मोदी र ओली एकै पटक जनकपुर उत्रिने, जानकी मन्दिरमा भेट

Oli modi

जनकपुर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री केपी ओली सँगसँगै जनकपुर पुग्ने कार्यक्रम बनेको छ । दुबै देशका प्रधानमन्त्री जानकी मन्दिरमा भेट हुने र सँगै पुजा गर्ने कार्यतालिका रहेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।

ज्ञवालीका अनुसार भारतीय प्रधानमन्त्री मोदीको रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले स्वागत गर्नेछन् । त्यसपछि मोदी जनकपुरको जानकी मन्दिरमा विशेष पूजाअर्चना गर्न जानेछन् । प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीवीच जानकी मन्दिरमै भेटघाट हुनेछ ।

जानकी मन्दिरमा मोदीले करीब ३० मिनेट विशेष पूर्जाअर्चना गर्नेछन् । पूजा पछि दुबै देशका प्रधानमन्त्रीले जानकी मन्दिर परिसरबाटै रामायण सर्किटको उद्घाटन गर्नेछन् । जानकी मन्दिरको विशेष पूजापछि भारतीय प्रधानमन्त्री मोदी जनकपुरको रंगभूमि मैदानमा उनको सम्मानमा आयोजित नागरिक अभिनन्दन समारोहमा सरिक हुनेछन् । नागरिक अभिन्दनपछि मोदीले सम्बोधन गर्ने कार्यक्रम रहेको मन्त्री ज्ञवालीले बताए ।

भारतीय प्रधानमन्त्री मोदी बैशाख २९ गते विहान काठमाडौंबाट मुक्तिनाथको भ्रमणमा निस्कने छन् । मुस्ताङको मुक्तिनाथ मन्दिर पुगेर विशेष पूजाअर्चनापछि मोदी फेरि काठमाडौं फर्किएर राष्ट्रपति बिद्यादेवी भण्डारी र उप–राष्ट्रपति नन्दकिशोर पुनसित शिष्टाचार भेटघाट गर्ने परराष्ट्रमन्त्री ज्ञवालीले बताए ।

भारतीय प्रधानमन्त्री मोदी काठमाडौं पुगेपछि दुबै देशका प्रधानमन्त्रीले नेतृत्व गरेको प्रतिनिधि मण्डलबीच औपचारिक वार्ता हुनेछ । वार्तापछि औपचारिक पत्रकार सम्मेलन गरिनेछ । त्यहि बार्तामा प्रधानमन्त्री ओलीले चैतको अन्तिम साता गरेको भारत भ्रमणको क्रममा भएको सहमतिमा समेत हस्ताक्षर गरिनेछ ।

प्रतिकृया दिनुहोस