बजेट भाषण लगत्तै ओलीको चीन भ्रमण तयारी

Oli jingping

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण तयारी थालिएको छ । जेठ १५ गते गरिने बजेट भाषण लगत्तै प्रधानमन्त्री चीन जाने गरी तयारी थालिएको परराष्ट्र स्रोतले जनाएको छ । भ्रमण जुन महिनामै गर्ने विषयमा दुवै देशबीच कूटनीतिक तहमा छलफल चलिरहेको छ।

परराष्ट्र स्रोतका अनुसार प्रधानमन्त्रीको चीन भ्रमण क्रममा कम्तीमा ६ वटा सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर गर्ने तयारी गरिएको छ । पारवहन यातायात सम्झौताको प्रोटोकल, नेपाल–चीन खुला व्यापार सम्झौताका लागि संयुक्त सम्भाव्यता अध्ययनसम्बन्धी समझदारीपत्र, संयुक्त समन्वय तथा कार्यान्वयन संयन्त्रसम्बन्धी समझदारीपत्र, लगानी तथा उत्पादन क्षमतासम्बन्धी समझदारीपत्र, तेल भण्डारण सुविधा निर्माण गर्ने सम्बन्धी सम्झौतापत्र र ऊर्जा क्षेत्रमा सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुन लागेको हो ।

प्रधानमन्त्रीको चीन भ्रमणको आवश्यक तयारीका लागि एक महिनाअघि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली चीन गएका थिए । चीन भ्रमणका बेला उनले चिनियाँ पक्षलाई नेपाल र चीनबीच आउँदा दिनमा यातायात तथा कनेक्टिभिटी, कृषि, उद्योग तथा प्रविधि स्थानान्तरण, मानव क्षमताको अधिकतम प्रयोग, प्राकृतिक स्रोत तथा वातावरण र व्यापार तथा लगानी गरी पाँच क्षेत्रमा सहकार्य हुनुपर्ने बताएका थिए ।

यसका साथै भ्रमणका बेला २०७२ चैतमा केपी शर्मा ओलीले प्रधानमन्त्रीका रुपमा चीन भ्रमण गर्दा भएका सम्झौता तथा समझदारी कार्यान्वयनमा जोड दिइनेछ । दुई वर्षअघि ओलीको बेइजिङ बसाइमा नेपाल–चीनबीच १० वटा समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

त्यतिबेला नेपाल र चीनबीच भएका समझदारी तथा सम्झौतामा पारवहन तथा यातायात, स्वतन्त्र व्यापार, ३२ हजार घरधुरीलाई सोलार प्लान्ट जडान, पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण, पोखरा विमानस्थलका लागि २१ अर्बलगायतको २५ प्रतिशत अनुदान, पोखरा विमानस्थलका लागि चिनियाँ बैंकको सहुलियत ऋण, नेपालमा ग्यास तथा पेट्रोलियम अन्वेषण समझदारी, पेटेन्ट राइट, बैंकिङ रेगुलेसन (शाखा सेवा आदानप्रदान) र हिल्सा–यारी जोड्ने पुल निर्माण रहेका थिए । भ्रणका बेला यी सम्झौता तथा समझदारीको कार्यान्वयनको समीक्षा पनि गरिने स्रोतले जनायो ।

प्रतिकृया दिनुहोस