हेर्नुस्, यस्तो छ २०७५ मा तपाईको राशी, राशीअनुसार काम गरे फलदायी हुने

Dipak subedi

काठमाडौं । नयाँ वर्ष प्रारम्भ भइसकेको छ । कतिपयले यो वर्ष नयाँ नयाँ काम गर्ने योजना बनाउनु भएको होला । ति सबै पूरा हुन पनि सक्छ, नहुन पनि सक्छ ।

कति राशीफलमा बताइएको फल कसलाई कति मिल्ने भन्ने कुरा सम्बन्धित व्यक्तिको जन्म समयको सम्बन्धित ग्रहहरूकारक, अकारक, शुभाशुभ कस्तो स्थितिमा छन्, त्यसमा भरपर्ने हुन्छ । जन्म समयमा ग्रहहरू अनुकूल रहेकाहरूलाई यहा“ बताइएका फलमा प्रतिकूल फल कम घट्ने र अनुकूल फल बढी घट्ने हुनेछ ।

जन्म समयमा प्रतिकूल ग्रह हुनेहरूलाई प्रतिकूल फल बढी घट्ने र अनुकूल फल कम घट्ने हुन्छ । यहाँ समष्टिमा फल बताइएको हो । कति मिल्ने तथा नमिल्ने वा शुभ अशुभ कुन बढी हुने भन्ने कुरा सम्बन्धित व्यक्तिको उसको जन्मकालको ग्रहमा भरपर्ने हुन्छ । विशेष अवस्था पर्दा राशीफलको मात्र भर नपरेर विद्वान ज्योतिषीको मार्गदर्शन लिनु बुद्धिमानी हुनेछ ।

प्रस्तुत छ, ज्यो.पं.वैद्यराज दीपक सुवेदी (डबल गोल्डमेडलिष्ट) ले तयार परेको २०७५ सालभरीको राशीफल । 

मेष राशी (चु.चे.चो.ला.लि.लु.ले.लो.अ.)
मेष राशी हुनेहरूको लागि यो वर्ष पूर्वार्धसम्म र अन्तिमका दुई महिना सामान्यतया अनुकूलै मान्न सकिन्छ । बीचको समय अल्लि विपरित छ । सम्पादन गर्न खोजिएको विवाह व्रतबन्धादि दानपूण्यप्रद मांगलिक शुभकर्ममा ढिलासुस्ति बाबजुत केहीहदसम्म सफल भइनेछ । व्यापारजन्य आय–आम्दानी बढ्नेछ ।

विवाहयोग्यलाई दाम्पत्यसम्बन्ध जोडिने छ भने प्रेमपारखीहरूको लागि पनि अनुकूल रहनेछ । नोकरीतर्फ थोरै भए पनि प्रगति हुनेछ । जागिर तथा पेशा व्यवसायमा स्थान परिवर्तन, बसाईसराई लगायत यात्राजन्य काम बन्ने छ । अध्ययन अध्यापन तथा शैक्षिक क्षेत्रमा अनुकूलता रहनेछ ।

जग्गाजमिन, घर, पैतृक सम्पत्ति जन्य पक्षमा ग्रहको त्यति अनुकूल प्रभाव देखिन्न । पशुचौपाय, कृषि, उद्योग धन्दा व्यवसाय आदिमा घरीघरी उपलब्धि एवं लाभ जस्तो पनि कुनै समय निराशाजनक परिणाम भोग्नुपर्ने हुन्छ ।

कैफियतपूर्ण धनार्जनतर्फ मन आकर्षित हुनसक्ने र पछि पछुतो पनि पर्नसक्ने छ ख्याल गर्नु होला । वर्षको उत्तरार्धमा उल्लेखित संघर्ष एवं विपरित फल बढी घटित हुने भएकोले आवश्यक सावधानी तथा उपाय अवलम्बन गर्नु जरुरी हुनेछ । यो राशी हुनेहरूले यो वर्ष भैरव, महावीर हनुमान, आश्विन पछिलाई माँ बगलामुखीको स्तुति आराधना तथा उपाशना गर्नाले ग्रहको दुष्प्रभावलाई कम गर्न मद्दत हुनेछ ।

