दिल्लीमा स्विच थिच्दा मोतिहारीमा पर्दा उघ्रियो

नेपाल–भारत पेट्रोलियम पाइपलाइन

Silyanash

मोतिहारी । अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दिल्लीमा शिलान्यास भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त रूपमा दिल्लीमा स्विच थिचेर परियोजनाको शिलान्यास गरेका हुन् । दिल्लीमा स्विच थिच्दा मोतिहारीस्थित पाइपलाइन निर्माणको सुरुवाती बिन्दुमा राखिएको उद्घाटन विवरण समेटिएको पर्दा उघ्रिएको थियो ।

मोतिहारीको पाइपलाइन निर्माणस्थलमा परियोजना शिलान्यास भएको उल्लेख विवरणलाई पर्दाले छोपेर राखिएको थियो, दिल्लीमा स्विच थिच्नासाथ उक्त पर्दा उघ्रियो,’ मोतिहारी पुगेका नेपाल निगमको अमलेखगन्ज डिपो प्रमुख प्रदीप यादवले भने, ‘पर्दा उघ्रिएपछि डोजरले माटो खन्न थालियो ।’ यो दक्षिण एसियाकै पहिलो क्रसबोर्डर पाइपलाइन हो । जसलाई भारतले आफ्नै खर्चमा निर्माण गरिरहेको छ । ६९ किलोमिटर लामो पाइपलाइनको लागत खर्च दुई वर्षअघि २ अर्ब भारु अनुमान गरिएको थियो ।

अहिलेसम्मको प्रगति
नेपालपट्टि ३६ किलोमिटर पाइपलाइन बिछ्याइनेछ । त्यसका लागि अहिले धमाधम काम भइरहेको छ । रक्सौल–अमलेखगन्ज पाइपलाइन परियोजनाका प्रमुखसमेत रहेका यादवका अनुसार नेपालपट्टि पथलैयादेखि जितपुरसम्मको सडकखण्डको सात किलोमिटरमा पाइप बिछ्याउन तयारी अवस्था बनाइएको छ । ‘सात किलोमिटरमा पाइप बिछ्याउन सबै तयारी सकिएको छ, शिलान्यास नभएर मात्र रोकिएको थियो,’ उनले भने । १२ मिटर लम्बाइका पाइपलाई सात किलोमिटरसम्म बिछ्याउनका लागि जोड्ने काम सकिएको छ । जमिनमुनि बिछ्याउनका लागि खन्ने काम पनि सकिएको छ ।

भारततर्फ भने मोतिहारीदेखि १० किलोमिटरसम्म पाइप बिछ्याउन तयारी अवस्थामा राखिएको छ । शिलान्यास हुनासाथ पाइप बिछ्याउन सुरु भइसकेको छ । ‘भारतमा १० किलोमिटर र नेपालमा ७ किलोमिटरमा खनिएको खाल्डोमा पाइप हाल्न मात्र बाँकी छ,’ उनले भने, ‘शिलान्यासपछि काम धमाधम अघि बढ्छ ।’ पाइपलाइनको भित्री परिधि १० इन्च र बाहिरी परिधि १०.७५ इन्चको हुनेछ । विशेष किसिमको स्टिल फ्रेमयुक्त फलामबाट पाइपलाइन बन्नेछ । भारतीय आयल कर्पोरेसन (आइओसी)का अनुसार वार्षिक रूपमा पाइपलाइनबाट २ लाख टन पेट्रोलियम आयात हुनेछ । यो पाइपबाट पेट्रोल, डिजेल र मट्टीतेल तीनवटै इन्धन आयात हुनेछ । कुल मागको करिब ५० प्रतिशत आयात गर्ने गरी पाइप सञ्चालनको योजना बनाइएको छ ।

पाइपलाइनको फाइदा
पाइपलाइन बनेपछि ढुवानी खर्चमा वार्षिक ७१ करोड रुपैयाँ बचत हुनेछ । अहिले रक्सौल बरौनीबाट अमलेखगन्जमा तेल ओसार्न १ सय ८० ट्यांकर परिचालित छन् । पाइपलाइन बनेपछि आइओसीको गोन्डा र बेतालपुरबाट ल्याइने तेलसमेत रक्सौलबाटै आयात गर्ने निगमको योजना छ । रक्सौलमा दिनहुँ हुने जामको झन्झट, बीचबाटोमा हुने तेल चोरीलगायतमा कमी आउनेछ । ट्यांकरको तुलनामा तापक्रमबापत हुने नोक्सानीमा समेत कमी आउनेछ । पाइपलाइनका कारण सिमानामा हुने अवरोधले इन्धन आपूर्तिमा समस्या हुनेछैन । भारतले निर्माण गरिदिएपछि कम्तीमा १५ वर्ष पाइपलाइनबाट तेल बेच्नेछ । अाजको नयाँ पत्रिकाबाट

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...