धादिङमा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ५ पुग्यो

Pahiro dhading

धादिङ । धादिङमा पहिरोमा परि मृत्यु हुनेको संख्या ५ पुगेको छ । मृतक सबैको सनाखत गरिएको छ । उत्तरी भेगमा पर्ने सत्यदेवी र मार्पाकमा गएराति पहिरो जाँदा पाँचजनाको मृत्यु भएको हो । पहिरोमा परी दुईजना बेपत्ता भएका छन् । सात घर पहिरोले पुरिएको छ भने चारजना घाइते भएका छन् ।

दुई दिनदेखि परेको वर्षाका कारण खनीयाबास गाउँपालिका–५ स्थित सत्यदेवीको साईश्वाँरामा गोले जेठा भनिने राजु गोलेको घर पहिरोले बगाउँदा गोलेकी श्रीमती ३६ बर्षीया वसोधा गुरुङ, १० बर्षीया छोरी लक्ष्मी गुरुङ र ५ बर्षीया सरस्वती गुरुङको पहिरोमा परी मृत्यु भएको छ ।

त्यस्तै खनीयावास गाउँपालिका–४ का ६५ वर्षीय शमशेर घले र ६२ वर्षीया कोप्ची घलेको पनि पहिराले बगाउँदा मृत्यु भएको छ । उनीहरुको शव आज विहान पहिरोबाट निकालिएको जिल्ला प्रहरी कार्यालय, धादिङले जनाएको छ । सो पहिरोबाट चार जनालाई घाइते अवस्थामा गाउँवासीले उद्धार गरी सत्यदेवी स्वास्थ्यचौकीमा उपचारका लागि लगेका प्रहरीले जानकारी दिएको छ ।

यसैगरी, नेत्रावती डपजोङ गाउँपालिकाको मार्पाकमा पाँच घर पहिरोले बगाएको छ । घटनास्थल सदरमुकामबाट एक दिनको पैदल दूरीमा पर्दछ । वर्षात्का कारण जिल्लाको उत्तरी भेगतर्फ जाने सडक भत्किएकाले सदरमुकामबाट मोटर चल्न छाडेको छ । इलाका प्रहरी कार्यालय, दार्खाको प्रहरी टोली चिउरीखर्क पुगिसकेको छ भने साईश्वाँरा भने अझै पुग्न सकेको छैन ।

प्रहरीलाई घटनास्थलतर्फ परिचालन गरिएको र घटनाको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

प्रतिकृया दिनुहोस