वृष राशी (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो.)
यो वर्ष आंशिक पक्षमा मात्रै अनुकूल रहेको छ । र पनि पूवार्धको तुलनामा उत्तरार्ध केही उपलब्धिमूलक हुनेछ । अत्यावश्यक तथा विशेष काम बनाउन अल्लि बढी परिश्रम गर्नुपर्ने छ । सन्तानकष्टको सम्भावना देखिएको छ । जन्मकालमा सम्बन्धित ग्रह प्रतिकूल भई सन्तानदोष व्यहोर्न परिहेकाहरूको लागि सावधानी अप्नाउन पर्ने देखिएको छ ।

विशेष गरी गर्भवतीहरूले बढी ध्यान पुर्याउन जरुरी हुनेछ । रोग–शोक र कुसंगतको खतरा आवश्यक उपाय अथवा सावधानी अप्नाउनु होला । बढी संघर्ष र कम उपलब्धिको कारण मानसिक उद्दिग्नता तथा उदासिनता बढ्न गई आस्थाको धरोहरमा ह्रास आउने एवं किंकर्तव्यविमूढताको मनोविज्ञानले प्रसय पाउन सक्ने देखिन्छ । साउन उपरान्त केही सुधार आइ कामकार्य एवं अन्य परिस्थितिमा केही सुधार आउनेछ ।

यो वर्ष अनिष्ट फललाई न्यून गर्न हतोत्साही नभइ इष्टदेवको भक्ति तथा साधनालाई बढीभन्दा बढी बढाउनु र शनि एवं गुरुको प्रतिकूलतालाई शान्ति गर्न हनुमान–शनिमहाकाल वा महाकाली, भैरव–छिन्नमस्ता र विद्यार्थीले सरस्वती तथा सर्वसाधारण सबैले वगलामुखी मा“ एवम् कुलदेवताको श्रद्धाभक्ति, जपपाठ, स्तुति आदि व्रत अवलम्वन गर्नु हितकर हुने छ । स्थानीय जातिको (लोकल) गाईको सेवा गर्नाले ग्रहको दुष्प्रभाव कम गर्न विशेष मद्दत हुनेछ ।

मिथुन राशी (का.कि.कु.घ.ङ.छ.के.को.ह.)
यो वर्ष मिश्रित रहनेछ । वर्षको पूर्वार्ध तसै अनुकूल रहनेछ । संघर्षको बाबजुत केही उपलब्धि मिल्नेछ । विद्यार्थीहरूले गम्भीरताको साथमा समयको सदुपयोग गर्नाले अध्ययनमा प्रगति गर्न सकिने छ । व्यापार तथा पेशा एवं व्यवसायमा सामान्य लाभ मिल्ने छ । अल्लि बढी परिश्रम एवं प्रयत्नले व्यवसाय र बढी महत्त्वपूर्ण कामकार्यमा सफलता मिल्ला ।

जन्मकालमा पापग्रह अकारक हुनेहरूको लागि दुर्घटना, दैविक विपत्ति तथा धनजनको क्षति, चोटपटक, यात्रामा कष्ट, वातव्याधि, स्नायु तथा नशा रोग, चीरफार एवं घाऊखटिरा र दाम्पत्यकष्ट जन्य स्थितिको सामना गर्नपर्ने देखिएको छ । परिबन्द, चोरी, राज्यबाट भय–कष्ट, गलत संगत, स्वजनबाट विश्वासघात, फसिने–ठगिने, नहुनेकार्यमा मन जाने–आसक्ति बढ्ने, मिथ्याअपवाद, अपव्यय, समय टरेपछि पश्चाताप हुने आदि सम्भावनालाई ग्रहगोचरले लक्षित गरिरहेको छ । यी प्रतिकूल फल वर्षको पूर्वार्धमा भन्दा उत्तरार्धमा बढी घटित हुनेछन् ।

