दुधले बजार नपाउँदा सडकमा पोखिन्छ, उपभोक्तालाई बेचिन्छ पाउडर दूध

Milk

काठमाडौ‌ । किसानले गोठ र फार्ममा उत्पादन गरेको दूध अहिले बिक्री हुन छाडेको छ । उनीहरुले दुध सडकमा पोख्न थालेका छन् । तर बजारमा यतिबेला दुधजन्य पदार्थको माग भने बढ्दो छ ।

सामान्यतया वैशाख, जेठ र असारमा दूधको उत्पादन घट्छ। यी तीन महिना गर्मीका कारण दूध र दूधजन्य पदार्थ (दही, आइसक्रिम, पनिरलगायत) को खपत बढ्ने गर्छ । उद्योगीले बजार माग धान्न पाउडर दूधको उपयोग बढाएर बजार माग धान्ने गरेका थिए । यसपटक भने ठीक उल्टो भएको छ ।

चैत अन्तिमदेखि नियमित रूपमा वर्षा भएर घाँसे बाली सप्रेको र दुधालु गाई, भैँसीले बढी दूध दिएको नियमनकारी निकायको भनाइ छ । राष्ट्रिय दुग्ध विकास बोर्डका निमित्त कार्यकारी निर्देशक बाबुकाजी पन्तले उत्पादन घट्ने समयमा बढेकाले समस्या आएको बताए ।

किसानले उत्पादन गरेको दूध संकलन नहुनुको सहायक कारण उद्योगीले विदेशबाट सस्तो पाउडर दूध आयात गर्नु हो। अहिले दूध उत्पादन घट्ने भएकाले धेरै उद्योगले पहिले नै पाउडर दूध आयात गरेर राखेका थिए । त्यो पाउडर र मख्खन घोलेर बजार मागअनुसार आपूर्ति हुने गर्छ । तर, यसपटक उद्योगीले अहिले पनि भारतबाट सस्तो पाउडर किनेर ल्याइरहेको स्रोतको भनाइ छ।

भारतमा प्रतिकिलो ४ सय ५० देखि ५ सय रुपैयाँसम्म पुगेको पाउडर दूधको मूल्य अहिले ३ सय रुपैयाँ प्रतिकिलोमा झरेको छ । अवैध माध्यममा ल्याउनेहरूले अझ सस्तो मूल्यमा पनि ल्याइरहेका छन् । एक किलो पाउडरबाट १२ लिटर दूध बन्छ।

अर्थात् एक लिटर दूध बनाउन २५ रुपैयाँ लागत पर्न आउँछ । अहिले किसानलाई कच्चा दूधको भुक्तानी मूल्य ४५ रुपैयाँ प्रतिलिटरभन्दा बढी निर्धारण गरिएको छ । ‘स्वदेशी किसानलाई दिनुपर्ने दूधको मूल्यभन्दा पाउडर दूध झन्डै आधा सस्तो मूल्यमा पाएपछि केही उद्योगले पाउडर दूधको आयात बढाएका छन्,’ स्रोत भन्छ, ‘यसकारण किसानको दूध बिक्री नभएको हो ।’
स्वदेशी उद्योगीले कूल मागको ८० प्रतिशत आपूर्ति गर्न सकेका छन् । २० प्रतिशत आयात हुने गरेको छ ।

प्रतिकृया दिनुहोस