४१ भारतीय सुरक्षाकर्मी अत्याधुनिक हतियारसहित काठमाडौंमा

Indian ssb

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षाका लागि अत्याधुनिक हतियारसहितका भारतीय सुरक्षाकर्मी काठमाडौं आएका छन् । भारतीय मन्त्रिपरिषद् सचिवालयअन्तर्गत स्पेसल प्रोटेक्सन ग्रुप (एसपीजी) अन्तर्गतका अत्याधुनिक हतियारसहितका ४१ जना सुरक्षाकर्मी काठमाडौं आएका हुन् ।

नेपालमा रहँदा मोदीले चढ्ने दुईवटा बुलेट प्रुफ गाडीसमेत भारतीय पक्षले नै ल्याएको छ । भारतीय वायुसेनाको चार्टर जहाजले मंगलबार मोदी भ्रमणका लागि आवश्यक सुरक्षाकर्मी, हतियार, गाडीलगायत सामग्री ल्याएको हो ।

भारतबाट आएका सुरक्षाकर्मीले नेपाली सेनासँगको समन्वयमा प्रधानमन्त्री मोदीलाई सुरक्षा प्रदान गर्नेछन् ।

हतियारसहित नेपाल आएका भारतीय सुरक्षाकर्मी नेपाली सेनासँगको समन्वयमा मोदीको सुरक्षाका लागि अग्रस्थानमा खटिनेछन् । भारतीय पक्षले प्रधानमन्त्री मोदी जाने स्थान जनकपुर, काठमाडौं र मुस्ताङको मुक्तिनाथमा पनि बेग्लाबेग्लै समूहमा सुरक्षाकर्मी खटाएको छ ।

मोदीको सुरक्षाका लागि ल्याइएका हतियारको संख्या र प्रकृतिबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयलाई लिखित जानकारी गराएको भन्सार विभाग स्रोतले बताएको छ । तर सुरक्षा संवेदनशीलता भन्दै यस विषयमा थप बताइएको छैन ।

प्रतिकृया दिनुहोस