नागरिकलाई सास्ती दिएर मोदीको स्वागत गर्ने तयारी

'प्रदेश २ मा सार्वजनिक, घर घरमा कलश राख्न प्रदेश सरकारको आदेश'

Modi 22

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भोली शुक्रबार नेपाल आउँदैछन् ।
मोदीको स्वागतमा जनकपुरसँगै काठमाडौंमा पनि तयारी तीव्र छ । स्वागतद्वारहरु बन्न थालेका छन्, महिनौंसम्म नबनेको सडक बनेको छ । सडकमा हिँडिरहेका सर्वसाधारणको कुनै परवाह नगरी धुलो उडाइएको छ र हतारहतार कालोपत्र गरिरएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सवारी हुने रुटमा रातारात कालोपत्र गरिएको छ । सिनामंगल तीनकुने खण्डमा कालोपत्र भइरहेको छ । पिच गर्नुअघि सडक सफा गर्ने क्रममा उडेको धुलाले बाटोमा हिँडेकाहरु निसास्सिँदा समेत कुनै परवाह गरिएको छैन ।

१२ वैशाख २०७२ को विनाशकारी भूकम्पका बेला भासिएको त्रिभुवन विमानस्थल अगाडिको सडक लामो समयसम्म त्यसै रहृयो । नजिकै ठूलो भवन बनेपछि सडक थप भासियो तर, महिनौंसम्म मर्मतसम्भार भएन । बिहीबार साँझ हतारहतार भासिएको सडक सम्याउन थालिएको छ । यस्तै, अवस्था काठमाडौंका अन्य स्थानको पनि छ ।

यता, मोदी आएका बेला जनकपुरमा मास्क लगाएर हिँड्न निषेध गरिएको छ । मोदीको भ्रमण कार्यक्रमलाई दृष्टिगत गरी वैशाख २८ गते बिहान १० बजेदेखि हेलमेट, झोला, पोका र मास्क लगाउन प्रतिबन्ध गरिएको प्रहरीले सूचना निकालेर जानकारी दिएको छ । मोदीको नागरिक अभिनन्दन हुने ठाउँ बाह्रविघा मैदानमा पनि हेलमेट र मास्क लगाएर नजान आग्रह गरिएको छ ।

प्रहरीको सूचनामा भनिएको छ ‘त्यस्तो निषेध गरिएको सरसामान लिई प्रवेश गरेको पाइएमा तत्काल सुरक्षाकर्मीले नियन्त्रणमा लिइ कारबाही अगाडि बढाइने जानकारी गराइन्छ ।’

मोदीको स्वागतका लागि भन्दै भोली प्रदेश २ मा सार्वजनिक बिदा दिइएको छ भने, घर घरमा कलश राख्न प्रदेश सरकारले आदेश दिएको छ ।

 

 

प्रतिकृया दिनुहोस