प्रेमध्वज प्रधानलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरिने

Sundaradevi award

बनेपा । चौथो ‘सुन्दरादेवी सन्देश म्युजिक अवार्ड’ मा प्रेमध्वज प्रधानलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरिने भएको छ ।

सुन्दरादेवी सन्देश म्युजिक अवार्ड आयोजकले बुधबार काभ्रेको वनेपामा पत्रकार सम्मेलन गर्दै उक्त घोषणा गरेको हो । आगामी २६ जेठमा बनेपामा हुने अवार्ड वितरण समारोहमा प्रेमध्वजलाई ११ हजार १ सय ११ रुपैयाँ र सम्मान गरिने छ ।

यो वर्ष राम अविरल थापालाई रङ्ग पत्रकारिता सम्मान तथा पुरस्कार र शिवराम भण्डारीलाई लोक सञ्चारकर्मी सम्मान तथा पुरस्कार प्रदान गरिने भएको छ । सो पुरस्कारको राशी ५ हजार ५ सय ५५ रुपैयाँ र सम्मान रहेको छ । त्यसैगरी मच्छेश्वर सापकोटालाई दीर्घ कलाकारिता सम्मान र हरि कमाचार्यलाई कलाकारिता सम्मान प्रदान गरिने भएको छ ।

विभिन्न ३८ विधामा प्रदान गरिने यो अवार्डको लोक, आधुनिक, तामाङ सेलो, पपसहित गीत, सङ्गीत, शब्द, म्युजिक भिडियोलगायतमा उत्कृष्ट पाँचको मनोनयन केही दिन अघि सार्वजनिक गरिएको थियो ।

उत्कृष्ट पाँचबाट सार्वोत्कृष्ट एक छान्न भोटिङ पनि सुरु गरिएको आयोजकले जनाएको छ । ‘नेपाली गीत सङ्गीत हाम्रो पहिचान, सञ्चार संस्थाबाट कलाकार सम्मान हाम्रो अभियान’ भन्ने मूल नाराको साथ मोफसलको नुवाकोटबाट प्रकाशित हुने सुन्दरादेवी सन्देश साप्ताहिकको आयोजनमा हुन लागेको अध्यक्ष किरण अधिकारीले बताए ।

प्रतिकृया दिनुहोस