प्रधानमन्त्री ओलीको भारत भ्रमण उपलब्धिमूलकः कांग्रेस नेता महत

Ram saran mahat

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वपरराष्ट्रमन्त्री डा. रामशरण महतले प्रधानमन्त्री केपी शर्मा ओलीको तीन दिने भारत भ्रमण सफल र फलदायी भएको बताएका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै नेता महतले नेपालका कुनैपनि प्रधानमन्त्रीहरुको भारत भ्रमण अहिलेसम्म असफल नभएको समेत स्पष्ट पारे ।

उनले थपे,‘अहिलेसम्म कुनैपनि प्रधानमन्त्रीको भ्रमण असफल भएको छैन, उहाँको भ्रमणपनि सद्भावपूर्ण भ्रमण थियो, सफल भएको छ, दुई देशबीचको सम्बन्ध सुधारमा महत्वपूर्ण भूमिका खेलेको छ, भ्रमण फलदायी र उपलब्धिमूलक भएको कांग्रेसको निश्कर्ष छ।’ प्रधानमन्त्रीको भारत भ्रमणलाई असफल भन्न नमिल्ने उनको जिकिर छ। उनले भने,‘प्रधानमन्त्री ओलीजीको भारत भ्रमण सफल भयो, तर ऐतिहाँसिक हुनुपर्ने केही कारण छैन।’ नेपालको संविधान जारी गर्दा नेपाल–भारतबीच रहेको असमझदारीलाई स्वयम् भारतले पनि रियलाईजेशन गरेकोले भारत नेपालसँग सम्बन्ध सुधार गर्न ईच्छुक रहेको उनको भनाई थियो ।

प्रधानमन्त्री ओलीलाई विमानस्थलमा बरिष्ठ मन्त्रीले स्वागत गर्नु, पन्तनगरमा विद्यावारिधिको उपाधि दिनु र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग ‘वान–टु–वान’ भेटवार्ता हुनु नै राम्रो कुरा भएको उनको भनाई थियो । यद्धपी उनले भारत भ्रमणमा जानुपुर्व परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीसँगको छलफलमा आफूले भारतसँग ठोस कुरा उठाउन सुझाव दिएको सुनाए ।

उनले थपे,‘रेल आउने कुरा राम्रो हो, तर भाषण गरेरमात्रै हुँदैन नि, यसको लागि लगानी कति लाग्छ, रेल ल्याउँदा अनुदानमा बनाउने हो कि ऋणमा बनाउने हो, यी कुराको बारेमा टुँगो त लगाउनुपर्छ, रेल ल्याउनेबारे विस्तृत अध्ययन बाँकी नै छ।’ रेल आउनु राम्रो कुरा भएको उनको टिप्पणी थियो । तर, यो कसले बनाईदिने भन्ने कुरा एकिन नभएकोमा चिन्ता व्यक्त गरे । उनले भने,‘भारतले बनाईदिने भए त खुशीको कुरा हो, रेल आएपछि फाईदा के÷कस्तो हुने हो ? त्यो पनि थाहा हुनुपर्यो नि।’

हरेक प्रस्तावहरुको गम्भिरतापूर्वक छलफल गर्न जरुरी रहेको उनको भनाई थियो । उनले भने,‘प्राविधिक तथा आर्थिक पक्षबारे छलफल गर्न जरुरी छ, फाईदा तथा बेफाईदा हेर्नुपर्छ, भविष्यमा यसले कस्तो प्रतिफल दिन्छ त्यो पनि हेर्नुपर्छ।’
त्यस्तै जलमार्ग बनाउने कुरा पनि आजभन्दा करिब ४० वर्षदेखि छलफल भैरहेको बताउँदै महतले भने,‘भाषणले यस्तो गर्छु भनेर मात्रै हुँदैन नि।’

 

प्रतिकृया दिनुहोस