्री प्रदान गर्नेदेखि आर्थिक सहयोगसमेत गर्दै आएको छ।

संस्कृति संरक्षणः सांस्कृतिक कला सिकाउँदै
भक्तपुर नगरपालिकाले गरेका महत्वपूर्ण काममध्ये संस्कृति संरक्षण पनि एक हो । संस्कृति र परम्परालाई संरक्षण गर्न नगर क्षेत्रभित्र लाफा, भजन चलाउने, नाचगानका लागि प्रोत्साहन गर्ने, वासुरी र अन्य वाद्यवादनको तालिम दिने काम पनि गर्दै आएको छ।

कानुन निर्माणः संविधानसँग नबाझिने गरी नगरको आफ्नै कानुन
देशभरका स्थानीय तह कानुन अभावमा काम गर्न पाएनौँ भन्ने गुनासो गरिरहेका छन् । तर, भक्तपुर नगरपालिकालाई काम गर्न कानुनले रोकेको छैन । देशको संविधानसँग नबाझिने गरी शिक्षा, स्वास्थ्य, फोहोर व्यवस्थापन, बजार अनुगमनलगायत विषयमा १८ कानुन निर्माण गरेर काम गर्दै आएको छ।

‘अधिकार छैन भनेर बस्ने होइन । आफूलाई चाहिने अधिकार आफैँ बनाउने हो,’ मेयर सुनील प्रजापतिले भने, ‘संविधानले स्थानीय निकायलाई कानुन बनाउने, कार्यान्वयन गर्ने र न्यायपालिकाको काम गर्ने अधिकार पनि दिएको छ जुन अधिकार केन्द्रीय सरकारलाई पनि उपलब्ध छैन।’

पुस्तकालयः आधुनिक पुस्तकालय सञ्चालन, निःशुल्क इन्टरनेट सुविधा
पाठकको माग र विद्यार्थीको आवश्यकतालाई मध्यनजर गर्दै नगरपालिकाले आधुनिक पुस्तकालय पनि सञ्चालनमा ल्याएको छ ।पुस्तकालयमा साहित्य, दर्शन, इतिहास, कला–संस्कृति आदि विषयका पुस्तक राखिएका छन् । पुस्तकालयमा निःशुल्क इन्टरनेट सेवा पनि उपलब्ध छ।

एकै वर्षमा सबै भएको होइन
भक्तपुरको विकास हालका जनप्रतिनिधिले एकै वर्षमा गरेको भने होइन । भक्तपुरमा विगतदेखि स्थानीय तह र संसद्मा प्रतिनिधित्व गर्ने दल नेमकिपा हो । अहिले पनि भक्तपुर नगरको नेतृत्वमा रहेका प्रजापति नेमकिपाकै हुन् ।

उनी भक्तपुरको विकासको श्रेय पार्टीलाई दिन्छन् । हुन पनि सबै विकास नेमकिपाको चुनावी घोषणपत्रअनुसार नै भइरहेको छ।

०५४ को स्थानीय चुनावमा शिक्षण संस्था स्थानीय निकायले सञ्चालन गर्ने पार्टीको घोषणा, सम्पदा संरक्षणमा जनसहभागिता गराउने पार्टीको नीतिले नै नगरलाई व्यवस्थित बनाएको उनी बताउँछन्। नयाँ पत्रिका

प्रतिकृया दिनुहोस