दीर्घरोगीहरूले सावधानी अप्नाउनुपर्ने हुन्छ । घर–जग्गाको कारोवारमा फसिन सक्ने सम्भावना छ । वैवाहिक कार्य वा प्रेममा विशेषमा ख्याल गर्नुपर्न छ । यौनरोग, गर्भाशय, मलाशय, ठूलोआन्द्रा, पौरुष ग्रन्थी, मिर्गौलामा संक्रामक रोग आदिको सम्भावनालाई पनि नकार्न नसकिने हुनाले तत्सम्बन्धी विषयमा संयम र सजग हुनु जरुरी देखिन्छ ।

कर्कट राशी (हि.हु.हे.हो.डा.डि.डु.डे.डो.)
यो वर्ष सुधारोन्मुख छ, क्रमशः फलिफाप हुँदै जानेछ । वर्षको मध्यबाट अनुकूलता बढ्ने छ । वर्षको पूर्वार्ध संघर्षकर नै देखिएको छ । दाम्पत्य–प्रेमकष्ट वा असमझदारी बढ्न सक्ने तथा अरु पनि समस्या आइपर्न सक्ने देखिएको छ ।

सोच, होस र विवेक पु¥याएर व्यवहार गर्नु पर्ला । शिरशूल, ढाड–कम्मर, घुँडा–खुट्टा तथा हाडजोर्नी–नशा एवं ग्रन्थीसम्बन्धी समस्या हुनसक्ने गोचर छ, स्वास्थ्य एवं आहार विहारमा ध्यान दिन जरुरी हुनेछ । संघर्ष र शत्रुको प्रभाव रहनेछ, रपनि विचलित नभएमा अन्तमा सफलता मिल्ने छ ।

उत्तरार्धबाट राजनीति, समाजसेवा, प्रतिस्पर्धा आदिमा उपलब्धि र विजय प्राप्त हुनेछ । रोजगार–पद प्रतिष्ठा एवम् पदोन्नती प्राप्त हुनेछ । व्यापार–व्यवसायका क्षेत्रमा प्रगति हुने र लाभ प्राप्त गर्न सकिने छ । नयाँ व्यवसाय सञ्चालन गर्न उपयुक्त रहनेछ । न्यायिक क्षेत्रमा विजय मिल्नेछ । विद्यार्थीहरूलाई अध्ययनमा सफलता मिल्नेछ । अपूरो अध्ययनलाई पनि पूरा गर्न सकिने छ । वैवाहिक सम्बन्धमा सुधार आउने छ । दिएको नफर्कने सम्भावना भने बढी रहेकोले कसैलाई धन सम्पत्ति दिँदा निकै विचार गर्ने पर्ला ।

सिंह राशी (म.मि.मु.मे.मो.ट.टि.टु.टे)
यो वर्ष तुलनात्मक अनुकूल महसूस हुनेछ । आफ्नो व्यवहारमा भने ध्यान दिन जरुरी छ । मान्छेहरूको मुल्यांकनमा अल्लि कमजोरी फेला पर्ने हो कि भन्ने सम्भावना छ । ज्ञानोन्माद्ले विद्यार्थीहरूलाई असर गर्ने भय छ । जन्म समयमा शनि आदि ग्रह प्रतिकूल हुनेलाई पेट, स्नायू आदिमा स्वास्थ्य समस्या, नीति–व्यवहार र सैद्धान्तिक पक्षमा विचलन आदिको सम्भावना छ । सन्तानकष्ट चिन्ता, असन्तोष, असमझदारी तथा खर्च एवं अपहेलित हुनपर्ने हुनसक्छ ।

