एमाले माओवादी मिल्दा कांग्रेसमा हलचल

'अब ५ वर्षका लागि सरकारको ढोका बन्द'

Nepali congress party office

काठमाडौं । गत प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेस सभापति शेरबहादुर देउवाले भनेका थिए, ‘म फेरी पनि प्रधानमन्त्री बन्छु । ज्योतिषीले मलाई सात चोटी प्रधानमन्त्री हुन्छस् भनेको छ ।’

त्यसको अर्थ वाम गठबन्धन बनाएर चुनाव लडेका एमाले माओवादी आपसमा मिल्दैनन् र फेरी पनि उनीहरुलाई फुटाएर कांग्रेसकै नेतृत्वमा सरकार बनाउन सकिन्छ भन्ने थियो । तर, एमाले माओवादीको मिलनले देउवाको त्यो सोचाईलाई गलत मात्र सावित गरेन, पाँच वर्षका लागि सत्ताको ढोका नै बन्द गरिदियो ।

अब, अहिलेकै अवस्थामा पाँच वर्षपछि पनि चुनाव जित्न सकिंदैन भन्ने मनोविज्ञान कांग्रेसमा बढेको छ । एमाले माओवादी मिल्दा कांग्रेसको एउटा पंक्तिले आन्तरिक राजनीतिमा ठूलो फेरबदल आउने अपेक्षा गरेको छ । कांग्रेसको ठूलो पंक्तिलाई अहिले जे भइरहेको छ, त्यतिको भरमा जित्न सकिँदैन भन्ने भाव आउँछ र यसले पार्टीमा ठूलो परिर्वतन ल्याउँछ ।

किनभने देउवाले अहिलेसम्म एमाले र माओवादी मिल्दैनन्, मिल्न सक्दैनन् भन्दै आएका थिए । यसले कुनै पनि कांग्रेस माओवादीको सरकार बन्न सक्छ, देउवा प्रधानमन्त्री हुनसक्छन् भन्ने देखाउँथ्यो र देउवा बलियो भइरहन्थे ।

तर, बिहीबार दुई पार्टीको एकता घोषणा भएसँगै अब ५ वर्षका लागि सरकारको ढोका बन्द मात्र भएको छैन, यथास्थितिमा ५ वर्षपछि हुने आम चुनावमा कम्युनिष्ट पार्टीसँग प्रतिस्पर्धा गर्न सकिन्न भन्ने मत बलियो हुनेछ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘कम्युनिष्टहरु विभाजित छन्, जनमत पनि विभाजित छ । त्यसको बीचबाट हामी आइरहेका छौं, यसरी नै चल्छ भन्ने मनोविज्ञानबाट कांग्रेस मुक्त भएको छ । अब कांग्रेसले रुपान्तरणको यात्रा तय गर्दै कम्युनिष्टहरुको एकताकै बीचमा आफू विजयी हुनुहुन्छ भन्ने दबाव बढ्छ ।’

यस्तै, कांग्रेसमा यो आशंका बढेको छ कि अब सिंगो राज्यसत्ता आफूप्रति एकदमै अनुदार हुनेछ । वाम गठबन्धनको बहुमत आएसँगै धेरथोर यो डर थियो नै तर, पार्टी एकता नै भएपछि सिंगो राज्यसत्ता नै अनुदार भएर जान्छ, हरेक क्षेत्रमा पेल्दै जान्छ भन्ने आशंका झन् बढेको छ ।

उनीहरुको ‘कांग्रेस प्रतिस्पर्धी रहेन, सहयोगी मात्र’ भन्ने केपी ओलीको पछिल्लो अभिव्यक्तिलाई त्यसको संकेत मानेका छन् ।

त्यसमा सहमत देखिएका कांग्रेस नेता रिजालले पनि दुई कम्युनिष्ट पार्टी मिलेपछि शासन सञ्चालन कसरी गर्छन् हेर्नुपर्ने बताउँछन् । ‘सत्ता जहिले पनि जसको पनि पेल्ने, मिच्ने खालको हुन्छ । त्यसमाथि दुई कम्युनिष्ट पार्टी । प्रधानमन्त्री ओलीको काम गर्ने शैली पेल्ने खालको नै देखिन्छ’ उनले भनेका छन् ।

कांग्रेस नेता मिनेन्द्र रिजाल भन्छन् ‘हिजोको झापा विद्रोह वा सशस्त्र विद्रोहका पूरा नभएको एजेण्डा पुरा गर्नु छ भन्ने सोच भयो भने स्वभाविक छ, संसदमा यति ठूलो उपस्थिति र काम गर्ने शैलीले लोकतन्त्रका आधारभूत मूल्य र मान्यताप्रति प्रतिवद्ध रहन्छु भन्दाभन्दै नरहने खतरा बढेर जान्छ । त्यसप्रति हामी सचेत छौं ।’

एकताअघि नै लोकतान्त्रिक प्रतिवद्धता भन्दा सत्ताको तागतको ध्वनि बढी आउन थालेको उनले सुनाए । ‘मैले भनेको नमान्नेलाई पेल्नुपर्छ, यसकारण कि जनताको मत मसँग छ, पेल्ने मत पाएको छु भन्ने उहाँहरुको ब्याख्या रहृयो भने स्वभाविक रुपमा अभिनायकवादी बाटोमा जानुहुन्छ । यो सबैका लागि दुःखद हुनेछ’ रिजालले भने ।

 

प्रतिकृया दिनुहोस