एमाले–माओवादी एकता रोक्न प्रतिक्रियावादी सक्रिय : सिंह

Mohan bikram masal

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहन विक्रम सिंहले एमाले–माओवादीबीच एकता हुन नदि देशी विदेशी प्रतिक्रियावादी शक्तिले षडयन्त्र गरिरहेको बताएका छन् ।

महामन्त्री मोहनविक्रम सिंहले आइतबार एक विज्ञप्ति प्रकाशित गरी एमाले र माओवादी केन्द्रले आज वैशाख ९ गते गर्ने भनेको पार्टी एकता मुख्य गरी उनीहरुकै भागबण्डा नमिलेका कारण हुन नसकेको र एकता हुन नदिन विभिन्न देशी, विदेशी प्रतिक्रियावादीहरूले षडयन्त्र गरिरहेको बताएका हुन् ।

सिंहले पार्टी एकता उनीहरुको आन्तरिक विषय भएपनि उनीहरुबीचको मतभेदले सरकार विघटन नहोस् भन्ने चिन्ता जाहेर गरेका छन् ।

यस्तै, मसालले विप्लव नेतृत्वको नेकपा, वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी र ऋषी कट्टेल नेतृत्वको नेकपासँग पार्टी एकताको पहल तत्कालका लागि स्थगित भएको जनाएको छ ।
यस्तो छ विज्ञप्ति
यही २०७५ बैशाख ८ गते बसेको केन्द्रीय कार्यालयको बैठकले कतिपय राजनीतिक प्रश्नहरूबारे छलफल गरी निम्नलिखित निर्णयहरू गरेको छ ।

२२ अप्रिल लेनिन जयन्ती र नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा हामीले नेपालमा क्रान्तिकारी कम्युनिष्ट पार्टीलाई अरू सुदृढ र शक्तिशाली बनाउनु पर्ने, तात्कालिक रूपमा गणतन्त्र, राष्ट्रियता, धर्मनिरपेक्षता र जनहितसित सम्बन्धित प्रश्नहरूमा आन्दोलन गर्नुपर्ने, अन्तर्राष्ट्रिय क्रान्तिकारी आन्दोलनमा पनि बढीभन्दा बढी योगदान दिनुपर्ने आवश्यकतामा जोड दिन्छौँ । हाम्रो पार्टीले उक्त विषयहरूमा बढीभन्दा बढी योगदान दिने प्रतिबद्धता प्रकट गर्दछ ।

ने.क.पा.(मसाल), ने.क.पा. (क्रान्तिकारी माओवादी), ने.क.पा. (विप्लव पक्ष), ने.क.पा. (कट्टेल पक्ष) समेतका बीचमा पार्टी एकताबारे छलफल चलाउने र परस्परमा सहमति भएका विषयहरूमा कार्यगत एकता गरी संयुक्त आन्दोलन सञ्चालन गर्ने समझदारी भएको थियो ।

हाम्रा बीचमा विभिन्न सैद्धान्तिक, राजनीतिक, तात्कालिक कार्यदिशा र कार्यशैलीबारे कैयौँ मतभेदहरू छन् । तैपनि ती विषयहरूमा स्पष्टता र परस्परमा अधिकतम सहमतिमा पुगेर पार्टी एकताका लागि आधार तयार पार्न हामीले आपसमा पार्टी एकताबारे छलफल चलाउने समझदारी गरेका थियौँ ।

