नियुक्त भएको ११ दिनपछि प्रधानमन्त्री ओली आज मन्त्रिपरिषद् विस्तार गर्दै

Kp oli pm jf4dnpu99p

काठमाडौं । नियुक्त भएको ११ दिनपछि प्रधानमन्त्री केपी शर्मा ओली आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा छन् । मन्त्रीमण्डल विस्तार अघि त्यसअघि प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा अोली र  माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच बालुवाटारमा बिहान  छलफल हुँदैछ ।

माओवादीबाट मन्त्री बन्नेहरुको नामावली बुझाउन प्रचण्ड बालुवाटार जान लागेको स्रोतले बतायो । फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले त्यही दिन एमालेबाट २ मन्त्रीलाई शपथ गराए पनि त्यसयता मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । मन्त्रिमण्डल विस्तारमा ढिलाइ भइरहेका बेला ओलीले एमाले–माओवादीलाई समेटेर विस्तारको तयारी गरेका हुन् ।

माओवादी केन्द्रका नेता जनार्दन शर्माले एमाले र माओवादीकालाई समेटेर आज मन्त्रिपरिषद् विस्तार हुने जानकारी अनलाइनखबरलाई दिए ।

प्रधानमन्त्री ओली मन्त्रिपरिषद् विस्तारको तयारीमा लागे पनि दुवै पार्टीले अहिलेसम्म मन्त्री छनोट गर्न सकेका छैनन् । मन्त्रीका आकांक्षी धेरै देखिएपछि दुवै पार्टीले नाम छनोट गर्न नसकेका हुन् । नाम छनोट गर्न अोली र प्रचण्ड छलफलमा जुटेका छन् ।

संयुक्त बैठकले मन्त्रीको नाम  टुंगो लगाउने र त्यसपछि दिउँसो ३ बजे मन्त्रीहरुले शपथ लिने एमाले–माओवादीका नेताहरुले जानकारी दिएका छन् । ‘मन्त्रीको अन्तिम टुंगो लगाउन दुवै दलका अध्यक्षको संयुक्त बैठक बस्दैछ, बैठकले नाम टुंग्याएपछि प्रधानमन्त्रीले आजै मन्त्रिपरिषद् विस्तार गर्नुहुनेछ,’ शर्माले भने ।

प्रतिकृया दिनुहोस