नेपाल–चीन संयुक्त विज्ञप्ती : रेलमार्ग सम्झौता भएकोमा खुशी व्यक्त

Nepal china

बेइजिङ । बिहिबार राती बेइजिङबाट जारी गरिएको नेपाल–चीन संयुक्त वक्तव्यमा रेलमार्ग निर्माणमा सहकार्य गर्ने सम्झौता भएकोमा खुशी व्यक्त गरिएको छ ।

यसअघि बेइजिङमा प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी लि खछ्यानबीच भेटवार्तापछि केरुङ–काठमाडौं रेलमार्ग निर्माणका लागि पूर्व संभाव्यता अध्ययन गर्ने लगायत १४ बुँदे सम्झौता भएको थियो ।

‘दुई पक्षीय सहयोगको इतिहासमा यो सबैभन्दा महत्त्वपूर्ण पहल हो, जसले दुई देशबीचको सिमापार सम्बन्धको नयाँ युगको थालनी गर्छ’, संयुक्त विज्ञप्तीमा भनिएको छ, ‘दुवै पक्ष सरकारी विभागबीच रेलमार्ग सहयोगमा दीर्घकालिन सञ्चारको राम्रो प्रयोग गर्न सहमत भए। चिनियाँ पक्ष नेपाललाई प्राविधिक र प्रशिक्षणको सहयोग प्रदान गर्न सहमत भएको छ ।’

प्रधानमन्त्री ओलीको ५ दिने चीन भ्रमणको तेस्रो दिन दुई पक्षबीच औपचारिक वार्तापछि १४ बुँदे सम्झौता र १४ बुँदै नै संयुक्त विज्ञप्ती जारी भएको हो। प्रधानमन्त्री ओलीले मंगलबार बेइजिङमा चीनका राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गरेका थिए भने बिहिबार प्रधानमन्त्री स्तरमा वार्ता भएको थियो ।

ओली बेइजिङबाट शुक्रबार तिब्बतको राजधानी ल्हासा उड्नुअघि बिहिबार राती नै संंयुक्त विज्ञप्ती जारी भएको हो ।

विज्ञप्तीमा दुबै पक्ष नेपाली र चिनियाँ एयरलाइन्स कम्पनीहरूलाई चीन र नेपालका थप गन्तव्यमा सिधा उडान सञ्चालन गर्न उत्प्रेरित गर्न सहमत भएका छन्। साथै पोखरा विमानस्थल निर्माण कार्य छिटो सम्पन्न गर्न दुबै पक्ष सहमत भएका छन् ।

विज्ञप्तीमा ट्रान्सहिमालयन मल्टि डाइमेन्सनल कनेक्टिभिटि नेटवर्क अन्तर्गत बेल्ट एण्ड रोड इनिसियटिभमा नेपाल र चीनबीच भएको सहकार्यको समझदारी लागू गर्दै जाने सहमती भएको उल्लेख छ ।

विज्ञप्तीको ६ नम्बर बुँदामा तातोपानी नाका सकेसम्म चाँडै खोल्ने, केरुङ बन्दरगाहको स्तरोन्नती गर्ने, स्याफ्रुबेसी–रसुवागढी सडकलाई सञ्चालनमा ल्याउने गरी मर्मत गर्ने, हिल्साको कर्णाली नदीमा पुल निर्माण गर्ने उल्लेख छ ।

दुबै पक्ष नेपालमा संभावित पेट्रोलियम भण्डारण क्षेत्र खोज्न सहमत भएका छन् । साथै चीनले नेपालमा पेट्रोलियम खानी पत्ता लगाउन अनुसन्धान कार्य जारी राख्ने सहमती भएको छ।

नेपालले अन्तरदेशीय ट्रान्समिसन लाइन निर्माणमा सहयोग गर्न चीनलाई राखेको प्रस्तावमा चिनियाँ कम्पनीलाई यस सम्बन्धी पूर्वाधार अध्ययन गर्न उत्प्रेरित गरिने भएको छ ।

उत्तर–दक्षिण आर्थिक करिडोरको विकास गर्ने नेपालको चाहना अनुसार कोशी, गण्डकी र कर्णाली आर्थिक करिडोर विकासमा संभाव्यता अध्ययन गरिने भएको छ ।

पश्चिम चीनको चेङदुमा महावाणिज्यदूतावास स्थापना गर्ने नेपालको प्रस्तावमा चीनले अध्ययन गरेर जवाफ दिने भएको छ ।

 यसैबीच प्रधानमन्त्री ओली र समकक्षी लि खछ्याङबीच भएको प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता र दुई देशबीच भएका महत्वपूर्ण सम्झौतापछि आयोजित पत्रकार सम्मेलनमा चीनको परराष्ट्र मन्त्रालयका सहायकमन्त्री कोङ सुयन युले भ्रमण सफल रहेको निष्कर्ष सुनाएका छन् ।

पत्रकार सम्मेलनमा उनले भने, ‘प्रधानमन्त्री ओलीको भ्रमण स्पेसल सिग्नेफिकेन्स भयो ।’ सहायकमन्त्री कोङले राजनीतिक स्थायित्वपछि नेपालको ‘समृद्ध नेपाल सुखी नेपाली’ को लक्ष्य पूरा गर्न चीनले सक्दो सहयोग गर्ने प्रतिबद्धता गरेको बताए । प्रधानमन्त्रीका रुपमा ओलीको दोस्रो पटकको यस भ्रमणमा १४ विषयमा सहकार्य गर्ने सहमति भएको जानकारी दिँदै उनले नेपालले पनि एक चीन तथा चीनविरुद्ध कुनै गतिविधि हुन नदिने प्रतिबद्धता व्यक्त गरेको बताए ।

नेपालले चीनबाट उच्चस्तरको भ्रमणको इच्छा व्यक्त गरेको र जवाफमा चिनियाँ पक्षले सकारात्मक जवाफ दिएको उनको भनाइ छ । सहायकमन्त्री कोङले हिमाली अन्तरदेशीय सम्पर्कलाई विस्तार गर्दै लैजाने विषयमा दुवै देशका नेताहरु सहमत भएको तथा स्वतन्त्र व्यापार सम्झौताका विषयमा सम्भाव्यता अध्ययन गर्ने र नेपालका सातै प्रदेशमा आर्थिक विकास गर्ने विषयमा विचारविमर्श भएको बताए ।

प्रतिकृया दिनुहोस