दलित भएकै कारण सांसद कलुदेवी विश्वकर्माले पाइनन् कोठा

Dalit

ललितपुर। सांसद कलुदेवी विश्वकर्माले काठमाडौंमा कोठा खोज्न थालेको १५ दिन भयो । तर पनि उनले कोठा पाएकी छैनन् । उनले कोठा नपाउनुको एउटै कारण हो– जात ।

‘म विश्वकर्मा अर्थात दलित जाति भएका कारण कोठा पाइन’ कलुदेवीले भनिन्, ‘राजधानीमै यस्तो समस्या छ । देशको दूर दराजका गाउँमा दलित समुदायले भोग्ने पीडा झन् कस्तो होला भन्ने अनुमान सहजै गर्न सकिन्छ ।’

सांसद , कलुदेवी विश्वकर्मा

श्रीमान र परिवारका सदस्यसँग १५ दिनदेखि काठमाडौंको बानेश्वर, कोटेश्वर, जडिबुटी लगायतका ठाउँमा कोठा खोज्न हिँडेकी उनले सात ठाउँमा कोठा हेरिन् । घरबेटीसँग कोठा भाडा, सेवा सुविधा लगायतका विषयमा कुरा मिल्छ । सांसद बस्ने भनेपछि घरबेटीहरू पनि कोठा दिन तयार हुन्छन् ।

तर अन्तिममा घरबेटीबाट जात सोधिन्छ । ‘हामी विश्वकर्मा हो भनेपछि छोरा वा श्रीमान वा परिवारका अन्य सदस्यको नाम लिएर उहाँसँग कुरा गर्छु । उहाँले कोठा अरुलाई नै दिसक्नु भएको छ की छैन । तपाईंलाई खबर गर्छु भन्छन् । तर फोन आउदैन । फोन गर्दा कोठा भाडामा गइसक्यो भन्ने उत्तर आउँछ’ पल्लुदेवीले भनिन् ।

कलुदेवीका श्रीमान संघीय समाजवादी फोरम नेपालका उप–महासचिव दानबहादुर विश्वकर्माले भने, ‘मान्छेबाटै यस्तो व्यवहार खेप्नुपर्दा दुख लाग्छ । अहिलेको जमानामा पनि जातकै कारण पैसा तिरेर पनि कोठा नपाएको कुरा सुन्नेलाई सामान्य लाग्न सक्छ । तर हामी भोग्नेका लागि ठूलो हिनताबोधको विषय बनिरहेको छ ।’

संघीय समाजवादी फोरम नेपालबाट समानुपातिक सांसद कलुदेवीले दलित महिला संघले मंगलबार काठामाडौंमा आयोजना गरेको सम्मान कार्यक्तममा पनि दलित भएका कारण आफूले कोठा नपाएको समस्या सुनाइन् ।

प्रतिनिधिसभा सांसद कमला विके दलित भएकै कारण कोठा नपाउने समस्या नयाँ होइन भन्छिन् । ‘यस्तो समस्या भाडामा बस्नुपर्ने अवस्थाका अधिकांश दलितहरूले भोगेका छन् । जातिय विभेद अन्त्यका लागि जीवन भर लड्दै आएका अधिकारकर्मी, पत्रकार र देशको नीति, नियम बनाउने तहमा बसेकाहरू समेत जातिय विदेदको सिकार भएका छन्’ कमलाले भनिन् ।

अहिले राष्ट्रियसभा, प्रतिनिधिसभा र प्रदेशसभाका कोठा भाडामा लिएर बस्नुपर्ने दलित सांसदहरूले यही समस्या भोग्नुपरेको कमलाको भनाइ छ । तर अधिकांशले आफूले भोगेका जातिय विभेदका घटनाहरू सार्वजनिक नगर्ने गरेको पनि उनले बताइन् । प्रतिनिधिसभामा रहेका १६ जना दलित मध्ये १३ दलित महिला छन् । 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...