सञ्चित धनको आकस्मिक खर्च गराउने तथा गएको पैसा नफर्किने हुनसक्ने छ । लुच्चा तथा किर्पणीसँगको व्यवहार हुनाले धन सम्पत्ति फस्न सक्ने पनि डर देखिन्छ । तान्त्रिक आदि गुप्त विद्याको अभिलाषा बढ्ने, भूमिगत एवम् जासुसी कर्ममा उद्यत हुने बुद्धि पलाउने सम्भावना देखिन्छ । जसबाट बचेको राम्रो हुनेछ । पशुपालन, कृषिकर्मजन्य व्यवसाय, प्राविधिक क्षेत्रबाट भने फाइदा उठाउन सकिने छ ।

कन्या राशी (टो.प.पी.पु.ष.ण.ठ.पे.पो.)
यो वर्ष संघर्षको अनुभूति गराउने खालको छ । वर्षको पूर्वार्ध केही उपलब्धिकर रहेको छ । प्रवचन, अध्यापन, उद्घोषण, गायन आदि वाणीवृति हुनेहरूले समाजमा राम्रो प्रभाव पार्न सकिने छ । कुटुम्बिक सम्बन्ध बढ्न सक्ने छ । अल्लि बढी प्रयत्न गरेर रोजगारी आदिमा सफलता प्राप्त गर्न सकिनेछ भने घरभन्दा तथा विदेश यात्रा आदिमा पनि अनुकूल रहनेछ । दानपूण्य, विवाहव्रतबन्ध आदि मांगलिक कार्य हुन जानेछ ।

वर्षको उत्तरार्धमा संघर्षको मात्रा बढ्ने लक्षण देखिन्छ । आवश्यक सावधानी तथा उपायहरू अवलम्बन गर्नु बुद्धिमानी हुनेछ । बढी ईच्छाइएको तथा महत्त्व दिइएको कार्यमा भने ढिलासुस्ती तथा बाधा अड्चन नआउला भन्न सकिन्न । चोटपटक–घाऊ खटिरा जन्य रोग, दैविक विपत्ति, व्यवहारिक एवम् घरायसी समस्याहरूले दुःख दिनसक्ने भएकोले हरप्रकारको सावधानी अपनाउनु आवश्यक देखिन्छ ।

कुलमा रोगको प्रकोप, मान्यजन वियोगको सम्भावना तथा आफन्त, साथीभाई, छरछिमेकी, सहकर्मी आदिसँग असमझदारीको सामना गर्नुपर्ने हुनसक्ने छ । मुद्दा मामिला पर्नसक्ने, घर–जग्गाको कार्यमा विश्वासघात हुने, फसिने तथा पछुतो हुने समय परेकोले सित्तिमिति कसैको भरोसा नगरेकै राम्रो हुनेछ ।

तुला राशी (रा.री.रु.रे.रो.त.ति.तु.ते.)
यो वर्ष मध्यम अनुकूल रहनेछ । नया“ र दीर्घकालीन कार्यको थालनीको लागि सोचविचार तथा कार्ययोजना बन्ने, गुमेको मान प्रतिष्ठा फिर्ता गर्न सकिने, बिग्रिएको सम्बन्ध एवम् कार्यहरूको पुनस्र्थापना तथा सुधार गर्न सकिने र अड्केर रहेका केही कार्यहरू पूर्ण हुने छन् । न्यायिक क्षेत्र सबल रहनेछ । अबरोधको बाबजुत घर परिवारमा दानपूण्य, विवाह व्रतबन्ध आदि मांगलिक कार्य हुन जाने छ ।

