मुख्यमन्त्रीको अभिव्यक्तिप्रति सांसदको कटाक्ष ‘गाजल आँखामा लाए सुन्दर हुन्छ, गालामा लाए कालोमोसो’

Pradesh no.2

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिनन्दनका क्रममा दिएको अभिव्यक्तिले प्रदेश सभा तातेको छ । प्रदेश सभामा सांसदहरुले मुख्यमन्त्री राउतको अभिव्यक्तिले राष्ट्रिय स्वाधिनतामा आँच पुर्याएको भन्दै विरोध गरेका छन् ।

मधेस केन्द्रित दल संघीय समाजवादी फोरम र राजपा नेपालले मुख्यमन्त्रीको अभिव्यक्तिको बचाउ गरे भने नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसदहरुले विरोध जनाएका छन् ।

जनकपुरमा भएको नरेन्द्र मोदीको नागरिक अभिनन्दनका क्रममा मुख्यमन्त्री राउतले प्रदेश २ केन्द्र सरकारको विभेदका कारण पछि परेको र विभेदकारी संविधानका विरुद्ध आफूहरुको संघर्ष जारी रहेको अभिव्यक्ति दिएका थिए ।

नेपाली कांग्रेसका सांसद शिवचन्द्र चौधरीले भने मुख्यमन्त्रीको अभिव्यक्ति असान्दर्भिक भएको बताए । ‘गाजल आँखामा लगाउदा राम्रो देखिन्छ, त्यही गाजल अनुहारमा लाग्यो भने कालोमोसो हुन्छ’ उनले भने ‘प्रदेशको समस्या विदेशी पाहुनाको अगाडि राखनु कतिको उचित हो ?’ सांसद चौधरीले भारतीय प्रधानमन्त्री मोदीलाई नेपालको प्रदेशको नेपालको समस्याबारे जानकारी गराइराख्नुपर्ने आवश्यकता नै नभएको बताए ।

बैठकमा संघीय समाजवादी फोरमका सांसद रामआशिष साहले मुख्यमन्त्रीले प्रदेशको गरिमा र जनताको भावना अनुसार बोलेको भन्दै उनको बचाउ गरे । यस्तै, राजपा नेपालकी सांसद डिम्पलकुमारी झाले मुख्यमन्त्रीको भनाइको विषयमा पहाडीहरुले मात्र नराम्रो टिप्पणी गरेको आरोप लगाइन् । सांसद झाले मुख्यमन्त्रीको अभिव्यक्ति प्रदेश २ को जनताको पक्षमा ठीक भएको भन्दै केन्द्र सरकारलाई पनि टाउको नदुखाउन आग्रह गरिन् ।

त्यसको प्रतिवाद गर्दै कांग्रेस सांसद शोभा लामाले सांसद डिम्पल झाले पहाडी समुदायप्रति गरेको टिप्पणीको विरोध जनाइन् । ‘माननीयज्यूले पहाडीको किन टाउको दुख्यो भन्नू राम्रो होइन, मधेसमा पहाडी बसेका छन्, पहाडमा मधेशी बसेका छन् । त्यसरी दिने अभिव्यक्तिले बिखण्डन ल्याउँछ’ उनले भनिन् ।

नेकपा एमालेकी सांसद मञ्जु यादवले नरेन्द्र मोदीको नागरिक अभिनन्दनमा राष्ट्रिय गान नबजाएकोमा विरोध जनाइन् । ‘औपचारिक कार्यक्रम थियो । राष्ट्रिय गान किन बजाइएन । कस्को गल्ती हो ?’ उनले प्रश्न गरिन् ।

कांग्रेस, एमाले र माओवादी सांसदहरुले भाजपा सांसद कृति आजादले मोदी जनकपुर फिर्ता माग्न गएको भनी दिएको अभिव्यक्तिको प्रदेशसभाले आपत्ति जनाउनुपर्ने धारणा पनि राखेका थिए । उनीहरुले अभिनन्दन कार्यक्रममा मैथिली भाषा प्रयोग नगरिएको र उपमहानगरपालिकाले अभिनन्दन गर्दा प्रदेश सरकारका मन्त्रीले कार्यक्रम उद्घोषण गर्नु कत्तिको उचित हो भनी प्रश्न गरेका थिए ।

जनकपुर उपमहानगरपालिकाले गरेको मोदीको नागरिक अभिनन्दन कार्यक्रमको उद्घोषण प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनलले गरेका थिए ।

प्रतिकृया दिनुहोस