संविधान संशोधन नगर : मसाल

Mohan bikram singh

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(मसाल)ले संघीय समाजवादी फोरमलाई सरकारमा ल्याउन संविधान संशोधन गर्न नहुने बताएको छ ।

मसालका महामन्त्री मोहनविक्रम सिंहले एक विज्ञप्ति प्रकाशित गर्दै मधेशवादी दलहरुले भने अनुसार संविधानमा संशोधन गरेर फोरम सरकारमा सामेल हुने सहमति गरिएको भए त्यो अत्यन्त घातक कदम हुने बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ ‘मधेशवादीहरूले संविधानमा संशोधनका लागि जुन मागहरू उठाउँदै आएका छन्, ती राष्ट्रघाती भएको कुरा आम रूपमा थाहा भएको कुरा हो। यो पनि आम रूपमा थाहा भएको कुरा हो कि उनीहरूले भारतीय विस्तारवादको ग्राण्ड डिजाइनमा नै नेपालमा आन्दोलन चलाएका थिए र संविधानमा संशोधन गर्ने कुरामा जोड दिएका थिए ।’

महामन्त्री तत्कालिन सरकारले मधेशवादी दलहरुको माग सम्बोधन गर्न संसदमा संविधानको दोस्रो संशोधन प्रस्ताव गरेको बेलामा एमालेले संसदभित्र र बाहिर समेत संघर्ष गरेको उल्लेख गरेका छन् । उनले सरकारले मधेशवादीहरूका राष्ट्रघाती संविधानमा संशोधनका मागहरूलाई स्वीकार गरेमा त्यो एमालेको पहिलेको अडानका विरुद्ध तथा देशको राष्ट्रियता र राष्ट्रिय हितका विरुद्ध हुने चेतावनी समेत दिएका छन् ।

यदि सरकारले फोरमलाई सरकारमा ल्याउनकै लागि राष्ट्रघाती संशोधन गर्न तयार भएमा त्यसविरुद्ध देशब्यापी आवाज उठाउनुपर्ने कुरामा समेत सिंहले जोड दिएका छन् ।

प्रतिकृया दिनुहोस