वाम एकतालाई कसैले रोक्न सक्दैन : अध्यक्ष दाहाल

गठबन्धन फुटाउने षड्यन्त्र हुँदैछ

Pushpa kamal dahal

महोत्तरी । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अबको कार्यभार सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थायित्व र समृद्धि हुने बताएका छन । 

आज महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–८ बेङ्खाडीबजारमा आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संविधान घोषणापछि त्यसको कार्यान्वयनको एकचरण सम्पन्न भएकाले अब सबैको ध्यान समृद्धितर्फ केन्द्रित हुनुपर्ने बताएका हुन । 

“जनताले यिनीहरुले चाहिँ मुलुकलाई स्थायित्व दिन सक्छन् भनेर वाम गठबन्धनलाई विश्वास दिएका छन्”, प्रचण्डले भने, “अब जनताको विश्वासमा हामी खरो उत्रिन सक्नुपर्छ ।” 

सभामा अध्यक्ष प्रचण्डले एमाले–माओवादी केन्द्र एकीकरणको कुरा निर्णायक मोडमा पुगेको चर्चा गर्दै फुटाउन खोज्ने तत्वहरु सक्रिय रहेकाले दुवै पक्ष चनाखो भएर अघि बढ्न आवश्यक रहेको बताए । 

पार्टी एकीकरणका लागि चौतर्फी दबाब बढाउन अपिल गर्दै प्रचण्डले भने, “तपाईंहरु एमाले–माओवादी जुन पार्टीमा भए पनि आ–आफ्नो ठाउँबाट एकताका लागि बल पु¥याउनुहोेस्, जनताको दबाबले एकीकरण चाँडै टुङ्ग्याउन सघाउ पुग्नेछ ।” सभामा अध्यक्ष प्रचण्डले राजपा नेपालका केन्द्रीय सदस्य अनिल बस्नेतसहितका सयौँ कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै स्वागत गरे । 

यसअघि अध्यक्ष प्रचण्डले बर्दिवास–८ हाथीलेटमा आयोजित सम्मान समारोहमा जिल्लाका १०३ जना पुराना कम्युनिष्ट कार्यकर्तालाई अभिनन्दन गरेका थिए । समारोहस्थलमै पत्रकारहरुको जिज्ञासामा अध्यक्ष प्रचण्डले आफ्नो पार्टी सरकारमा सहभागी हुँदैन कि भन्ने आशङ्का नगर्न अपिल गरे । 

“हामीले सरकार बनाइसक्यौँ, अब यसको विस्तारको कुरा छ”, प्रचण्डले भने, “पार्टी एकीकरणको कुरा सकारात्मक रुपमा अघि बढेकाले सबै कुरा एकीकरणसँगै जोडेर प्याकेजमा सहमति हुन्छ, अनि हामी सरकारमा सहभागी हुन्छौँ ।” यो चरण सर्त वा अन्य अर्थमा नबुझी एकीकरणलाई बल दिने अर्थमा बुझ्न अध्यक्ष प्रचण्डले पत्रकारहरुसँग आग्रह गरे । 

प्रतिकृया दिनुहोस