प्रधानमन्त्रीको चीन भ्रमणः के-के सम्झौता हुँदैछ ?

Pm china1

काठमाडाै‌ । प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा ऊर्जा सहकार्य र रेलमार्ग निर्माणको महत्वपूर्ण सम्झौता हुने भएको छ।

केरुङ–काठमाडौं, काठमाडौं–पोखरा–लुम्बिनी रेल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्नेसम्बन्धी सम्झौता हुनेछ ।

यातायात तथा पारवहन सम्झौैताको प्रोटोकल भने अर्को महिना टुंगिने भएको छ ।

बेइजिङस्थित नेपाली दूतावासका अधिकारीका अनुसार प्रोटोकल टुंग्याउन अर्को महिना बैठक डाक्ने सहमति भ्रमणका क्रममा हुने छ।

नेपाल र चीनले जारी गर्ने संयुक्त वक्तव्यमा यो विषय समावेश गर्ने तयारी छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले समय अभावका कारण अहिले प्रोटोकल नटुंगिने बताइसकेका छन्।

निजामती अस्पतालको क्षमता विस्तार गर्न चीनले नेपाललाई अनुदान उपलब्ध गराउने सम्झौता पनि गर्ने तयारी छ । केरुङ र तातोपानीमा मितिरी पुल निर्माण गर्ने तथा चीनले अनुदानमा बनाइदिने पुनर्निर्माणका परियोजनाबारे पनि छलफल हुनेछ।

भ्रमणका क्रममा नेपाल र चीनका परराष्ट्र मन्त्रालयस्तरमा संयन्त्र गठन गर्ने एमओयुमा हस्ताक्षर हुनेछ । सो संयन्त्रले दुई देशबीच विभिन्न विषयमा हुने सम्झौताका विषयमा छलफल गर्ने र टुंगो लगाउनेछ । मन्त्रिपरिषद्ले यससम्बन्धी निर्णय गरिसकेको छ ।

यस्तो छ प्रधानमन्त्रीको चीन डायरी
प्रधानमन्त्री केपी ओली ६ दिने औपचारिक भ्रमणका लागि मंगलबार बेइजिङ जाँदै छन् । चीनका प्रधानमन्त्री ली खछियाङको निमन्त्रणामा उनी निजी क्षेत्रको हिमालयन एयरलाइन्सको उडान नम्बर ‘हिमालयन ००१’ बाट बिहान ९ बजे त्यसतर्फ प्रस्थान गर्दै छन् ।

निजी खर्चमा जाने व्यवसायी र पत्रकारसमेत गरी एक सय १९ सदस्यीय टोली ओलीसँगै चीन जाँदै छ । प्रधानमन्त्रीलाई पुयाएर हिमालयन एयरलाइन्स फर्किनेछ, प्रधानमन्त्री चिनियाँ विमानबाट ल्हासा हुँदै स्वदेश फर्कनेछन् ।

बुधबार राष्ट्रपतिसँग भेटवार्ता
प्रधानमन्त्री ओलीले चिनियाँ समयअनुसार बुधबार अपराह्न ४ बजे चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने तय भएको छ । नयाँ पत्रिकालाई प्राप्त कार्यक्रम तालिकाअनुसार राष्ट्रपति सीसँग उनको ४० मिनेट शिष्टाचार वार्ता हुनेछ।

ग्रेट हल अफ द पिपुलको पूर्र्वी हलमा राष्ट्रपतिसँग भेटवार्ता तय गरिएको छ । प्रधानमन्त्री ओलीले राष्ट्रपति सीसँग एकान्त वार्तासमेत गर्ने कार्यक्रम रहेको कूटनीतिक स्रोतले जनाएको छ । अघिल्लो भ्रमणका क्रममा ८ चैत २०७२ मा ओली र सीबीच राष्ट्रपति कार्यालय चोङनानहाईमा एक घन्टा भेटवार्ता भएको थियो।

यी हुन् छलफलका एजेन्डा
नेपालका आठवटा सीमाबिन्दुमा वर्षाको समयमा सामान ढुवानीका लागि तिब्बतको राजमार्ग प्रयोग गर्नेसम्बन्धी प्रोटोकल। केरुङ–काठमाडौं रेलमार्ग निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० तयार गर्नेसम्बन्धी समझदारीपत्र ।

नेपाल र चीनबीच परियोजना अनुगमन तथा समस्या समाधानका लागि सहसचिवस्तरको संयन्त्र गठनसम्बन्धी समझदारीपत्र।
रसुवा र सिन्धुपाल्चोकस्थित नाकामा मितेरी पुल निर्माण।

जैविक कृषिको उत्पादकत्व वृद्धि गर्नेसम्बन्धी चिनियाँ सहयोग सम्झौता।

चिनियाँ सहयोगमा सात प्रदेशमा नेपाल प्रहरीका लागि आपत्कालीन उद्धार युनिट निर्माणसम्बन्धी सम्झौता।

