नाकाबन्दी गर्ने मोदीलाई किन गर्ने अभिनन्दन ? : नागरिक अगुवा

Oli modi

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नागरिकको नाममा सरकारले अभिनन्दन गर्ने तयारी गरेकोप्रति नागरिक अगुवाहरु आक्रोशित भएका छन् ।

नागरिक अगुवाहरुले नेपालमाथि नाकाबन्दी गरेर मानवीय संकट सिर्जना गरेको भन्दै मोदीलाई अभिनन्दन नगर्न काठमाडौँ महानगरपालिका र जनकपुर उपमहानगरपालिकालाई आग्रह गरेका छन् । मंगलबार प्रा.डा. सुरेन्द्र केसी, बरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, डा.सुरेन्द्र भण्डारी, डा. अरुणा उप्रेतीलगायत २४ जना नागरिक अगुवाहरुले संयुक्त वक्तव्य जारी गरेर सो आग्रह गरेका हुन् ।

उनीहरुले नाकाबन्दीका कारण नेपालले भोग्नु परेको आर्थिक र मानवीय क्षतिको लेखाजोखा गरी नेपाललाई क्षतिपुर्ती दिनुपर्ने माग समेत गरेका छन् ।

नाकाबन्दीबाट नेपालमा भएको मानवीय संकट र व्यापार घाटाको छानविन गर्न भारत तयार हुनुपर्ने, नाकाबन्दीका कारण नेपालले भोग्नु परेको आर्थिक, मानवीय एवं सामाजिक क्षतिको लेखाजोखा गरी नेपाललाई क्षतिपूर्ति दिनुपर्ने उनीहरुको माग छ ।

‘यो निश्चितताविना मोदीजीलाई गरिने अभिनन्दनलाई नागरिक अभिनन्दन नभनियोस् भन्ने आग्रहसहित जनकपुर उप–महानगरपालिका तथा काठमाडौं महानगरपालिकाको ध्यान आकर्षण गराउन चाहन्छौँ” संयुक्त विज्ञप्तिमा भनिएको छ ।

यही बैशाख २८ गते दुई दिने नेपाल भ्रमणमा आउन लागेका भारतीय प्रधानमन्त्री मोदीलाई नागरिकको नाममा सरकारले अभिनन्दन र स्वागत गर्ने तयारी गरिरहेको छ । नेकपा एमालेले त आफ्ना कार्यकर्तालाई अभिनन्दनमा जान उर्दी नै जारी गरिसकेको छ । प्रदेश सरकारले घरघरमा कलश राख्न जनकपुरबासीलाई भनेको छ । तर, नागरिक समाजका अगुवाहरुले भने मोदीलाई अभिनन्दन गर्नु नहुने बताएका हुन् ।

प्रतिकृया दिनुहोस