हात तथा छातिमा चोट वा रोग र दाजुभाईमा कष्ट वा वादविवादको सम्भावनालाई नकार्न सकिन्न । घरायसी किचलो, घरजग्गाको कारोबार आदिमा ढिलासुस्ती तथा फसिन सक्ने र जन्मकालमा ग्रह प्रतिकूल हुने तथा महादशामा पनि प्रतिकूल ग्रह चल्नेलाई दैविक विपत्ति आदि आइपर्न सक्ने भय छ । मान्यजन कष्टादिको सम्भावनालाई पनि नकार्न सकिन्न । वर्षको उत्तरार्धमा गोचर ग्रह थप अनुकूल देखिएको छ । सन्तती सुख मिल्नेछ भने उनीहरूको प्रगतिले खुशी प्राप्ति हुनेछ ।

नयाँ कार्यको थालनी, व्यवसायिक उन्नतिप्रगति, पदप्रतिष्ठा बढ्ने र सफलता मिल्नेछ । टाढिएका आफन्ति नजिकिने छन् । मान्यजनलाई भइरहेको कष्टमा सुधार आउनेछ । सुखसन्तोष लिन सकिनेछ । जग्गा जमिन जोडिने, गृह निर्माण हुने र वाहन आदिको सुविधा प्राप्त हुनेछ । पशुचौपाया, कृषि आदिबाट फाइदा उठाउन सकिने छ । नोकरी मिल्न सक्ने छ । वैदेशिक यात्राको लागि पनि समय अनुकूल देखिन्छ । 

वृश्चिक राशी (तो.ना.नि.नु.ने.नो.य.यी.यु.)
यो वर्ष धेरैजसो पक्षमा संघर्षप्रद देखिएको छ । हिम्मत पनि नगिराउने र नबिराउने सिद्धान्तलाई आत्मसात गरेर अघि बढ्नुपर्ला । स्थान परिवर्तनको सम्भावना देखिन्छ । विदेशको बाटो हेरिरहेकाहरूको लागि ईच्छा पूरा हुनसक्ने छ । घर परिवारबाट टाढा गएर अध्ययन गर्नेहरूलाई उपलब्धि मिल्नेछ ।

तर बढी आसक्ति गर्ने, महत्त्वाकांक्षा राख्ने गर्दा ससाना कार्यले पनि अल्मल्याउने, बहाना गर्न मन लाग्ने हुनेछ । अभिष्ट कार्यमा समय दिन नसकिने र अधिक परिश्रममा थोरै उपलब्धिले चित्त बुझाउनुपर्ने हुनेछ । चलिरहेको साविक कामकार्य एवं पेशामा संयमपूर्वक रहनाले धेरथोर लाभै हुनेछ । चञ्चलता र हतारले भने क्षति एवं पश्चाताप गराउन सक्नेछ ।

जन्मकालमा शनि आदि ग्रह अकारक हुनेहरूलाई वादविवाद, कामकार्यमा अबरोध, मानप्रतिष्ठामा आँच, सञ्चित धनको खर्च, स्वास्थ्यमा समस्या, अपखबर र परिबन्दनीय परिस्थिति जस्ता प्रतिकूलता थोरधेर पर्ने छन् । विपरित खानपान, विश्वासघात, कुसंगत आदि प्रतिकूलताको सामना गर्नुपर्ने हुनसक्ने छ । तर जन्मकालमा शनि आदि ग्रह कारक तथा अनुकूल भएकाहरूको लागि भने प्रतिकूलको सट्टा अनुकूल फल प्राप्ति हुने एवं आकस्मिक लाभ र उपलब्धि मिल्नेछ ।

धनु राशी (ये.यो.भ.भि.भु.ध.फ.ढ.भे.)
यो वर्षको पूर्वार्ध तुलनात्म रूपमा केही पक्षमा अनुकूल मान्न सकिन्छ । संघर्षको बाबजुत केहीहदसम्म परिश्रमको फल मिल्ने र केही अधुरा कार्यहरू पूरा हुने छन् । धर्म–अध्यात्म, विवाह–व्रतबन्धादि मांगलिक कर्म सम्पन्न गर्नसकिने छ । अप्रत्यासित परिणाम दिने गोचर प्रभाव देखिएकोले एकातर्फ आसक्ति र अर्कोतर्फको उपलब्धि हुनसक्नेछ ।

