मोदी आगमनको बहाना, हिन्दी भाषाको प्रचार

Modi banner 1

जनकपुर । मंगलबार प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणबारे पत्रकार सम्मेलन गरेर तयारी पुरा भएको जानकारी दिए । मुख्यमन्त्री राउतले तयारीबारे हिन्दी भाषामै ब्रिफिङ गरेका थिए ।

मुख्यमन्त्रीको ब्रिफिङ मात्र होईन, यतिबेला प्रदेश २ को राजधानी जनकपुर मोदीमय भएको छ र हिन्दीमय भएको छ । रुख, पर्खाल, चोक, चौतारा हरेक ठाउँमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको फोटो झुण्डयाइएको छ । प्रायः धेरै ठाउँमा तुल ब्यानर बनाएर झुण्डयाइएको छ । हरेक तुल–व्यानरमा भारतीय प्रधानमन्त्री मोदीको फोटो राखिएको छ र हिन्दी भाषामा स्वागतका शब्द लेखिएको छ ।

तर, मोदीको स्वागतका लागि राखिएका अपवाद बाहेकका तुल ब्यानरमा नेपालका प्रधानमन्त्रीको तस्वीर छैन । मोदीको ठूलो तस्वीरसहितका ब्यानरहरुमा उल्लेखित शब्दहरु हिन्दी भाषामै लेखिएका छन् । एकाध ठाउँमा भने प्रधानमन्त्री ओली, जनकपुर उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह र उपप्रमुख रिता झाको तस्वीर छ ।

हिन्दी भाषामा मात्रै प्रचार प्रसारलाई अगाडि बढाएपछि मिथिलाको नगरी जनकपुरमा मैथिलभाषीहरु रुष्ट छन् । प्रदेश तथा स्थानीय सरकारले हिन्दी भाषालाई मात्र आधार बनाएर भारतीय प्रधानमन्त्री भ्रमणको प्रचार प्रसार गर्नु ठीक नहुने मैथिली भाषाका प्राध्यापक श्यामसुन्दर शशीले बताए । प्रदेशमा मैथिली, भोजपुरी र नेपाली भाषीहरु पनि भएकाले सबै भाषामा प्रचार गर्दा राम्रो हुने उनको भनाई छ ।

मोदी राजकीय भ्रमणका क्रममा २८ गते पटनाबाट सिधै जनकपुर अवतरण गर्नेछन् । उनलाई रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गर्नेछन् भने प्रधानमन्त्री केपी शर्मा ओलीले जानकी मन्दिरमा स्वागत गर्दै संयुक्त पूजा गर्ने कार्यक्रम छ ।

प्रतिकृया दिनुहोस