यस्तो रह्यो ओली सरकारको ‘हनिमुन अवधि’

Oli 1

काठमाडौ‌ । केपी ओली नेतृत्वको सरकारले आफ्नो सय दिने यात्रा ‘हनिमुन अवधि’ पुरा गरेको छ । फागुन ३ देखि सुरू उनको सत्तायात्राले सय दिन पार गरेको छ। सय दिन भनेको संसद्मा प्रतिपक्षीले समेत सरकारको प्रारम्भिक सुरूवात कस्तो हुन्छ भनेर पर्खेर हेर्ने अवधि मानिन्छ ।

नयाँ संविधान जारी भएपछिको पहिलो निर्वाचनमा तत्कालीन वाम गठबन्धनले विजय हासिल गरेपछि केपी ओली दोस्रोपटक सरकारको नेतृत्व गर्दै सत्ताको बागडोर सम्हाल्न आइपुगे ।

यस अवधिमा ओली सरकारको ‘पर्फमेन्स’ कस्तो रह्यो त ? एक सय दिन सरकारको मूल्यांकन गरिहाल्न सकिने अवधि नभएपनि केही संकेत सकारात्मक देखिएका राजनीतिशास्त्रका प्राध्यापक लोकराज बरालले बताए । तर प्रधानमन्त्रीले बोकेका महत्वाकांक्षी योजनाहरुको भारी कसरी पूरा गर्नेछन्, हेर्नुपर्ने बरालको भनाई छ ।

एक सय दिनको अवधिमा सरकारको आगामी गति कस्तो हुन्छ भन्ने स्पष्ट खाका देखिएको छ। चुनावी भाषण र सार्वजनिक मञ्चमा प्रधानमन्त्री र मन्त्रीहरूले बोल्ने गरेका विषय अब सरकारकै योजनाका रूपमा लिपिबद्ध भएर संसद्मा नीति तथा कार्यक्रममा आएका छन् ।

सरकारले नीति तथा कार्यक्रमको माध्यमबाट महत्त्वाकांक्षी लाग्ने योजना र कार्यक्रम ल्याएको छ। आगामी वर्ष नै करिब दोहोरो अंकको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य निर्धारण गरेको छ । १० वर्षभित्र मध्यमस्तरको मुलुकमा स्तरोन्नति गर्ने, ५ वर्षभित्र मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउने योजना सरकारले अघि सारेको छ।

ओली नेतृत्वको सरकारले सुरुदेखि नै विगतमा बिग्रिएको छिमेकी मुलुक भारतसँगको सम्बन्ध सुधारलाई प्राथमिकतामा राख्यो । त्यसकै परिणाम तीन महिना अवधिभित्र प्रधानमन्त्री ओलीमात्र भारत गएनन्, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसमेत नेपाल आए।

प्रधानमन्त्री ओलीले सुशासन र भ्रष्टाचार नियन्त्रणलाई पनि आफ्नो प्राथमिकतामा रहने बताएका छन् । त्यसअनुसार एक सय दिन अवधिमा केही क्षेत्रका विकृति पहिचान भएका छन्।

ओली प्रधानमन्त्री बन्दा वाम गठबन्धनका उम्मेदवार थिए । तर अहिले नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलका नेतासहितको प्रधानमन्त्री बनेका छन् । गठबन्धन खटपटले सरकार फेरिने हो कि भन्ने आशंका अब रहेन । यही सय दिनको अवधिमा सत्ता सहयात्री तत्कालीन एमाले–माओवादी एकीकरण भइसकेको छ। एकीकृत पार्टीका नेताका रूपमा प्रधानमन्त्री बनेकाले अब सरकार झन् बलियो भएको छ ।

प्रतिकृया दिनुहोस