परराष्ट्रमन्त्री ज्ञवाली बेइजिङमा, यस्तो छ भेटघाट कार्यक्रम

प्रधानमन्त्री ओलीको चिन भ्रमण र चिनिया राष्ट्रपतिको नेपाल भ्रमणको तयारी

Pradip gyawali

काठमाडौं । पाँचदिने चीन भ्रमणका क्रममा आइतबार चीन प्रस्थान गरेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली दक्षिण चीनको ग्वान्झाओ हुँदै मंगलबार बेइजिङ पुगेका छन् । उनले बुधबार उपराष्ट्रपति वाङ क्वीसान र समकक्षी वाङ वीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

उपराष्ट्रपति वाङसँग भेटवार्ता गर्न मन्त्री ज्ञवाली बुधबार बिहान आफू बसेको दियोथाई स्टेट गेष्ट हाउसबाट सरकारी निवास चोङनानहाई जानेछन् । त्यसलगत्तै मन्त्री ज्ञवालीले स्टेट गेष्ट हाउसमा समकक्षी वाङ वीसँग भेटवार्ता गर्नेछन् । यी भेटवार्तापछि संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम तय भएको छ ।

भेटवार्तामा नेपाल चीन, सहयोगका विविध विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाल र चीनबीच गत वर्ष भएको बेल्ट एण्ड रोड इनिसियटिभ परियोजना सहमतिलाई कार्यान्वयन गर्ने विषयमा चिनियाँ नेताहरुसँग छलफल गर्ने मन्त्री ज्ञवालीले जानकारी दिएका छन् ।

मंगलबार साँझ चिनियाँ दूतावासले आयोजना गरेको स्वागत कार्यक्रममा परराष्ट्रमन्त्री ज्ञवालीले सो जानकारी दिएका हुन् ।

मन्त्री ज्ञवालीको यो भ्रमणले दुई देशबीच उच्चस्तस्तरीय भ्रमणको वातावरण बनाउने विश्वाससमेत गरिएको छ । ज्ञवालीको बेइजिङ भ्रमणलाई प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारीका रूपमा लिइएको छ । ज्ञवालीको भम्रणका क्रममा चिनियाँ राष्ट्रपति सी जिन पिङको नेपाल भ्रमणका विषयमा समेत छलफल हुने बताइएको छ ।

बेइजिङमा रहँदा मन्त्री ज्ञवालीले अन्य चिनियाँ नेताहरुसँग पनि भेटवार्ता गर्ने र चिनियाँ थिंक ट्यांकको गोलमेच बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

बेइजिङपछि मन्त्री ज्ञवाली सिचुवान प्रदेशमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुनेछन् । उनी यही वैशाख ८ गते स्वदेश फर्किने कार्यक्रम छ ।

प्रतिकृया दिनुहोस