मोहनविक्रम र मोहन वैद्य कार्यगत एकता गर्न सहमत

Mb ra mohan baidhya bicha party yakta ko chalphal

काठमाडौं । नेकपा(मसाल)का महामन्त्री मोहनविक्रम सिंह र नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’बीच भेटवार्ता भएको छ । बुधबार भएको भेटमा दुबै नेताहरुले देशको पछिल्लो राजनीतिक घटनाक्रम तथा पार्टी एकताका विषयमा छलफल गरेका छन् ।

नेकपा(मसाल)का प्रवक्ता रामप्रकाश पुरीका अनुसार दुई नेताबीच देशको पछिल्लो राजनीतिक परिस्थितिका बारेमा छलफल हुनुका साथै पार्टी एकताबारे पनि छलफल भएको थियो । राष्ट्रियता, जनतन्त्र, र जनजीविकाका कतिपय सवालमा क्रान्तिकारी पार्टीहरुबीच कार्गगत एकता गरेर जानुपर्ने आवश्यकता दुबै नेताहरुले औंल्याएको प्रवक्ता पुरीले बताए ।

बैठकमा सहभागी क्रान्तिकारी माओवादीका नेता रामसिंह श्रीषले आफ्नो तर्फबाट पार्टी एकताका लागि प्रस्ताव राखिएको जानकारी दिए । जवाफमा मसाल महामन्त्री सिंहले कार्यगत एकता र नियमित छलफलले एकताको वातावरण निर्माण गर्ने भन्दै कार्गगत एकतामा जोड दिएका थिए ।

सिंह र वैद्यसहित नेत्रविक्रम चन्द नेतृत्वको नेकपा र ऋषि कट्टेल नेतृत्वको नेकपाबीच केही समय अघिदेखि कार्यगत एकता हुँदै आएको थियो । तर विप्लव नेतृत्वको पार्टीले मसाल निकट राजमोबाट निर्वाचित विभिन्न स्थानीय तहका जनप्रतिनिधिहरुलाई राजीनामा दिन धम्की दिएपछि मसालले कार्यगत एकता स्थगित गरेको थियो ।

विप्लवहरुसँग कार्यगत एकता स्थगित भएपनि अन्य समुहसँग वार्ता र छलफल जारी रहेको मसाल प्रवक्ता पुरीले बताए। मसालले बुधबार मात्रै नेकपा(माले) सँग पनि विभिन्न विषयमा छलफल गरेको छ ।

मसाल महामन्त्री सिंह र क्रान्तिकारी माओवादीका महासचिव वैद्य दुबै पुराना र त्यागी नेता हुन् । क्रान्तिकारी शक्तिहरुबीच एकता र ध्रुविकरण हुनुपर्नेमा दुबै नेता सकारात्मक भएपनि मसाल र क्रान्तिकारी माओवादीबीच हुने भनिएको एकता प्रक्रियाले ठोस रुप लिन सकेको छैन ।
केही समययता यी दुबै पार्टीबीच सहकार्य र कार्यगत एकता हुँदै आएको छ ।

प्रतिकृया दिनुहोस