अण्डरलाइन ‘नेपाल कम्युनिष्ट पार्टी’ दर्ताका लागि आयोगमा

तत्कालीन कार्यक्रम ‘जनताको जनवाद’

Maoist uml unification

काठमाडौं । नेकपा एमाले र माओवचादी केन्द्रबीच पार्टी एकता भएर ‘नेपाल कम्युनिष्ट पार्टी’ बनेको छ । बिहीबार राजधानीमा कार्यक्रम गरी पार्टी एकताको घोषणा गरिएको हो ।

पार्टी एकता पछि निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि पार्टीका अध्यक्षद्वय केपी ओली र प्रचण्डले आयोगमा निवेदन दिएका छन् । दुई दलबीच एकीकृत पार्टीेकको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ राख्ने सहमति गरेका छन् ।

तर, निर्वाचन आयोगमा ऋषी कट्टेल नेतृत्वको ‘नेपाल कम्युनिष्ट पार्टी’ यसअघि नै दर्ता छ । त्यसैले दल दर्ताका क्रममा ‘नेपाल कम्युनिष्ट पार्टी’लाई अण्डरलाइन गरेर निवेदन दिइएको छ ।

पार्टी एकतासँगै ४४१ सदस्यीय केन्द्रीय समिति घोषणा गरिएको छ । यस्तै ९ सदस्यीय हाईकमाण्ड पनि बनाइएको छ । हाईकमाण्डमा अध्यक्षद्वय केपी ओली र प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामवहादुर थापा बादल र बिष्णु पौडेल रहेका छन् ।

पार्टी एकीकरण कार्यक्रममा पूर्व प्रधानमन्त्री एवं एमालेका पूर्व अध्यक्ष झलनाथ खनाल भने देखिएनन् । उनी ब्यक्तिगत कामले चीन गएको स्रोतले जनाएको छ । यसअघी एमालेमा दोस्रो बरियतामा रहेका नेता खनाल अहिले एकीकृत पार्टीको तेस्रो बरियतामा झरेका छन् । पार्टी एकता प्रक्रियामा कुनै भूमिका निर्वाह नगरेको र एकीकरणको ऐतिहासिक क्षणलाई समेत उपेक्षा गरेर निजी काममा हिडेपछि उनको बरियता तल पारिएको स्रोतले जनाएको छ ।

ओली र प्रचण्डबीच पछि दोस्रो बरियतामा माधव नेपाल रहनेछन् ।नेकपाको शीर्ष बरियतामा ओली र प्रचण्डको हैसियत समान बरियतामा रहनेछ ।

पार्टी एकता घोषणाअघि ओली र प्रचण्डले अणुवमले पनि मार्न नसक्ने विरुवा रोपेर पार्टी एकताको उद्घोष गरेका थिए । सो अवसरमा अन्य नेताहरुले पनि विरुवामा पानी हालेर पार्टी एकता अणुवमहरुले पनि ध्वस्त नगर्ने गरी बलियो बनाउने प्रतिबद्धता व्यक्त गरे ।

जिन्को प्रजातिको बनस्पतिले वर्षमा तीनपटक रंग फेर्छ । जिन्को विश्वकै पुरानो वनस्पति मानिन्छ । यो बिभिन्न औषधीहरु बनाउन पनि प्रयोग हुन्छ । यसको अस्तित्व २७० मिलियन वर्षअघि पृथ्वीमा रहेको वैज्ञानिकहरुले बताएका छन् ।

तत्कालीन कार्यक्रम ‘जनताको जनवाद’
एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा कम्युनिष्ट पार्टीको तत्कालीन कार्यक्रम ‘समाजवाद उन्मुख जनताको जनवाद’ हुने भएको छ ।

एमालेले जनताको बहुदलीय जनवाद र माओवादीले २१ औं सताब्दीको जनवाद भन्दै आएको थियो । पार्टी एकताको ६ बुँदे घोषणापत्र पढ्दै गर्दै पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको तत्कालीन कार्यक्रम ‘समाजवाद उन्मुख जनताको जनवाद’ हुने बताए ।

स्रोतका अनुसार एमालेले भन्दै आएको जनताको बहुदलीय जनवाद र माओवादीको माओवाद दुवैलाई आगामी महाधिवेशनसमा बहसमा लगिने भएको छ ।

अहिले अघि सारिएको समाजवाद उन्मुख जनताको जनवादको अन्तरवस्तु भने जबज र एक्काइसौं शताव्दीको जनवादबाटै लिइएका छन् । नाममा विवाद हुनेभएपछि बहुदलीय भन्ने शब्द हटाएर जनताको जनवाद भनिएको हो ।

प्रतिकृया दिनुहोस