अबैध काठ कारोबारमा सांसद दोषी ठहर, एक वर्ष जेल सजाय

Kundan kusbah

रौतहट । रौतहट जिल्लाको प्रदेश सभा ३ ख बाट निर्वाचित माओवादीका सांसद कुन्दन कुसवाह वनमुद्दामा दोषी ठहर भएका छन् । कुसवाहलाई उच्च अदालत हेटौंडाले एक वर्षको जेल सजाय सुनाएको छ । अदालतले गरेको दण्ड जरिवानाको जानकारी जिल्ला प्रहरी कार्यालयलाई पठाएको छ ।

बाराको साविक पिपरा सिमरास्थित पथलैया चोकमा सवारी चेकजाँचका क्रममा २०६९ असोज २ गते बिहान जिल्लाको कटहरिया बजारबाट कास्कीको पोखरा जान लागेको ना ४ ख ४६४० नम्बरको ट्रकमा अनुमतिबिनाको सालको चिरान काठ २ सय ६५ थानको ४ सय ६९ क्यूफिट र ८ क्विन्टल स्ट्रिप बरामद भएको थियो । त्रिपालले छोपेको ट्रकबारे प्रहरीले चेक गर्दा सालको चिरान काठ बरामद भएको थियो ।

उक्त काठ कटहरियास्थित न्यूएभरेष्ट समिलका काठधनी कुन्दनप्रसाद कुसवाहको रहेको चालक ईन्द्रबहादुर मानन्धरको बयानमा दिएका थिए ।
सो सम्बन्धमा वन कार्यालयले अनुसन्धान गरी जिल्ला अदालत रौतहटमा मुद्दा दायर गरेको थियो । जिल्ला अदालतले २०७१ असार २२ गते चालक मानन्धरलाई दोषी ठहर गर्दै ट्रकधनी साह र काठ धनी कुसवाहलाई सफाई दिइएको थियो ।

उक्त फैसलाको पुनरावैदन अदालत हेटौंडामा अपिल हुँदा चालक एउटैले धेरै परिणामको वनपैदवार ओसार पसार गर्न नसक्ने ठहर गर्दै जिल्ला अदालत बाराको फैसला उल्टाई सांसद कुसवाहलाई समेत एक वर्षको सजाय सुनाइएको हो ।

मुद्दा सर्वोच्चमा विचाराधिन रहेकै अवस्थामा उच्च अदालतले सांसद कुसवाहलाई कारबाही गर्न जिल्ला प्रहरीलाई भनेको हो । कुशवाहले पुनरावेदनको फैसला उपर ७० दिनको म्यादभित्र २०७३ साउन १६ गते सर्वोच्चमा अपिल गरेको बताए । सर्वोच्च अदालतमा विचाराधिन मुद्दाको दण्ड जरिवाना सम्बन्धमा पत्र पठाइएको थाहा पाउँदा आश्चर्यमा परेको कुसवाहले बताए । उनले अदालतको फैसला अनुसार बिगोबापत ५ लाख ५५ हजार ८ सय असी रुपैयाँबराबरको जेथा राखेको जनाए ।

सर्वोच्चमा मु्द्दा विचाराधिन रहेकै अवस्थामा उनले प्रदेशसभा सदस्यको निर्वाचनमा भाग लिएका थिए ।

प्रतिकृया दिनुहोस