पेरिसडाँडामा नेकपाको जवसका कार्यालय, धुम्बाराहीमा सचिवालय

Ncp meet

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पेरिसडाँडा र धुम्बाराही दुबैतर्फ केन्द्रिय कार्यालय रहने गरी टुंगो लगाएको छ । तत्कालीन एमालेको धुम्बाराही र माओवादी केन्द्रको पेरिसडाँडास्थित कार्यालयलाई समानान्तर रूपमा प्रयोग गर्ने गरी टुंगो लगाइएको हो ।

नेकपा सचिवालय बैठकले पेरिडाँडामा अध्यक्षद्वय केपी ओली र प्रचण्ड, महासचिव विष्णु पौडेल, जनवर्गीय संगठन र पार्टीका विभिन्न आयोगको कार्यालय रहने टुंगो लगाएको नेकपाले जनाएको छ ।

केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार धुम्बाराहीमा अध्यक्षद्वयसहित सचिवालयका ९ सदस्यहरूको कार्यकक्ष व्यवस्थापन गरिने निर्णय भएको बताए । सचिवालय सदस्यका लागि फरक–फरक कोठामा कार्यकक्ष तयार गरिनेछ ।

कार्यालय व्यवस्थापनका लागि ४ सदस्यीय कमिटी गठन गरिएको नेता श्रेष्ठले जानकारी दिए । कमिटीमा विष्णु रिमाल, कृष्णगोपाल श्रेष्ठ, प्रह्लाद बुढाथोकी र श्रीराम ढकाल छन् । शुक्रबार महासचिव विष्णु पौडेल पेरिसडाँडा पुगेर कार्यकक्षमा बस्ने तयारी रहेको श्रेष्ठले जानकारी दिए । दुई अध्यक्षको कार्यकक्ष उस्ताउस्तै हुने गरी ‘डेकोरेसन’ गरिने भएको छ ।

धुम्बाराही कार्यालय भाडाको भएको र पेरिसडाँडामा पर्याप्त खाली ठाउँ रहेकाले पार्टीका धेरै काम भने पेरिडाँडा कार्यालयबाटै हुने छन् ।

 ३ जेठमा पार्टी एकता गरेर नेपाल कम्युनिस्ट पार्टी घोषणासँगै निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिए । ४ जेठमा ओली र प्रचण्डले पेरिसडाँडा र धुम्बाराही पार्टी कार्यालय संयुक्त रूपमा उद्घाटन गरे । तर, त्यसपछि दुवै अध्यक्ष कुनै पनि कार्यालयमा गएका छैनन्  । पार्टीका नेता–कार्यकर्तासँग भेटघाट ओलीले बालुवाटार र प्रचण्डले खुमलटार निवासमै गर्दै आएका छन् ।

प्रतिकृया दिनुहोस