महिनावारी हुँदा विद्यालय जाँदैनन् बाजुरा गौमुलका बालिका

Chhaupadi bajura

बाजुरा । बाजुराको गौमुल गाउँपालिका–४ मानाकोटमा रहेको कीर्तिचौर माविमा हाल २५० छात्रा अध्ययन गर्दै आइरहेकी छन् । तर पनि उनीहरुले नियमित रुपमा पठनपाठन गर्न पाउँदैनन् । नियमित पठनपाठन गर्नका लागि उनीहरु वञ्चित हुने गरेको पाइएको छ ।

महिनावारी हुँदा उक्त विद्यालयका कम्तीमा २० जनाभन्दा बढी छात्रा ५ दिनसम्म विद्यालय आउँदैनन् । महिनावारी भएको बेलामा विद्यालय जानु हुँदैन भन्ने मानसिकता अझै गाउँमा रहेको पाइन्छ ।

छाउ भएपछि हिँड्ने बाटो र विद्यालयमा देवता भएका कारण विद्यालयको पढ्न अभिभावकले रोक लगाउने गरेको कीर्तिचौर माध्यमिक विद्यालय कक्षा ८ मा अध्ययनरत छात्रा नन्दाकुमारी जोशीले बताइन ।

उनले छाउ भएको बेलामा विद्यालय आउने बाटाभरि देवताका मन्दिर भएका कारण र विद्यालयमा समेत देवता भएको हुँदा विद्यालयमा नआउने गरेको बताइन । छाउ भएको बेलामा देवीदेवता भएको बाटो हिँड्दा देवता रिसाउने भएको भन्दै आमाबुबाले समेत स्कूल जान दिँदैनन् जोशीले भनिन । छाउ भएको बेला विद्यालय नजाँदा पढाइमा समेत बाधा भएको बताइन ।

उनीमात्र होइनन् उनीसँगै ८ कक्षामा पढ्ने अर्की छात्रा मन्देवी जोशी भन्छिन्, विद्यालयमा देवताको मन्दिर बनाएर राखिएको छ । विद्यालय आउने बाटोभरि देवताका मन्दिर बनाएका छन् । छाउ भएको समयमा हिँड्ने बाटोसमेत छैन, भन्दै घरका अभिभावकले छाउ भएको पाँच दिनसम्म रोक लगाउने गरेका छन् ।

विद्यालयमा छाउ भएको बेला जानलाई छात्रामैत्री शौचालय नहुँदा थप समस्या भएको जोशीको भनाइ रहेको छ । विद्यालयमा छात्रामैत्री शौचालय नहुँदा दिसापिसाब गर्नसमेत समस्या हुने गरेको जोशीको भनाइ रहेको छ ।

छात्रामैत्री शौचालय बनाउन विद्यालय प्रशासन र विद्यालय व्यवस्थापन समितिले बेवास्ता गरेको जोशीले गुनासो गरिन । र्शीद्वय जस्तै विद्यालयमा अध्ययन गर्ने २५० जना छात्राको समस्यामा विद्यालयको ध्यान जान सकेको छैन भन्छिन् कक्षा ९ मा अध्ययनरत छात्रा विद्यार्थी सुनिताकुमारी रोकाया ।

विद्यालयमा छात्रामैत्री शौचालय नहुनु, छाउ भएको बेलामा सेनेटरी प्याडको व्यवस्था, विद्यालय परिसरभित्र देवीदेवताका मन्दिर बनाएर राख्नुजस्ता समस्याले गर्दा पाँच दिनसम्मको पढाइलाई बाधा गर्दै घरमा बस्ने गरेको छात्रा रोकायाले बताइन ।

उनले विद्यालयमा पढ्न आएको बेलामा छाउ भएपछि पढाइ छोडेर विद्यालय नजिकै रहेको खोलैखोलाको बाटो भएर आधा घण्टाभन्दा बढी हिँडेर घर जानुपर्ने बाध्यता रहेको रोकायाले बताइन ।

कीर्तिचौर माविका प्रधानाध्यापक डबलबहादुर बोगटीले भने २५० छात्रा अध्ययन गर्दै आएको बताए । विद्यालयमा छात्रामैत्री शौचालय बनाउँदा केही कमीकमजोरीका कारण छात्रा विद्यार्थीलाई समस्या हुने गरेका कारण छात्रा विद्यालयमा कम आउने गरेको प्रधानाध्यापक बोगटीले स्वीकार गरेका छन् । उनले शौचालय बनाउँदा नै ध्यान नदिएका कारण छात्राले समस्या भोग्नु परेको प्रअ बोगटीको भनाइ छ ।

यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रबहादुर रोकायाले छात्रामैत्री शौचालय नहुँदा केही छात्रा आउने र केही छात्रा नआउने गरेको बताए । उनले छात्रामैत्री शौचालय नहुँदा र शौचालय बनाउने जग्गाको अभावका कारण विद्यार्थीको पढाइमा बाधा हुने गरेको बताए ।

छात्रामैत्री शौचालय निर्माण गर्दा पनि केही कमजोरी भएका कारण छात्रा विद्यार्थीले हैरानी खेप्नु परेको रोकायाले स्वीकार गरे । उनले विद्यालयभित्र रहेका दुई वटा चर्पी भनेजस्तो नभएका बताए । विद्यालयमा आएको चर्पी निर्माणको योजनाले चर्पी निर्माण गरे पनि झारो टारेजस्तै भएको उनले खुलासा गरे ।

प्रतिकृया दिनुहोस