प्रतिपक्ष बिना नै चल्यो संसद, मन्त्रीलाई प्रश्न सोध्न नपाएपछि कांग्रेसद्वारा बहिष्कार

Sansada bahiskarceo

काठमाडौं । मन्त्रीले दिएको जवाफ चित्त नबुझेकोर पुनः प्रश्न सोध्न समय माग गरेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समय नपाएपछि संसद बैठक नै बहिष्कार गरेको छ ।
काँग्रेसले मन्त्रीलाई प्रश्न सोध्न र थप जिज्ञासा राख्न समय नपाएको भन्दै संसद् बैठक बहिष्कार गरेको छ ।

प्रतिनिधिसभाको बिहिबार बैठकमा गृहमन्त्री रामबहादुर थापा र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विशेष समयमा बोलेका विषयमा थप जिज्ञासा र प्रश्नका लागि सभामुखले समय नदिएको भन्दै काँग्रेसले बैठक बहिष्कार गरेको हो ।

लगत्तै कांग्रेस सांसदहरुले बैठक बहिस्कार गरे । सभामुखले संसद नियमावली अनुसार प्रश्न सोध्न पनि नदिएकाले सांकेतिक विरोध स्वरुप बैठक बहिस्कार गरेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले बताए ।

उनले भने, “मन्त्रीले बोलेका विषयमा प्रश्न सोध्न र थप जिज्ञासाका लागि हामी समयको माग गर्दै उभिरयौँ,  तर सभामुखले बेवास्ता गर्नुभयो र सदन चलाउनुभयो, पुनःहामीले नियमावलीको व्यवस्था इंगीत गरेर समय माग ग-यौँ, त्यसपछि पनि समय नपाएपछि हामीले विरोधको सांकेतिकरुपमा सदन बहिष्कार गर्नुप-यो ।”

सत्तापक्षले संविधान कार्यान्वयनमा पनि चासो नलिएको आरोप लगाउँदै प्रमुख सचेतक खाँणले संविधान, ऐन कानून र संसदीय पद्धतिको पालना गर्नुपर्ने दायित्व सबैको भएको धारणा व्यक्त गरे ।

सत्तापक्ष संविधान कार्यान्वयनमा गम्भीर नभएको र भएका ऐन नियम पालना पनि नगरेको भन्दै उनले सरकार सर्वसत्तावाद उन्मुख भएको आरोप लगाए ।
काँग्रेसकै नेता डा. मीनेन्द्र रिजालले संसद्मा मन्त्रीका वक्तव्यको विषयवस्तुमाथि केन्द्रित रहेर प्रश्न सोध्न पाइने जानकारी दिँदै आज त्यो अधिकार कुण्ठित भएको र दलीय व्यवहार भएको आरोप लगाए ।

“सरकार यो बाटोमा जान्छ भन्ने हाम्रो आशंकामा उहाँहरुले आज थप प्रमाण पेश गर्नुभएको छ, हामी चाहन्छौँ सत्तापक्ष सुध्रियोस्, उहाँहरु सच्चिनुभएन भने हामीले गम्भीरतापूर्वक सोच्नुपर्ने हुन्छ ।”

काँग्रेस नेता डा. रिजालले सभामुख र उपसभामुख फरकफरक दलको हुनुपर्छ भन्ने संविधानमा स्पष्ट व्यवस्था भएको र आफूहरुले उक्त विषय पटकपटक उठाउँदा पनि सत्तापक्षले ठोस सुनुवाइ नगरेको बताए ।

उनले भने, “हामीले यो विषय संघ र प्रदेशमा पटकपटक उठायौँ, तर उहाँहरुले त्यसअनुसार कुनै व्यवहार गर्नुभएको छैन, सर्वोच्च अदालतको मुद्दाको प्रतिवादी भएर बस्ने भनेको अदालतमाथि दबाब राख्ने मनशाय हो ।”

सभामुख महराले भने कांग्रेसले बैठक नै बहिस्कार गर्नुपर्ने कारण नभएको बताए । शून्य र विशेष समयमा उठेका प्रश्नहरुको मन्त्रीहरुले जानकारी दिएको भन्दै उनले भनेका छन्, ‘प्रश्न उत्तरको अर्को व्यवस्था छुट्टै हुँदैछ ।’

प्रमुख प्रतिपक्षी दल काँग्रेसले बैठक बहिष्कार गरे पनि सभामुख महराले प्रतिनिधिसभा बैठकलाई निरन्तरता दिएका थिए ।

प्रतिकृया दिनुहोस