पुनर्निर्माण प्राधिकरणका सीईओ युवराज भुसाल हटाइए

Yubaraj bhusal

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) युवराज भुसाल पदमुक्त भएका छन् । अघिल्लो सरकारका पालामा भएका सबै राजनीतिक नियुक्ति बदर गर्ने निर्णय सरकारले गरेपछि भुसाल आइतबारबाट पदमुक्त भएका हुन् ।

प्रधानमन्त्री कार्यालयले शुक्रबार नै प्राधिकरणमा पत्र पठाएर पदमुक्त भएको जानकारी गराएको थियो । तर, भुसालले सो पत्र कार्यालय समय पछाडि आएकाले आफूले पढ्न नपाएको बताए ।

नेपाली कांग्रेस निकट भुसाल गत वर्ष कात्तिक ६ गते प्राधिकरणको सीईओ नियुक्त भएका थिए । कांग्रेस नेतृत्वको सरकारको पालामा पाँच महिना र कम्युनिष्ट नेतृत्वको सरकारको पालामा चार महिना काम गरेको बताउँदै उनले दुवै सरकारबाट आफू सन्तुष्ट भएको बताए ।

प्राधिकरणको ऐनमा सीईओलाई जुनसुकै बेला सरकारले हटाउन सक्ने उल्लेख छ । तर, त्यसअघि स्पष्टीकरणको मौका दिनुपर्ने व्यवस्था ऐनमा छ ।

सीईओ भुसालले आफ्नो ९ महिने कार्यकाल सफल भएको दावीसमेत गरे ।

यसअघि परामर्श समिति र निर्देशक समितिको बैठकबारे छलफल गर्न बालुवाटार पुगेका बेला प्रधानमन्त्री ओलीले भेट नदिइ भुसाललाई फर्काइदिएका थिए ।

तीन वर्षको अवधिमा प्राधिकरणको नेतृत्व चार पटकसम्म फेरिइसकेको छ । अब पाँचौ सीईओ नियुक्तिको तयारीमा सरकार लागेको छ । आजै मन्त्रिपरिषद बैठक पनि बस्दै छ ।

भुसाल कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलका सम्धी हुन् ।

प्राधिकरणका तत्कालीन सीईओ सुशील ज्ञवालीलाई सरकारले हटाएपछि पनि भुसाल राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सीईओ बन्ने दौडमा थिए । तर, कांग्रेस-माओवादी गठवन्धनको सरकारले डा. गोविन्द पोखरेललाई नियुक्ति दिएको थियो ।

प्रतिकृया दिनुहोस