तात्कालिक कार्यदिशा वा कार्यशैलीबारे पनि हाम्रा बीचमा कैयौँ मतभेदहरू छन् । सङ्घीयता, विभिन्न राजनीतिक शक्तिहरूको विश्लेषण र उनीहरू प्रतिको नीति, कार्यशैली, आन्दोलनका पद्धति आदिबारे हाम्रा बीचमा कैयौँ मतभेदहरू छन् । कतिपय पक्षले स्थानीय तहलाई खारेज गर्नुपर्ने कुरामा जोड दिइरहेका छन् भने हामीले सङ्घीयता वा प्रादेशिक संरचनालाई खारेज गर्नुपर्ने र स्थानीय तहलाई अरू अधिकारसम्पन्न गराउनुपर्ने कुरामा जोड दिइरहेका छौँ । तर यी र त्यही प्रकारका अन्य कैयौँ मतभेदहरू भए पनि आपसमा सहमति भएका विषयहरूमा संयुक्त कार्यक्रमहरू सञ्चालन गर्ने, संयुक्त मञ्चहरूमा सहमति भएका विषयहरू मात्र प्रस्तुत गर्ने र अन्य विषयहरूलाई आफ्नो–आफ्नो पार्टी स्तरमा बेग्लै लैजाने सहमति भएको थियो ।

२०७५ बैशाख ४ गते काठमाडौँमा राष्ट्रियतासम्बन्धी चार पक्षको संयुक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो । त्यसमा जलसम्पदा, सीमा, सन्धि र सम्झौता वा परराष्ट्र नीतिसम्बन्धी कैयौँ विज्ञहरूको पनि उपस्थिति थियो । त्यो कार्यक्रममा पनि राष्ट्रियतासम्बन्धी विषयहरू बाहेक पार्टीका अन्य विषयहरू नउठाउने सहमति भएको थियो ।

त्यो सहमति अनुसार नै हाम्रो पार्टीका प्रवक्ता का। रामप्रकाश पुरीले पारस्पारिक सहमति वा आचार संहिताको परिधिभित्र रहेर आफ्ना विचार प्रकट गर्नु भएको थियो । तर अन्य पक्षहरूद्वारा हाम्रा बीचमा भएको सहमति र आचारसंहिताको अतिक्रमण गरेर निर्धारित विषयभन्दा बाहिरका आफ्नाआफ्ना पार्टीका नीतिहरूबारे विचार प्रस्तुत गर्ने काम गरियो ।

त्यसप्रति हाम्रो पार्टीले गम्भीर आपत्ति प्रकट गर्दछ । अन्य पक्षहरूको त्यस प्रकारको कार्यपद्धतिका कारणले अब उनीहरूसित पार्टी एकतासम्बन्धी संयुक्त भेटघाट र संयुक्त कार्यक्रमलाई तत्कालका लागि स्थगित गर्ने हाम्रो पार्टीले निर्णय गरेको छ । तर त्यो कारणले विभिन्न तल्ला स्तर वा सङ्घसंस्थाहरूमा आवश्यकतानुसार भेटघाट गर्ने वा कार्यगत एकता गर्ने कार्यमा बाधा पुग्ने छैन ।

पछि उनीहरूले आफ्नो कार्यप्रणालीमा सुधार गर्ने विश्वास दिलाएमा उनीहरूसित पुनः नयाँ प्रकारले वार्ता गर्ने वा संयुक्त आन्दोलन सञ्चालन गर्नेबारे विचार गर्न सकिने छ । तर अहिले उनीहरूसितको भेटघाट वा कार्यगत एकता स्थगित गरे पनि उनीहरूका शान्तिपूर्ण सभा, जुलुस वा कार्यक्रमहरूमा सरकारले गर्ने गिरफ्तारी वा दमनको विरोध गर्ने हाम्रो पार्टीको नीति कायम रहने छ ।

चैत्र २४ गते काठमाडौँमा संयुक्त रूपले जनआन्दोलन दिवस मनाउने निर्णय गरिएको थियो र देशमा अन्यत्र संयुक्त रूपले त्यो कार्यक्रम मनाउने कुनै निर्णय भएको थिएन र हाम्रा साथीहरू कतै संयुक्त कार्यक्रममा सामेल भएका पनि थिएनन् । तैपनि कतिपय पक्ष र अनलाइनहरूले कतिपय जिल्लामा हामीहरू त्यस प्रकारको संयुक्त कार्यक्रममा सामेल भएको भनेर प्रचार गरेका थिए ।

