हलो अड्काएर गोरु चुट्दै एकताको भजन गाउन व्यस्त राप्रपा नेताहरु

Rpp yekata

काठमाडौं । एउटै विचारधारा भएका पार्टीहरु बीचको एकता कुनै नौलो विषय पनि होइन । त्यसमा पनि एउटै पार्टीबाट भागबण्डामा कुरा नमिल्दा अलग्गिएका पार्टीहरु एक भएर काम गर्न खोज्नु पनि अस्वभाविक होइन ।

तर, नीतिगत र सिद्धान्तगत भन्दा जुँगाको लडाइँका कारण जुट र फुटको खेती गर्दै आएका तिन थरी राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरु फेरि एकताका लागि सल्बलाउन थालेका छन् ।

नीतिगत र सिद्धान्तलाई गौण मान्दै शक्तिको पुजा गर्दै आएका राप्रपाका अध्यक्षहरु नै एकताको पहलमा लागेका छन् । कुनै बेला शक्तिमा रहेका राप्रपा फुटेर तिन टुक्रा भएको छ । जसका कारण स्थानीय तहको निर्वाचन र प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा ‘पा’ पछारिएझै परारिन पुगेका थिए ।

त्यसपछि एकताको महसुस गरेझैं गरेका राष्ट्रिय प्रजातन्त्र पार्टीहरु फेरि सल्वलाउने थालेका छन् । राप्रपा (प्रजातान्त्रिक) ले बिचार मिल्ने दलहरूसँग एकता गर्न चार सदस्यीय कार्यदल नै बनाएको छ । यो कार्यदलको वरिष्ठ उपाध्यक्ष दीपक बोहरा छन् भने सदस्यहरुमा उपाध्यक्ष बिक्रम पाण्डे, महामन्त्री सुनिलबहादुर थापा र उच्चस्तरीय कार्यसम्पादन समितिका सदस्य ठाकुरप्रसाद शर्मा छन् ।

यो कार्यदलको काम भनेको समान बिचार भएका राजनीतिक दल, समूह, व्यक्तिसँग एकता, सहमति र सहकार्य गर्ने वातावरण बनाउने हो । यसले कार्यदलले कमल थापा नेतृत्वको राप्रपा, डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा (राष्ट्रवादी) लगायतका दलसँग वार्ता र सम्बाद गर्नेछ ।

छेपारोको कथाझै बन्दै 
निर्वाचनपछि पानी विनाको माछाझै बनेको तिन राप्रपाका नेताहरु सुरुका केही दिनमा भने एकताको पक्षमा पुगिसकेका थिए । तर नेतृत्व कसले लिने भन्ने विषय नै उनीहरुका लागि समस्या बन्ने गरेको छ ।

अघिल्लो वर्ष एकता महाधिवेसन गरेको राप्रपा नेताहरुबीचको आपसी बेमेलले गर्दा तीन टुक्रा बनेको थियो । अहिले पनि तिन वटै राप्रपा एकताको रटान रटिरहेका छन् । तर, एकताको रटान छेपारोको कथाझैं बनेको छ ।

एकाथरी नेताहरु कसरी नेतृत्व लिने भन्ने पक्षमा छन् भने एकाथरी नेताहरु एकताको बलमा आफ्ना मुद्दा कसरी स्थापित गराउने भन्ने पक्षमा छन् । अहिलेसम्म कसैले पनि एकता विरोधी कुरा गरेका छैनन् । तर, एकताको पहल पनि खासै गरेका छैनन् ।

डा. प्रकाशचन्द्र लोहनीको एराप्रपा (राष्ट्रवादी) विपी कांग्रेससँग एकता गर्न खुट्टा उचालेर बसेको छ । एकता अन्तिम चरणमा पनि पुगिसकेको छ ।

खासगरी अहिले नेताभन्दा पनि कार्यकर्ताहरुले एकताका लागि दवाव दिइरहेका छन् । ‘कार्यकर्ताको तहबाट पार्टी एकताको दबाब नेतृत्वलाई थेग्न गाह्रो भएको छ’ एराप्रपा (राष्ट्रवादी) सहप्रवक्ता जनकराज पाठक भन्छन्, ‘सबै कार्यकर्ताको विचार पार्टी एकता होस् भन्ने छ । तर, नेतृत्वबाट जति पहल हुनुपर्ने हो, त्यो भएको छैन ।’

लडाइँ अध्यक्षमै
राप्रपाका संस्थापक अध्यक्ष सूर्यबहादुर थापाले सबैलाई समेट्ने गरी चक्रीय प्रणालीबाट अध्यक्ष हुने सहमति गराएर पशुपति शमसेर राणा, डा. प्रकाशचन्द्र लोहनी र लोकन्द्रबहादुर चन्दलाई एकै ठाउँमा राखेका थिए ।

तर, केही समयमै त्यो प्रणाली मिचिएपछि लोकेन्द्रबहादुर चन्द आक्रोसित भएका थिए । त्यसपछि त्यो प्रणाली नै विफल बनेको थियो । अहिले फेरि को अध्यक्ष बन्ने भन्ने कुराले राप्रपा एकता भाँढिने अवस्थामा पुगेको छ ।

यदि पार्टी एकता सम्भव भएमा पशुपति शमसेर राणाले नेतृत्वको दावी छाड्ने छैनन् । उता राप्रपाका अध्यक्ष कमल थापाको दावी नै आफ्नो पार्टी मूल पार्टी भएकाले एककिृत पार्टीको अध्यक्ष आफु बन्ने प्रस्ताव गरिसकेका छन् ।

यता, राणा र थापालाई नेतृत्व सुम्पिनेपक्षमा छैनन् डा. लोहनी । उनको बुझाईमा दुबै जनाले पार्टीलाई कमजोर बनाएको कारण नेता तथा कार्यकर्ता निरास छन् । यसको अर्थ नेतृत्व आफुले लिनुपर्छ भन्ने हो ।

अध्यक्षको दावीकै कारण फेरि पनि राप्रपा एकता हुन नसक्ने धेरैको निष्कर्ष छ ।

बिचारमा बेमेल
केही समय अघिसम्म कट्टर हिन्दुवादी थिए राप्रपा अध्यक्ष थापा । तर, पछिल्ला केही दिनमा उनी ‘न हिन्दु, न धर्म निरपेक्ष’झै बनेका छन् । त्यसमा पनि राजतन्त्रको मुद्दा त उनले सतिमा चढाइसकेका छन् । तै पनि बेलाबखत हिन्दु धर्मको कुरा उठाउने गर्छन् ।

राणाले नेतृत्व गरेको पार्टी राप्रपा (प्रजातान्त्रिक) को अवस्था पनि उस्तै छ । उ हिन्दु राज्यको पक्षमा खुलेर लाग्न नसके पनि भित्री रुपमा हिन्दु राज्यको पक्षमा छ । तर, बिचारमा भने गणतन्त्रलाई अंगिकार गरेको छ ।

तर, डा. लोहनीको नेतृत्वको एराप्रपा (राष्ट्रवादी) ले भने हिन्दु राष्ट्र र राजसंस्थालाई आफ्नो मुख्य बटम लाइन बनाउँदै आएको छ । यी दुई वटा मुद्दाबाहेक अन्यमा सहमति भए मात्र पार्टी एकता हुने उसको ठम्याई छ ।

प्रतिकृया दिनुहोस