यस्तो छ एमाले–माओवादी एकता कार्यसूची

Oli prachanda 1

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच आज पार्टी एकता हुने नेताहरुले बताएका छन् । बुधबार एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भएको वान टु वान वार्ता दुबै दलमा अनुमोदन गरिएको छ ।

एमालेले पार्टी एकतापछि निर्माण हुने नयाँ पार्टीको केन्द्रीय समितिको खाका तयार गरेको छ । स्थायी कमिटी बैठकले प्रस्तावित पार्टीको स्थायी समितिमा ४३ जना रहने निर्णय गरेको छ । जसमा एमालेको तर्फबाट २५ जना रहने र माओवादी केन्द्रको तर्फ १८ जना रहने निर्णय गरेको छ । त्यस्तै केन्द्रीय समितिमा ४४१ जना रहने निर्णय गरेको छ, जसमा एमालेको तर्फबाट २ सय ४१ र माओवादी केन्द्रको तर्फबाट २ सय जना रहने निर्णय गरेको हो ।

पार्टीको चुनाव चिन्ह भने सूर्य रहने एमाले–माओवादीबीच यसअघि नै सहमती भईसकेको जनाइएको छ ।

यस्तै, दुई दलको कार्यदलले तयार गरेको प्रतिवेदनमा पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी रहने, माक्र्सवाद लेनिनवादी सिद्धान्त अवलम्बन गर्ने, महाधिवेशनसम्म जनताको बहुदलीय जनवाद र एक्काइसौँ शताब्दीको जनवादलाई विधिवत् बहसमा लाने, पालैपालो नेतृत्व (सहअध्यक्ष) गर्ने लगायत विषयमा सहमति भइसकेको छ ।

यस्तो छ कार्यसूचि

विहान ८ बजे मदननगर बल्खुमा मदन स्मृति दिवस मनाउने, जहाँ प्रचण्ड पनि सामेल हुनेछन् ।
१० बजे पार्टी एकता संयोजन समितिको बैठक बस्ने ।
११ बजे एमालेको केन्द्रीय समितिको बैठक बस्ने ।
१ बजे माओवादी केन्द्रीय कार्यलय बैठक बस्ने ।
३ बजे सकेसम्म एकीकृत पार्टी दर्ताका लागि निर्वाचन आयोग जाने ।
४ बजे पत्रकार सम्मेलन गरेर एकताको घोषणा गर्ने ।

गत असोज १७ गते चुनावी गठबन्धनमा सामेल यी दुई वाम दलले स्थायित्व, शान्ति, स्थिरता, समानता र समृद्धिका लागि एकीकृत हुने घोषणा गरेका थिए ।पछिल्लो पटक वैशाख ९ गते पार्टी एकता गर्ने भनिए पनि टरेको थियो । त्यसपछि नेताहरूबीच दूरी बढ्दै गएको थियो ।

प्रतिकृया दिनुहोस