आज बैशाख ९ गते एमाले र माओवादी केन्द्रले पार्टी एकताको घोषणा गर्ने प्रतिबद्धता प्रकट गरेका थिए । तर त्यो कार्य हुन सकेन । एकातिर त्यो एकता हुन नदिन विभिन्न देशी र विदेशी प्रतिक्रियावादीहरूले गरिरहेको षडयन्त्र र, अर्कातिर, स्वयं उनीहरूका बीचका कतिपय मतभेद, मुख्यतः भागबण्डासम्बन्धी मतभेदहरूका कारणले उनीहरूको एकताको प्रयत्नमा बाधा पुगेको कुरा बुझ्न गाह्रो पर्दैन । तैपनि उनीहरूका बीचमा पार्टी एकता हुन्छ वा हुन्न त्यो उनीहरूसित सम्बन्धित कुरा हो ।

त्यस सन्दर्भमा हाम्रो मुख्य चिन्ताको विषय यो हो, उनीहरूको पार्टी एकतासम्बन्धी प्रयासमा देखापर्ने बाधा वा विभाजनले सरकारको नै विघटन नहोस् र देशमा राजनीतिक अस्थिरताको वातावरण तयार नहोस् । प्रतिक्रियावादीहरूले उनीहरूको पार्टी एकताको प्रयासलाई असफल पार्न प्रयत्न गर्नुका पछाडिको मुख्य उद्देश्य वामपक्षीय सरकारलाई विघटन गराउनु नै हो ।

हाम्रो जोड यो कुरामा छ, उनीहरूका बीचमा पार्र्टी एकता सफल हुन नसके वा ढिला भएपनि संयुक्त मोर्चाको रूपमा अहिलेको वामपक्षीय गठबन्धन सरकार कायम रहनु पर्दछ । यो सरकार वा त्यसका नीतिहरूसित हाम्रा कैयौँ मतभेदहरू छन् र ती विषयहरूमा आवश्यकतानुसार विरोध वा सङ्घर्ष गर्ने हाम्रो नीति कायम रहने छ ।

तैपनि अहिलेको देशको स्थितिमा आपसी मतभेद वा पार्टी एकता हुन नसकेकाले अहिलेको सरकारको विघटन भएमा प्रतिक्रियावादीहरूलाई मद्दत पुग्ने छ र गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षतामा समेत बाधा पुग्नेछ भन्ने हाम्रो मत छ र त्यसबारे हामीले एमाले र माओवादी दुवैको ध्यान आकर्षित गराउन चाहन्छौँ । यदि त्यस प्रकारको स्थितिको सृजना भयो भने जनताले वामपक्षीय शक्तिहरूमाथि गरेको विश्वासमाथि ठूलो धोखा हुनेछ र त्यसको दीर्घकालिन दुष्परिणाम हुनेछ ।

हाम्रो पार्टीले प्रारम्भदेखि नै यातायातमा सिन्डिकेट प्रथालाई समाप्त गर्नुपर्दछ भनेर आवाज उठाउँदै आएको थियो । अहिले सरकारले सिण्डिकेट प्रणालीलाई समाप्त गर्न उठाएको कदमलाई हाम्रो पार्टीले समर्थन गर्दछ र त्यो कार्यलाई प्रभावशाली प्रकारले कार्यान्वयन गर्नुपर्ने आवश्यकतामा जोड दिन्छ ।

काठमाडौँ सीडीओ कार्यालयले काठमाडौका केही खास क्षेत्रहरूमा मात्र सभा र जुलुस गर्ने र शहरका अन्य भागहरूमा जुलुस गर्न निषेध गर्ने जुन आदेश जारी गरेको छ, त्यसलाई हाम्रो पार्टी अप्रजातान्त्रिक मान्दछ र त्यसको विरोध गर्दछ ।

मिति : २०७५ बैशाख ९ गते

मोहन विक्रम सिंह

महामन्त्री

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...