रोल्पाका गैरदलित आरन व्यवसायमा

Aaran

रोल्पा । रोल्पाका केही गैरदलित युवाले कृषि औजार बनाउने आरन पेसा अँगालेका छन् । परम्परागत रूपमा दलित समुदायहरूले मात्र गर्दै आएको आरन पेसा लोप हुन लागेको अवस्थामा रोल्पाका केही गैरदलित युवा भने यो पेसाप्रति आकर्षित हुन थालेका छन् ।

घरेलु तथा साना उद्योग विकास समिति रोल्पाले गत वर्ष दिएको तालिमबाट सिप सिकेपछि जुँगारका भीमबहादुर डाँगी, कोटगाउँ–१ का शशिराम घर्ती र प्रेमबहादुर बाँठाल तथा घर्तीगाउँका शशिराम बुढाले आरन सञ्चालन गर्न थालेको समितिका अधिकृत बालकृष्ण आचार्यले जानकारी दिए ।

डाँगीले हाल साबिकको जुँगार गाविसका स्थानीय कृषकको आवश्यकता धान्ने गरी आरन उद्योग सञ्चालन गरिरहेका छन् । समितिले डाँगीलाई उदाहरणीय आरन व्यवसायीका रूपमा मूल्यांकनसमेत गरेको छ । उनको सीपबाट त्यस आसपासका सेवाग्राहीसमेत प्रभावित भएका छन् ।

आफूले फलामबाट निर्माण गरिने सबै खालका घरेलु कृषि औजार बनाउने गरेको डाँगीले बताए । त्यस्तै रोल्पा घर्तीगाउँका शशिराम बुढाले पनि आरन पेसालाई उद्योगकै रूपमा अगाडि बढाइरहेको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ । आरन पेसामा गैरदलितको पनि आकर्षण बढ्नु सकारात्मक भएको उद्योग अधिकृत आचार्यले बताए ।

कृषि औजारको माग बढ्यो

पछिल्लो समय जिल्लामा कृषि व्यवसाय विस्तार हुँदै गएकाले कृषि औजारको माग पनि बढेको छ । दुवैजनाको लगानीमा उद्योग खोलेको र अहिले राम्रो आम्दानी भइरहेको अर्का व्यवसायी प्रेमबहादुर बाँठाले बताए । ‘आरन पेसा दलितले मात्रै गर्नुपर्छ भन्ने मान्यतालाई हामीले गलत साबित गरिदिएका छौँ,’ बाँठाले भने, ‘व्यवस्थित ढंगले गर्ने हो भने आरनबाट मनग्य आम्दानी गर्न सकिन्छ ।’

परम्परागत रूपमा आफ्नै बाबुबाजेहरूले गर्दैआएको पेसाप्रति भने जिल्लाका दलित युवामा खासै आकर्षण छैन । रोजगारी छैन भन्दै खाडी मुलुकमा पसिना बगाउन जाने युवाले बाँठा र घर्तीबाट धेरै कुरा सिक्न सक्ने दलित अगुवा विकले बताए । दलित जनअधिकार मञ्च रोल्पाका अध्यक्ष कर्मलाल परियारले सीपलाई कुनै जाति विशेषको भनेर हेला गर्न नहुने बताए ।

‘आरन पेसा दलितका लागि मात्र पनि होइन,’ परियार भन्छन्, ‘तर, दलितहरूले गर्दै आएको पेसा दलित युवाहरूमा हस्तान्तरण नहुँदा पेसा नै संकटमा पर्न थालेको छ ।’ आरन पेसालाई आधुनिकीकरण गर्दै लैजानका लागि घरेलु तथा साना उद्योग विकास समितिले समेत विभिन्न सहयोग गर्दै आएको उद्योग अधिकृत बालकृष्ण आचार्य बताउँछन् । ‘गत वर्ष दुई स्थानमा सीपसम्बन्धी तालिम चलाएका थियौँ,’ उद्योग अधिकृत आचार्यले भने ।

दलित युवा भने गर्दैनन् आरनको काम

खलोप्रथाका माध्यमबाट सञ्चालन हुँदै आएको आरन पेसा पछिल्लो समय लोप हुने अवस्थामा पुगेको छ । पेसागत हिसाबले दक्ष दलित समुदायका युवाहरूले समेत सीपलाई घृणा गर्न थालेपछि यसप्रकारको समस्या आएको पाछाबाङका दलित अगुवा खगेन्द्र विकले बताए । आरन पेसालाई आधुनिकीकरण गरी व्यावसायिक रूपमै सञ्चालन गर्ने हो भने राम्रो आम्दानी हुने उदाहरण रोल्पाका गैरदलित युवाले प्रस्तुत गरेका छन् ।

कोटगाउँ–१ का शशिराम घर्ती र प्रेमबहादुर बाँठालले ‘कोटगाउँले कृषि औजार निर्माण उद्योग’ नै सञ्चालनमा ल्याएका छन् । तीन वर्षअघि घरेलु तथा साना उद्योग विकास समितिले सञ्चालन गरेको तीनमहिने कृषि औजार निर्माण तालिम लिएर घर्ती र बाँठा यो पेसामा लागेका हुन् ।

करिब तीन लाख रुपैयाँको लगानीमा स्थापना गरिएको उद्योगमा कुटो, कोदालो, फरुवा, बन्चरो, हँसिया, खुकुरी, खुर्पालगायतका कृषि औजार निर्माण हुन्छ । आरन पेसाबाट मासिक रूपमा घरखर्च चलाएर १५ हजार रुपैयाँसम्म बचत हुने गरेकोे आरन व्यवसायी शशिराम घर्तीले बताए । नयाँ पत्रिकाबाट

प्रतिकृया दिनुहोस