राजनीति तथा समाजसेवामा अन्तिममा जस मिल्ने छ । जागिरको खोजीमा रहेकाहरूको लागि पनि शनिको विशेष उपाय गरेको खण्डमा अनुकूलताको सम्भावना छ । अनुकूलता महसूस हुँदैमा हौंसिने र मात्तिने गर्न भने हुने छैन । जन्मको शनि आदि ग्रह अनुकूल रहनेहरूका लागि भने आकस्मिक लाभ एवम् पदप्रतिष्ठा, उन्नति प्रगति मिल्ने छ ।

विनामेहनतको आम्दानितर्फ चेष्टा बढ्नसक्ने सम्भावनासमेत देखिएकोले सोबाट बचेको बुद्धिमानी हुनेछ अन्यथा पश्चाताप पर्नसक्छ । दुर्घटना, दैविक विपत्ति तथा धनजनको क्षतिखति र दाम्पत्य कष्टप्रद देखिएको छ । विवाह तथा प्रेमसम्बन्धमा छलछाम हुनसक्ने छ, सावधानी अप्नाउनु होला । परिबन्द, चोरी, राज्यबाट भय–कष्ट, गलत संगत, स्वजनबाट विश्वासघात, फसिने–ठगिने, व्यवहार बिग्रने, नहुनेकार्यमा मन जाने, पश्चाताप पर्ने गोचर प्रभाव देखिएको छ । स्नायू तथा उदर रोगले सताइ नै रहनेछ ।

मकर राशी (भो.ज.जी.जु.जे.जो.ख.खि.खु.खे.खो.ग.गी.)
यो वर्ष पूर्वार्ध अल्लि बढी संघर्षप्रद देखिएको छ भने उत्तरार्ध त्यसै केही सुविस्ताजनक रहनेछ । उथलपुथलजन्य स्थितिलाई गोचरले संकेत गरेको छ । मिथ्या अपवाद, चारित्रिक एवम् नैतिक आँच, मुद्दा मामिला–वादविवाद, अन्यौलता, कपटप्रेमको फन्दा, जन–धन तथा भौतिक सम्पत्तिको क्षती, दैविक विपत्ति, कूल–परिवारमा रोग, घाऊ खटिरा–चोटपटक, वायु विकार–उदररोग, स्नायू आदि साध्यासाध्य स्वास्थ्य समस्याको सम्भावनालाई ग्रहगोचरले संकेत गरेको छ । विना परश्रमको धन प्राप्तिको चेष्टा, कुसंगत, समय छँदा होस नहुने पछि पश्चाताप हुने जस्तो पर्नसक्ने छ ।

श्रावणपछि सुधार आउने र केही काममा सफलता मिल्ने छ । अत्यावश्यक केही काम तथा व्यवहार सुल्झाउन सकिनेछ । वेरोजगारीलाई नोकरी मिल्न सक्ने छ, मेहनत, संयम र धैर्यतापूर्वक बुद्धिले काम लिनु हितकर हुनेछ । संघर्षदायी कार्यमा सफलता मिल्ने छ । श्रमिक वर्गसँगको सहकार्य, झट्ट हेर्दा सफासुग्घर नदेखिने र खासै ईज्जतिलो नमानिएको तर लोक सेवा हुने एवम् सदाचारी कार्यमा सफलता मिल्ने छ । तर, गएको नफर्कने ग्रहगोचर भएकोले सरसापट तथा लेनदेनमा निकै विचारगर्नु पर्ला ।

