सांसदलाई तालिम दिन यूएनडीपीको ६० करोड

Undp

काठमाडौं । संसदमा अनावश्यक वाह्य लगानी र प्रभाव भित्रिरहेको चर्चा चलिरहेको बेला राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले सांसदलाई तालिम दिन भन्दै ६० करोड रुपैयाको सम्झौता गरेको छ ।
५ वर्षमा खर्च गर्ने गरी यूएनडीपीले ६० करोड रुपैयाँ सहयोग दिएको हो ।

यूएनडीपीले ‘पार्लियामेन्ट सपोर्ट प्रोजेक्ट’ अन्तर्गत सन् २०२२ डिसेम्बरसम्म खर्चने गरी संघीय संसद् सचिवालयसँग वैशाख १० मा सम्झौता गरेको हो ।

प्रदेश संसद् सचिवालयलाई सबल बनाउने, कर्मचारीको क्षमता विकास गर्ने, प्रदेश सदस्यलाई कानुन बनाउने र कार्यान्वयन गर्नेलगायत अन्य प्रक्रिया सिकाउनेजस्ता कार्यक्रम गर्नका लागि सचिवालयले सम्झौता गरेको हो ।

यूएनडीपीका अनुसार सन् २००८ देखि अघिल्लो वर्षसम्म दुई अर्ब १८ लाख रुपैयाँभन्दा बढी सहयोग उसले गरेको छ । पहिलो र दोस्रो संविधानसभामा सहभागी १ हजार ३ सय ४३ सांसदको क्षमता अभिवृद्धि गरेको, कम्प्युटर, सवारी साधन, संसदभित्रको ब्रोडकास्टिङ प्रणालीको विकास गरेको, फर्निचर, फोटोकपी मेसिन सहयोग गरेको यूएनडीपीले जनाएको छ ।

अघिल्लो संसद्मा पनि २४ वटा विधेयक बनाउन विज्ञको परामर्श दिन सहयोग गरेको, सार्वजनिक चासोका विषयको विधेयक छलफल गराएको, ४ सय ५३ सांसदलाई संसदीय प्रक्रिया सिकाएको, विभिन्न संसदीय समितिलाई स्वदेश र विदेश भ्रमण गराउनसमेत यूएनडीपीले सहयोग गरेको थियो ।

गत साताको दुईदिने प्रशिक्षण यूएनडीपीको खर्चमा भएको विषयलाई लिएर संसद् बैठकमा समेत विरोध भएपछि सचिवालय र यूएनडीपीबीच भएको ६० करोड सम्झौता सार्वजनिक भएको हो ।

 

प्रतिकृया दिनुहोस