एमाले–माओवादी एकता प्रक्रिया लम्बिँदै

Uml moist flag

काठमाडौं । नयाँ सरकार गठनअघि नै पार्टी एकीकरण गर्ने घोषणा गरेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रले एकताको खाका निर्माणमै ढिलाइ गर्दा पार्टी एकीकरणमा ढिलाइ भएको छ । माओवादी केन्द्रको समर्थनमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनिसके पनि नयाँ पार्टीको मार्ग निर्देशक सिद्धान्तमा सहमति जुट्न नसक्दा एकता प्रक्रिया लम्बिने संकेत देखिएको छ ।

पार्टी एकताबारे एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच निरन्तर रुपमा छलफल जारी रहेको छ । तर दुवै अध्यक्षले आफ्ना पार्टीका अन्य नेताहरुसँग एकीकरणका लागि भइरहेको गृहकार्यबारे केही बताएका छैनन् । त्यस्तै पार्टी एकीकरणको खाका तयार पार्नका लागि केन्द्रीय पार्टी एकता संयोजन समितिको बैठक बस्न बसेको छैन।

एकीकरणका सम्बन्धमा दुवै नेताबीच भएको तयारीबारे जानकारी नपाउँदा अन्य नेताहरु असन्तुष्ट बन्दै गएका छन् । ‘दुवै नेताहरुबीच सहमति भयो भन्ने विषय आउँछ तर के भयो भन्ने जानकारी सञ्चारमाध्यमबाट मात्र थाहा पाउनुपर्ने अवस्था छ,’ वाम गठबन्धनका एक नेताले भने, ‘सहमति भएको हो कि नभएको हो त्यस विषयमा हामी अन्योलमा छौं ।’

दुई पार्टीबीच गत बुधबार लिखित सहमति गर्ने भनिएको थियो । तर अन्तिम समयमा आएर सहमति हुन सकेन । त्यसको असर सरकार गठनको समयमा देखियो । पार्टी एकीकरणको ठोस खाका नआएको भन्दै माओवादी केन्द्र सरकारमा सहभागी भएन ।‘चुनावमा जनताले स्पष्ट जनादेश दिए पनि एकता प्रक्रियामा अलमल हुँदा राजनीतिक अस्थिरता उत्पन्न हुने हो कि भन्ने आशंका तल्लो तहसम्म देखिएको छ,’ ती नेताले भने, ‘अब यसलाई अलमल नगरी निष्कर्षमा पुर्याउनुपर्छ ।’

पछिल्लोपटक बुधबार बसेको केन्द्रीय पार्टी एकता संयोजन समिति बैठकमा एमाले नेताहरुले नयाँ पार्टीको मार्गनिर्देशक सिद्धान्तमा ‘जनताको बहुदलीय जनवाद’ हुनुपर्ने धारणा राखेका थिए । उक्त बैठकमा एमालेका नेता माधवकुमार नेपालले पार्टीका मार्ग निर्देशक सिद्धान्त बहुदलीय जनवाद नै हुनुपर्ने धारणा राखेका थिए । अध्यक्ष ओलीले पनि नेपालकै भनाइमा अडान लिएका थिए ।यसअघि एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालबीच पार्टी र सरकारको नेतृत्व आलोपालो गर्ने र मिल्न बाँकी रहेको वैचारिक विषयलाई महाधिवेशनसम्म लैजाने सहमति भएको बताइएको थियो।

‘अहिलेको त्यति ठूलो सैद्धान्तिक विमति हुने ठाउँ छैन । तर आफ्नो विचार नछाडेको भन्दै पार्टीभित्र आन्तरिक रुपमा आफूलाई शक्तिशाली बनाउनका लागि यो विषय उठेको छ,’ एक नेताले भने ।
पछिल्लोपटक भएको केन्द्रीय पार्टी एकता संयोजन समितिको बैठकमा पार्टीको वैचारिक विषयमा सहमति जुट्न सकेन र सरकार गठनका विषयमा मात्रै सहमति भएको थियो ।एकता संयोजन समितिका सदस्य रहेका एमालेका वरिष्ठ नेता झलनाथ खनालले महाधिवेशनसम्म आएका सबैका विचारमाथि छलफल गर्दै लगेर हल निकाल्न सकिने बताए ।

‘पार्टी एकता घोषणाका लागि केही संगठनात्मक र वैचारिक विषयमा सहमति हुन बाँकी छ । वैचारिक विषयमा जति हुनुपर्ने हो त्यति छलफल भएको छैन,’ झलनाथ खनालले नागरिकसँग भने, ‘दुवै विषयलाई छलफलमा लगेर महाधिवेशनसम्म त्यसलाई हल गर्न सकिन्छ ।’माओवादी केन्द्रका स्थायी समिति सदस्य मातृका यादवले सैद्धान्तिक विषयमा सहमति जुट्न नसक्दा समस्या देखिएको बताए ।

यसैबीच आइतबार एकता संयोजन समितिको बैठक बस्ने भएको छ । दुवै पार्टीका अध्यक्षबीच ओली निवास बालकोटमा शनिबार करिब ४५ मिनेट भएको एकान्त वार्तामा आइतबार बैठक राख्ने सहमति भएको हो । दाहालले एमाले अध्यक्ष दाहालसँग भेटेलगत्तै अर्का वरिष्ठ नेता माधवकुमार नेपालसँग ललितपुरमा भेट गरेर छलफल गरेका थिए । नागरिक दैनिकबाट

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...