मोदीसँग यि विषयमा छलफलको तयारी

भारतले सम्बन्ध सुधारलाई नै प्राथमिकतामा पार्ने

Oli modi

जनकपुरधाम । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यही वैशाख २८ गते नेपाल आउँदैछन् । मोदीले जनकपुर र काठमाडौंमा नागरिक अभिनन्दन लिने देखि जानकी मन्दिर मुक्तिनाथसम्म पुजाआजा गर्ने तयारी गरेका छन् ।

छोटै अवधिका लागि नेपाल आउने तयारी गरेका मोदीले नेपालमा राष्ट्रपति, प्रधानमन्त्री देखि विभिन्न दलका नेताहरुसम्मलाई भेट्ने कार्यक्रम तय छ । यही बीचमा हुने दुई पक्षीय वार्तामा नेपालले विगतका सहमति–सम्झौता कार्यान्वयनमा जोड दिने तयारी गरेको छ ।

प्रधानमन्त्री केपी ओलीको हालैको भारत भ्रमणमा मोदीसँग भएका वार्ताका बुँदामा केन्द्रित रहेर वार्ता गर्ने तयारी गरेको प्रधानमन्त्री निकट स्रोतले बताएको छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भ्रमणमा नेपालका एजेन्डाबारे विस्तृत विवरण नदिए पनि अघिल्ला सम्झौताहरूको कार्यान्वयन नेपालको प्राथमिकतामा रहेको संकेत भने गरेका छन्। २८ वैशाखमा बिहारको पटनाबाट मोदी सिधै जनकपुर उत्रने कार्यक्रम छ। परराष्ट्रमन्त्री ज्ञवालीले सोमबार जनकपुर पुगेर मोदी भ्रमणको कार्यतालिका र दुई देशका प्रतिनिधिमण्डलबीच हुने छलफलका केही एजेन्डा सार्वजनिक गरेका थिए।

‘दुई देशका प्रतिनिधिमण्डलबीच छलफलमा नेपालले विगतका सहमतिको प्रभावकारी कार्यान्वयन र प्रधानमन्त्री ओलीको भारत भ्रमणमा भएका घोषणालाई समझदारी र सम्झौतामा रूपान्तरित गरिने गरी छलफल हुनेछन्’, परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘जलमार्ग, रेलमार्गदेखि कृषिमा साझेदारी सम्मका सबै विषयमा छलफल हुन्छ।’ दुई देशबीच विगतका समझदारी मात्रै होइन, आपसी सम्बन्ध सुधारले पनि छलफलमा उच्च प्राथमिकता पाउने छ। संविधान निर्माणपछि भारतले नेपालमाथि लगाएको नाकाबन्दीले पनि दुई देशको सम्बन्धमा ठूलै उतारचढाव आएको थियो।

४ वर्षअघि भ्रमणमा आउँदाको जस्तो ‘उत्साह’ मोदीको यसपटकको भ्रमणमा नेपालीले नदेखाउने संकेत पाएको भारतले भने यो भ्रमणमा सम्बन्ध सुधारलाई नै प्राथमिकतामा पार्ने सम्भावना छ। जनकपुरस्थित रामजानकी मन्दिरमा नै प्रधानमन्त्री ओली र मोदीको पहिलो भेट हुने भए पनि एक्लाएक्लै भेट भने सोही दिन काठमाडौं आएपछि मात्रै हुनेछ। प्रधानमन्त्री ओलीले समकक्षी मोदीसँग गर्ने भेटमा गत २३ चैतमा दिल्लीमा भएको एक्लाएक्लै वार्ताका एजेन्डामा कुराकानी हुने परराष्ट्र स्रोतको भनाइ छ।

मोदीलाई जनकपुरमा रक्षामन्त्री ईश्वर पोखरेल, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर शाहले स्वागत गर्नेछन्। जानकी मन्दिरमा पुजाआजा गरी मोदीले प्रधानमन्त्री केपी ओलीसँग मन्दिर परिसरमै भेट गर्नेछन्। मोदी भ्रमणको तयारीबारे जानकारी लिन जनकपुर आएका परराष्ट्रमन्त्री ज्ञवालीले भारतीय प्रधानमन्त्रीको भ्रमणबाट जनकपुर र मिथिला सभ्यताको पहिचान विश्वव्यापी बनाउन मद्दत पुग्ने बताए।

प्रतिकृया दिनुहोस