राजपा–फोरम मनमुटाव, सत्ता समिकरणमा कस्तो असर पर्छ ?

Foram rajapa

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) ले संघीय समाजवादी फोरम संघर्षको मैदान छाडेर सत्तामा गएको आरोप लगाएको छ ।

फोरम सरकारमा गएसँगै फोरम र राजपाबीच प्रदेश २ को सत्ता समिकरणमा असर पर्ने चर्चा चलेको छ । राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले भने आफ्नो पार्टी प्रदेश सरकारबाट नबाहिरिने बताएका छन् ।

उपेन्द्र यादव संविधान संशोधन गर्ने संघर्षको मैदान छाडेर सत्तामा गएको आरोप लगाउँदै राजकिशोरले त्यही कारण २ नम्बर प्रदेशबाट बाहिरिने कुरा नहुने बताए । उनले जतनताको म्यान्डेटअनुसार गठबन्धन निर्माण गरेको भन्दै फोरमको निर्णय र गतिविधिमा भर पर्ने पनि बताए ।

प्रदेश २ मा संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीको गठबन्धन सरकार छ । मुख्यमन्त्रीमा फोरमका लालबाबु राउत छन् । मुख्यमन्त्री राउतले शपथ लिने वेला पूर्वएमाले र पूर्वमाओवादी केन्द्र एकीकरणपछि अहिले नेपाल कम्युनिस्ट पार्टीले समर्थन गरेका थिए । तर, केही दिनअघि मात्र नेकपाले प्रदेश २ को सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ ।

केन्द्रमा जे–जस्तो राजनीतिक परिदृश्य देखिए पनि तत्काल फोरम र राजपा गठबन्धनको सरकार भने नढल्ने दुवै दलका नेताहरू बताउँछन् ।
नेकपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री राउतसँग फोरमका २९, राजपा २५ र स्वतन्त्र दुई गरी ५६ प्रदेश सभा सदस्यको समर्थन छ । प्रदेश २ मा बहुमतका लागि ५४ सिट भए पुग्छ । राजपाका २५ र फोरमको २९ गरी ५४ सिट पुग्छ । तर, राजपाले समर्थन फिर्ता लिएको अवस्थामा राउतको सरकार जोगाउन नेकपाले समर्थन गर्नुपर्छ ।

नेकपासँग ३२ सिट हुँदा राउतको सरकारलाई ६१ सिटको समर्थन हुन्छ । तर, फोरमका राउतलाई कांग्रेसको १९ सिट र स्वतन्त्र दुईजनाले समर्थन गरे पनि बहुमत भने पुग्दैन । त्यसकारण फोरमलाई दिएको समर्थन राजपाले फिर्ता लिएमा नेकपासँग सहकार्य अनिवार्य हुन्छ । फोरम र नेकपा दुवै दलले तत्काल कुनै संकेत नगरे पनि केही दिनमै दुवै दलको सरकार बन्न सक्ने बताइन्छ ।

राजपाले फोरम संसदीय दलका नेता तथा मुख्यमन्त्री राउतलाई गरेको समर्थन फिर्ता लिए पनि तत्काल सरकार भने ढल्दैन । संविधानको धारा १८८ अनुसार मुख्यमन्त्री राउतले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । त्यसो हुँदा राजपाले समर्थन फिर्ता लिएको ३० दिनसम्म राउतको सरकार रहन सक्छ ।

प्रतिकृया दिनुहोस