मस्र्याङ्दी नदी प्रणालीमा नेपाली र चिनियाँ निजी क्षेत्रको लगानीमा ९६० मेगावाट विद्युत् उत्पादन गर्ने परियोजना निर्माण।

चिनियाँ बैंकको शाखा नेपालमा स्थापना गर्नेसम्बन्धी चाइनिज बैंकिङ रेगुलेटरी कमिसन र नेपाल राष्ट्र बैंकबीच समझदारीपत्र निर्माण।

तियान्जिन, सांघाई र ग्वान्जाओका तीन बन्दरगाह तथा तिब्बतमा दुई सुक्खा बन्दरगाह निर्माणसहित पारवहन तथा यातायात सम्झौताको प्रोटोकलमा हस्ताक्षर।

स्वतन्त्र व्यापार सम्झौताका लागि थप छलफल हुने । यसको सम्भाव्यता अध्ययनसम्बन्धी सहमति हुन सक्ने । नेपालले चीनसँग व्यापार गर्ने सहज आधारको खोजीपछि मात्रै अन्तिम रूप दिइने।

तानोपानी सीमानाका खुला गर्ने तथा सीमाबिन्दुका पूर्वाधारको स्तरोन्नति।

रसुवामा सुक्खा बन्दरगाह तथा सीमापार आर्थिक सहायता क्षेत्र निर्माण।

सबै मौसममा सञ्चालन हुन सक्ने गरी उत्तर–दक्षिण कोरिडोरको स्तरोन्नति । जस्तै स् दुई लेनको हुने गरी किमाथांका–खाँदबारी–धनकुटा–रानी सडक निर्माण, जमुनाहा–हिल्सासहितको कर्णाली करिडोर, ठोरी–केरुङ करिडोर, कोदारी–वीरगन्ज करिडोर, भिट्टामोड–लामाबगर करिडोर निर्माण ।
टोखा–छहरे सुरुङमार्ग निर्माण ।

गल्छी–केरुङ ४०० केभी प्रसारण लाइन, बुटबल–अत्तरिया–महेन्द्रनगर ७६५ केभी विद्युतीय प्रसारण लाइन, पूर्व–पश्चिम ४०० केभी प्रसारण लाइन, कर्णाली तथा कोसी कोरिडोर प्रसारण लाइन, काठमाडौं चक्रपथमा मोनोरेल निर्माण ।

ऊर्जा सहकार्यका लागि ऊर्जासचिव र सहसचिवस्तरको संवाद संयन्त्र गठन ।

किमाथांका अरुण ४५० मेगावाट, तमोर ७६२ मेगावाट, सुनकोसी दुई १११० मेगावाट, सुनकोसी तीन ५३६ मेगावाट, नलसिंहगाड ४२६ मेगावाट, उत्तरगंगा ३ सय मेगावाट जलविद्युत् परियोजना निर्माण।

सिँचाइ तथा जलस्रोत परियोजना स् पाँचखाल उपत्यका लिफ्ट सिँचाइ परियोजना, सुनकोसी मरिण डाइभर्सन बहुउद्देश्यीय परियोजना, पूर्वी तराई नदी व्यवस्थापन परियोजना, मध्यपहाडी लिफ्ट सिँचाइ परियोजना।

मदन भण्डारी विज्ञान तथा प्रविधि केन्द्र।

काठमाडौं चक्रपथ २७ किलोमिटर विस्तारको दोस्रो र तेस्रो चरण परियोजना ।

नेपाल–चीन सिमानामा गस्तीका लागि संयुक्त सीमा सुरक्षा प्रणाली निर्माण ।

सातै प्रदेशमा साना खालका शैक्षिक तथा जनस्वास्थ्य भवन निर्माण ।

नेपाल र चीनबीच परराष्ट्र मन्त्रालयको सहसचिवस्तरमा परियोजनामा संयुक्त समन्वय तथा कार्यान्वयन संयन्त्र गठन ।

जैविक कृषि उत्पादनका लागि चिनियाँ सहयोग ।

चिनियाँ सहयोगमा नुवाकोट, ललितपुर र तनहुँमा तेल भण्डारण केन्द्र निर्माणसम्बन्धी सम्झौता ।
सीमा व्यवस्थापन प्रणाली व्यवस्थापन ।

सुपुर्दगी सन्धि तथा अपराधसँग सम्बन्धित विषयमा आपसी कानुनी सहायता सन्धिबारे छलफल ।
मानवस्रोत विकास तथा चीनमा नेपाली छात्रवृत्ति बढोत्तरीसम्बन्धी विषय ।

(नयाँ पत्रिका दैनिक) 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...