डा. केसीलाई काठमाडौं ल्याउन हेलिकप्टर तयारी अवस्थामा

केसी समर्थक भन्छन्– सरकारले जवर्जस्ती गर्न खोज्यो !

D. kc

काठमाडौं । जुम्लामा अनशनरत डा.गोविन्द केसीलाई सरकारले उपचारका लागि आज काठमाडौं ल्याउने तयारी गरेको छ ।

केसीको स्वास्थ्यबारे जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको मेडिकल रिपोर्टपछि प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ नेकपाको आकस्मिक बैठक बसेर केसीलाई काठमाडौं ल्याउने निर्णय गरेको हो ।

बुधबार साँझ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले डा. केसीको उपचारमा सीसीयू अनिवार्य भएको निष्कर्ष निकालेको थियो । जुम्लामा सीसीयू सेवासहितको उपचार पद्धती नभएकाले उनलाई सरकारले काठमाडौं ल्याउन तयारीमा सरकार लागेको हो ।

२० दिनदेखि अनशन बसिरहेका केसीको स्वास्थ्य अबस्था जटिल बनेपछि सरकारले उपचारको लागि काठमाडौं ल्याउने तयारी गरेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले बताए । सरकारले केसीलाई हेलिकप्टरबाट काठमाडौं ल्याउने तयारी गरेपनि समय भने यकिन नभइसकेको उनले जानकारी दिए ।

‘केसीको जीवन रक्षाका लागि उनलाई काठमाडौं ल्याउनुको विकल्प छैन, हामी त्यसैमा लागेका छौं’, मन्त्री पोखरेलले भने, ‘अहिले जुम्लामा सम्पर्क भइहरको छ, त्यहाँको मौसमको अवस्था हेरेर काठमाडौंबाट हेलिकप्टर जुम्ला उड्ने तयारी भइरहेको छ ।’

केसी पक्षीय चिकित्सकले भने डा. केसीलाई सरकारले बलजफ्ती काठमाडौं ल्याउने तयारी गरेको भन्दै विरोध जनाएका छन्।

देउवा सरकारले ल्याएको चिकित्सा शिक्षा अध्यादेशअनुसार विधेयक ल्याउनु पर्ने लगायतका माग राखेर डा. केसी जुम्लामा १९ दिनदेखि अनसनरत छन्। यस बीचमा डा. केसीका प्रतिनिधिसँग सरकारका प्रतिनिधिबीच पटक पटक वार्ता भएपनि सहमति हुन सकेको छैन ।

डा.केसीले कर्मचारीसँगको बार्ताको अर्थ नहुने भन्दै मन्त्रीस्तरिय वार्ताको माग गरेका छन्।

डा.केसीको जीवन रक्षा र माग पूरा गर्न दबाब दिन भन्दै नेपाल चिकित्सक संघले आज देशभरका सरकारी तथा नीजि अस्पताल, नर्सिङ होम, क्लिनिकमा आकस्मिकबाहेकको स्वास्थ्य सेवा ठप्प पारेको छ।

प्रतिकृया दिनुहोस