पहिले घृणा गर्नेहरु अहिले दुई हात जोड्न थाले

Jutta

पाल्पा । ‘पहिले पुराना च्यातिएका, फाटेका जुत्ता चप्पल हातमा लिएर सियो र धागोले सिलाएको देख्दा धेरैले थु थु र घृणा गर्ने गर्थे, अहिले भने व्यवसायबाट राम्रै कमाउन थालेपछि उनीहरु आफैँ दुई हात जोडी नमस्कार गर्न थालेका छन्’, यो जीवनको यथार्थ र वास्तविक भोगाइ हो– पाल्पाको रामपुर नगरपालिका–५ का जय नेपालीको ।

आजभन्दा झण्डै दुई दशकअगाडि २०/२२ वर्षे ठिटो नेपालीले विदेशतिर जानुभन्दा गाउँघरमै केही गरौँ भन्ने मनसायले बेझाड बजारको एक छेउमा बसेर सियो र धागोको सहाराले पुराना च्यातिएका फाटेका जुत्ता चप्पल सिलाउन शुरु गरे ।

त्यतिबेला उनीसँग धागो र एउटा सियो मात्र जुत्ता चप्पल सिलाउने साधन थियो । ‘एउटा हातमा सियो र धागो, अर्को हातले काखमा राखिएको जुत्ता चप्पल समाउँदै मैले सिलाउन थालेको देखेपछि सबैका लागि म त्यतिबेला हास्यपात्र बनेँ, व्यवसायलाई मेहनतका साथ अगाडि बढाउँदै जाँदा हेयका दृष्टिले हेर्नेहरु अहिले प्रशंसा गर्दै दुई हात जोडेर नमस्कार गर्न थालेका छन्,’ उनले भने ।

बजारको एक कुनाबाट शुरु गरेको सियो र धागोको काम अहिले सटरमा चलाउन पाउँदा निकै गौरव लागेको उनको भनाइ छ । ‘गल्लीमा बसेर अर्काका पुराना जुत्ता चप्पल सिलाएर बस्दा सबैले आलोचना गर्न थाले, मैले लाज नमानीकन इमान्दार भएर आफ्नो काम गर्दै गएँ, त्यसैको प्रतिफल अहिले मिलेको छ’, नेपालीले भावुक हुँदै भने ।

उनले जुत्ता चप्पल सिलाएर एक महिनामा ६० हजार बराबरको कमाई गर्न सफल भएका छन् । चाडपर्वका बेला दिनमै दश हजार रुपैयाँ सम्मको कमाई हुने उनी बताउँछन् । ‘अर्काको जुत्ता चप्पल सिलाएर दुई दशक बिताएँ, काममा दुःख पनि छैन, बसी बसी विदेश जाने र सरकारी जागिरमा आबद्ध हुनेले भन्दा दोब्बर कमाई गरेको छु,’ उनले भने ।

ग्राहकको भीडले नेपालीलाई काममा अहिले भ्याइनभ्याई छ । पुराना कामसँगसँगै अहिले आफैँले नयाँ जुत्ता चप्पल पनि तयार पार्न थालेका छन् । नयाँ कामबाट भन्दा पुराना कामबाट धेरै फाइदा लिन सकिने उनको भनाइ छ ।

मेहनत र परिश्रम गर्नेका लागि कुनै पनि काम ठूलो र सानो हुँदैन । मेहनत गरियो भने अरबको खाडीमा कमाएको धनको दोब्बर कमाई स्वदेशमै गर्न सकिन्छ भन्ने सबैका लागि उदाहरणीय पात्र बनेका छन्, जय नेपाली । ‘काम सानो या ठूलो होस्, इमान्दार भएर गरियो भने पैसा कमाउनका लागि समस्या छैन,’ उनी भन्छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...