कुम्भ राशी (गु.गे.गो.स.सी.सु.से.सो.द.)
यो वर्ष समष्टिमा राम्रो छ । अवसरको सदुपयोग गर्ने र नहौंसिने हो भने धेरै क्षेत्रमा उपलब्धि प्राप्त गर्न सकिनेछ । व्यापार–व्यवसायीका लागि विशेष प्रगतिकारक र कृषक–उद्यमी वर्गको लागि सुख एवम् लाभप्रद समय रहेको छ । राजनीति र समाजसेवा तथा जागिरमा पदोन्नती–प्रगति हुने देखिन्छ । दाम्पत्य एवं प्रेमसुखमा बढोत्तरी हुनेछ । विवाहयोग्यका लागि दाम्पत्य सम्बन्ध बाँधिने तथा प्रेमसम्बन्ध मजबुत हुनेछ । जग्गाजमिन एवम् वाहनादिको सुख सुविधा प्राप्ति हुने, सम्मानित यात्रा हुने, शत्रु तथा विपक्षि उपर विजय प्राप्त गर्नसकिने छ ।

यद्यपि कैफियत धनार्जनतर्फ पनि मन आकर्षित होला कि भन्ने छ जसले पछि पछुतो पनि पार्न सक्नेछ ख्याल गर्नुहोला । सत् धनार्जनबाटै आत्मसन्तुष्टि लिन सकिने छ । घरपरिवार एवं समाजमा हुने विशेष धार्मिक कृत्य सम्पादनमा भूमिका दिन सकिने छ । तीर्थयात्रादिको पनि सम्भावना रहेको छ । स्थानीय जातिका (लोकल) गाईको क्षेत्रलाई सहयोग तथा सेवा जन्य कार्यमा भूमिका दिनु अझै विशेष हितप्रद हुनेछ ।

चोटपटक, घाऊखटिराले भने सताउन सक्नेछ । पिलो, ग्रन्थी सुजन आदिको समस्या हुन सक्ने कुरालाई नकार्न सकिन्न । दिएको धन फिर्ता हुन पनि कठिन पर्ने हुन सक्ने छ । श्रावणपछि भने सामान्यतया कामकार्यमा ढिला सुस्तिको महसूस हुनसकने छ ।

मीन राशी (दी.दु.थ.झ.ञ.दे.दो.च.ची.)
यो वर्ष मीन राशीको लागि यद्यपि त्यति सहज देखिँदैन । तर पनि नबिराउनु र नडराउनुको सिद्धान्तलाई आत्मसात गर्दा हित हुनेछ । अधिकांश पक्षमा उथलपुथल, कर्मक्षेत्रमा बिरोध तथा अपयश र कतै हानी त कतै नसोचेको सफलता एवं लाभ पनि मिल्न सक्ने छ । गर्दै आएको र भोग्दै आएको क्षेत्र, भोगाधिकार तथा पद प्रतिष्ठाबाट हात झिक्न पर्न सक्ने छ भने अप्रत्यासित रूपमा विभिन्न खालका प्रस्तावहरू आउने छन् तर नबुझि स्वीकार गर्नु घातक पनि हुन सक्नेछ । पैतृक सम्पत्ति, घरजग्गासँग सम्बन्धित काममा निकै सावधानी अप्नाउनु पर्ला ।

घरपरिवार, दाम्पत्यसम्बन्ध, यात्रा, मित्रसम्बन्ध आदिमा एकाएक असमझदारी बढ्ने तथा कष्ट पर्नसक्ने कुरालाई नकार्न सकिन्न । पितृ–मातृ तथा गुरुजन्य मान्यजनको कष्ट–वियोगसम्म व्यहोर्न पर्नसक्ने र शत्रुप्रभाव बढ्ने खगोलीय ग्रहको असर देखिएको छ । कतिपयलाई सन्तानमा असमझदारी तथा टाढिनु पर्ने वा कुनैप्रकारको पीडा हुनसक्ने छ । श्रावणपछि ग्रहगोचरले केही सकारात्मक प्रभाव देखाउने छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...