एमाले–माओवादी एकतासँगै असन्तुष्टि बढ्दै

Ncp underline

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएर नेपाल कम्युनिष्ट पार्टी बनेसँगै कतिपय नेताहरुमा असन्तुष्टि समेत बढेको छ ।

पार्टी एकता घोषणा कार्यक्रममा पूर्व प्रधानमन्त्री एवं तत्कालिन एमालेका बरिष्ठ नेता झलनाथ खनाल अनुपस्थित रहे । ब्यक्तिगत कामका सिलसिलामा चीन रहेका भएपनि पार्टी एकताप्रति खासै रुची नदेखाएको स्रोतले बताएको छ । पार्टी एकताप्रति रुची नदेखाएका खनाललाई वरियताक्रममा समेत पछि पारिएको छ । यो विषय आगामी दिनमा थप असन्तुष्टि बढाउने कारक हुनसक्ने देखिन्छ ।

यस्तै, शुक्रबार नवगठित पार्टीका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको पदभार ग्रहणमा ९ सदस्यीय हाइकमाण्डका सदस्य ईश्वर पोखरेल अनुपस्थित भए । पोखरेलको अनुपस्थिति दिनभर चर्चाको विषय बन्यो ।

ओली र प्रचण्डसहित सचिवालय सदस्यहरु माधव नेपाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा बादल र विष्णु पौडेल धुम्बाराहीदेखि कोटेश्वरसम्मसँगै थिए । तर दुवै कार्यालयमा पोखरेल भने देखिएनन् ।

पोखरेल शुक्रवार दिनभर रक्षा मन्त्रालयमै रहेको स्रोतले जनाएको छ । पोखरेल दुई अध्यक्षको पदवहालीमा जान नसक्नु संयोग हो वा सांकेतिक असन्तुष्टि भन्ने खुलेको छैन । एकीकृत पार्टीको महासचिवमा विष्णु पौडेलको इन्ट्रीसँगै पार्टी पंक्तिमा तरंग उत्पन्न भएको छ ।

उनी ओली सरकारमा उपप्रधानमन्त्री सहित अर्थमन्त्री बन्ने चाहनामा थिए । तर, ओलीले उनलाई रक्षामन्त्री मात्र बनाए । एमालेको निर्वाचित महासचिव पोखरेल पार्टी एकतासँगै महासचिव पद पनि गएपछि पोखरेल असन्तुष्ट बनेको तत्कालिन एमालेका नेताहरुले बताएका छन् ।

यता, एमाले र माओवादी केन्द्रलाई मिलाउन पार्टी एकीकरणमा ठूलो भूमिका खेलेका माओवादी केन्द्रका नेता जनार्दन शर्माले चरम असन्तुष्टि जनाएका छन् । नौ सदस्यीय हाइकमाण्डमा सदस्य समेत नराखिएपछि शर्माले आक्रोश व्यक्त गरेका हुन् ।

शर्माकै दवाव र सल्लाहमा पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग पार्टी एकीकरण गर्न तयार भएका हुन् । यद्यपि, विहीबार पार्टी एकीकरण हुँदै गर्द शर्मालाई एमाले र माओवादी दुबै दलका शीर्ष नेताहरूले धेरै महत्व दिएनन् ।

पार्टी एकताका लागि दिनरात खटेका शर्मालाई नेताहरुले महत्व नदिएपछि उनी रुष्ट बनेको स्रोतले जनाएको छ । नौँ सदस्यीय हाइकमाण्डबाट शर्माको नाम हटाइएको थियो । 

प्रतिकृया दिनुहोस