काँग्रेसले केसीलाई मारेर लासको राजनीति गर्न चाहेको गम्भीर आरोप; प्रचण्ड

Prachand

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली काँग्रेसले डा. गोविन्द केसीलाई मारेर लासको राजनीति गर्न चाहेको गम्भीर आरोप लगाएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको ४० औँ स्मृति दिवसका अवसरमा काठमाडौँको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा प्रचण्डले सरकारले केसीको जीवनरक्षा लागि पहल गरेको तर तथाकथित लोकतान्त्रिक भन्नेहरुले मरोस् भन्ने चाहेको टिप्पणी गरे ।

डा. केसीका विषयमा धेरै नबोल्ने भन्दै उनले केसीको जीवन रक्षा गर्ने दायित्वय सरकारको भएकाले जुम्लाबाट काठमाडौँ ल्याइएको स्पष्ट पारे ।

‘उनको जीवन रक्षा गर्ने पहिलो कर्तव्य हो सरकारको, अन्तिम सयमसम्म पनि सरकारले डाक्टर गोविन्द केसीको जीवन रक्षालाई पहिलो प्राथमिकता र उनीसँग वार्ता गरेर समस्या समाधान गर्ने कुरालाई सँगसँगै महत्व दिएर जाने निर्णय गरिसकेका छौँ,’ प्रचण्डले भने, ‘तर, तथाकथित लोकतान्त्रिक भन्नेहरु गोविन्द केसीको हत्या गर्न चाहन्छन्, त्यो कतै लासको राजनीति गर्न चाहेको त होइन भन्ने प्रश्न गम्भीर रुपमा खडा भएको छ ।’

सरकारले केसीको माग सम्बोधन र जीवन रक्षाका लागि वार्ता टोली बनाएको स्मरण गर्दै प्रचण्डले भने, ‘म आम नेपाली जतालाई पनि भन्न चाहान्छु, यो के विडम्बना हो ? सरकारले समस्या समाधान गर्न वार्ता टोली बनाएको छ । सरकारले लडेर उनको जीवन रक्षा गर्नुपर्ने अवस्थाको सामना गरेको छ, फेरि सरकारैमाथि आरोपै आरोप, पार्टीमाथि आरोपै आरोप ! यो के चिज हो ?

केसीले नेपालमा पहिलो पटक अनसन नबसेको र लोकतान्त्रिक भन्ने पार्टीकै नेतृत्वमा सरकार भएका बेला सबैभन्दा धेरै अनसन बसेको प्रचण्डले टिप्पणी गरे । काँग्रेसप्रति आक्रामक देखिएका प्रचण्डले त्यो बेला माग सम्बोधन गर्न काँग्रेस के हेरेर बसेको थियो ? भनि प्रश्न गरे ।

‘अहिले गोविन्द केसी अनसन बस्नुलाई नेपाली समाजले पचाइसकेको छ । उहाँ बसिराख्नुहुन्छ’ प्रचण्डले भने, ‘उहाँसँग वार्ता पनि हुन्छ, सहमति पनि हुन्छ । त्यो पनि सामान्य प्रक्रिया हो । हामी वार्ता गर्न तयार छौँ, कति लचिलो हुनुपर्ने हो हुन तयार छौँ ।’

प्रचण्डले काँग्रेसले गोविन्द केसीको पुच्छर समातेर लोकतान्त्रिक गणतन्त्रलाई हरणा खोजेको बताए । ‘नेपाली काँग्रेसले खोज्या चाहीँ के हो ? नेपाली काँग्रेस आफ्नो राजनीति गोविन्द केसीमार्फत गर्नुपर्ने ठाउँमा पुगिसक्या हो ?’, प्रचण्डले थपे, काँग्रेस यति निम्छरो, यति कमजोर, यति एजेण्डाविहिन, यति अलोकतान्त्रिक भइसक्या हो ? यदि हो भने यो भन्दा ठूलो विडम्वना केही हुन सक्दैन ।’

उनले नेपाली काँग्रेसको राजनीति सकिएको पनि टिप्पणी गरे । यस्तै अवस्था रहे काँग्रेस इतिहासको विषय बन्न धेरै समय नलाग्ने प्रचण्डको टिप्पणी छ । ‘मेरो दृष्टिमा काँग्रेस अब सिद्धियो, काँग्रेस यहाँबाट अगाडी बढ्ने होइन अवसानको बाटो लाग्यो’, उनले भने ।

काँग्रेले अलोकतान्त्रिक व्यवहार देखाएको पनि प्रचण्डको भनाई छ । हिजो मात्रै प्रधानमन्त्री केपी शर्मा ओली र आफ्नो काँग्रेस सभापति देउवासँग भेट भएको प्रचण्डले सुनाए ।

देउवाले केसीका माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने बताएको उल्लेख गर्दै प्रचण्डले भने, ‘एउटा व्यक्तिको मागलाई मानिदिनु पर्ने अरु कुनै उपाय छैन भने यो संसद–प्रतिनिधिसभा किन चाहियो ? चुनाव किन गर्न र्पयो ? प्रदेशसभा किन चाहियो, स्थानीय तह किन चाहियो ? बीचबीचमा एक र दुईटालाई अनसन बस्न लगाईदिऔँ, उसले जे भन्यो त्यहि मानौँ । होइन, विधिको शासन लोतान्त्रिक प्रणाली हो भने त्यहिभित्रैबाट समस्या समाधान गर्नतर्फ लाग्नुपर्छ । त्यो भन्दा बाहिरबाट गर्न खोज्नु भनेको लोकतन्त्रको उपहास हो, लोकतन्त्रको अपमान हो ।’

उनले लोकतान्त्रिक भन्ने पार्टीले अलोकतान्त्रिक व्यवहार देखाएर दुई तिहाईको सरकारलाई काम गर्न नदिने षडयन्त्र भईरहेको पनि बताए ।

प्रतिकृया दिनुहोस