प्रतिनिधिसभाको बैठक १ सातासम्म स्थगित, संसदका सबै गतिविधि ठप्प

Sansad parliyament

काठमाडौं । प्रतिनिधिसभाको बैठक १ सातासम्म स्थगित भएको छ । संसद स्थगित भए पनि संसदीय समितिले संसदको कामलाई निरन्तरता दिएको छ ।

संसद लामो समयसम्म स्थगित हुने र समिति पनि गठन नहुनुले संसद अनिर्णयको बन्दी बन्न पुगेको सत्ता पक्षका सांसदहरुको भनाई छ ।

प्रतिनिधिसभाको बैठक साउन ११ गतेसम्म स्थगित हुने भएको छ । लामो समय स्थगित भएका कारण संसदका सबै गतिविधि ठप्प भएका छन् । संसद स्थगित भएपछि सभामुख कृष्णबहादुर महरा २ दिनका लागि आफ्नो निर्वाचन जिल्ला दाङ पुगेका छन् ।

सत्तापक्ष सांसदहरु व्यक्तिगत काममा उपत्यका बाहिर लागेका छन् भने प्रमुख प्रतिपक्ष कांग्रेसका सांसदहरु सरकार विरुद्धको आन्दोलनका तयारीमा लागेका छन् । साउन १५ गतेसम्मको सरकारविरुद्धको आन्दोलनका लागि कांग्रेस सांसद कोही जिल्ला फर्केका छन् भने कोही काठमाडौंमा विरोधमा उत्रन थालेको सांसद तथा पार्टी सचेतक पुष्पा भुषालले बताइन् ।

निषेधित क्षेत्र घोषणा गरेर जायज माग राख्न नदिएका कारण कांग्रेस प्रदर्शनमा उत्रिएको उनले बताइन् । ‘सबै जिल्लामा कांग्रेसको देशव्यापी विरोध कार्यक्रम भएकाले त्यसको तयारीका लागि जिल्ला जान आवश्यक भएका सांसदलाई जिल्ला पनि पठाइएको छ,’ उनले भनिन् ।

प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरू भने अति आवश्यक काम बाहेक अन्य काममा उपत्यका छाडेका छैनन् । संसदीय समिति गठन नभएका कारण संसद नहुँदा संसदको काम समितिबाट हुन सक्ने अवस्था पनि नहुनु र सरकारले संसद सचिवालयमा नयाँ विधेयकसमेत दर्ता नगर्दा संसद सचिवालयमा कर्मचारीलाई समेत काम गर्न अप्ठ्यारो परेको सचिवालयले जनाएको छ ।

संसद सचिवालयमा ४ वटा विधेयक मात्रै दर्ता भएका छन् । जसमा बिमा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, लेखा परीक्षण विधेयक, सार्वजनिक सुरक्षा ऐन २०४३ लाई संशोधन गर्न बनेको विधेयक मात्र संसदमा रहेको छ ।

प्रतिकृया दिनुहोस